समाज

आजदेखि निषेधाज्ञा खुकुलो: जोरबिजोर उल्लंघन गर्ने ६७६ सवारी साधन प्रहरी नियन्त्रणमा

इकागज |
असार ८, २०७८ मंगलबार १३:४२ बजे

काठमाडौँ : कोभिड संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा मंगलबारबाट केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै मंगलबारबाट एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । 

डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ । सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने व्‍यवस्‍था गरिएको छ । 


त्यस्तै निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएको छ । जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी साधन चलाउनुपर्नेछ । मंगलबार बिहान जोर बिजोर तथा निषेधाज्ञा उल्लङ्घन गर्ने ६७६ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ४९१ दुई पाङ्ग्रे, १६५ ओटा चार पाङ्ग्रे, ६ ओटा ट्याक्सी र १४ ओटा अन्य सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधन भने असार १४ गते राती १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । यसअघि लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरिएको हो । 


Author

थप समाचार
x