पुल बेकामे बनेपछि रतुवा खोलामा डुंगा राखेर सवारी साधन तारिदैं
विराटनगर- मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुई वटा डुङ्गा (नाउ) सञ्चालनमा आएका छन् ।
११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो । वर्षायाम सुरु हुनासाथ हुलाकी राजमार्ग हुँदै झापा जाने र आउने यात्रुले सास्ती व्यहोर्नु पर्छ । यो पुल आकाशको फल आखा तरेर मर भनेजस्तै भएको छ । खोलामा पुल छ तर प्रयोग गर्न सम्भवै छैन ।
मोरङको रतुवामाई, सुनवर्षी, रंगेली क्षेत्रका मानिस भद्रपुर जानुपरे भारतको बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ । भारतीय बाटोबाट जाँदा ३० किलोमिटर यात्रा गर्नुपर्छ, जसका लागि करिब १ घण्टा लाग्छ । हाल खोलामा डुङ्गा चल्न थालेपछि मोटरसाइकलको ७० रूपैँया र साइकलको ३० रूपैँया लिने गरिएको स्थानीयले बताए । हाल दैनिक ३ सय देखि ५ सय जनासम्म दैनिक डुङ्गाको प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् ।
हुलाकी राजमार्ग प्रयोग गर्नेलाई सहज होस् भनेर २०६५ सालमा शिलान्यास गरिएको सो पुल २०७२ सालमा निर्माण सम्पन्न भएको हो तर बाढीका कारण पुलको दुवै साइड बगाएको छ र पुल खोलाको बीचमा रहेको छ ।
उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९२८ रूपैँया लागतमा निर्माण सम्पन्न भएको हो । पुल प्रयोगमा नआएपछि राज्यको करोडौं रकम बालुवामा पानी भएको छ । निर्वाचनका बेला रतुवा खोलाको पाता फर्काउँछु भनेर भाषण गर्ने नेताहरू जनताको सास्तीमा देखै नपरेको पीडितहरूको गुनासो छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया