'मोहीको मोह: स्थानीय डेरी उद्योगको नयाँ अभियानले देशभरि छायो रौनक'
काठमाडौं - नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानले देशभरि उत्साहको वातावरण सिर्जना गरेको छ। दरबारमार्गस्थित ओरिएन्ट क्याफेमा प्रत्येक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म हुने रैथाने एग्रो प्रोडक्टको मेलामा प्रत्यक्ष ठेकीमा मोही तुल्याई खुवाइन्छ।
यो कार्यक्रममा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीले उपस्थित भएर आफ्नो समर्थन जनाएका छन्, जसले अभियानलाई थप उर्जा दिएको एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले बताए।
मोही अभियानले विवाह, पार्टी, भोजभतेरजस्ता शुभ कार्यहरूमा मोहीलाई अनिवार्य बनाउँदै देशभरि रौनकता फैलाएको छ। एसोसिएसनका महासचिव हेमचन्द्र खनालले मोहीलाई ब्रान्डिङ गरेर बजारमा ल्याएको जानकारी दिए। यसका साथै, एसोसिएसनका सचिव शिवहरी आचार्यले आफ्नो उत्पादनलाई दर्पण ब्रान्डमा सुरुवात गरेका छन्।
नेपाल डेरी एसोसिएसनले स्कुल, कलेज र सार्वजनिक कार्यक्रमहरूमा मोही अभियान सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन दिइरहेको छ। डेढ वर्षदेखि सञ्चालनमा रहेको यो अभियानले दूध तथा दुग्ध पदार्थको खपत बढाउन विभिन्न प्रतियोगिता र कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले बताए। एसोसिएसन सदस्य रविशरण थापाले भने, "कविता प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई मोहीको महत्व बुझाउने प्रयास गरेको छ।"
मोही अभियानको यो नयाँ चरणले नेपाली समाजमा स्वदेशी उत्पादनप्रतिको मोहलाई थप मजबुत बनाउँदैछ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया