समाज

इकागज स्कुल

मान्छेबाट प्रकृतिलाई आपत्, त्यसपछि प्राकृतिक विपद्

इकागज |
असार १०, २०७८ १४:५५ बजे

मनसुन सुरु भएसँगै नेपालमा प्राकृतिक विपत्का घटना घट्ने गर्छन् । केही दिनअघि मात्रै सिन्धुपाल्चोकको मेलम्चीमा विनाशकारी बाढी आयो । बाढीले कैयौँ परिवारको बिचल्ली पार्‍यो । मनसुनको सुरुवातमै यस्ता घटना हुनुले हामी प्राकृतिक विपद्का जोखिममा छौँ भन्ने बुझिन्छ । यसपालिको इकागज स्कुलमा हामीले यसै विषयमा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका सह–प्राध्यापक रञ्जन दाहालसँगको कुराकानीका आधारमा केही प्रश्नोत्तर तयार पारेका छौँ । 

प्राकृतिक विपद् भनेको के हो ?


प्राकृतिक रुपमा हामीले नसोचेको कुनै घटना घट्छ भने त्यसलाई प्राकृतिक विपद् भनिन्छ । यसले हामीलगायत हाम्रोे समुदायको नियमित क्रियाकलाप रोकिदिन्छ । अकस्मात आउने यस्ता विपद्को सामना गर्न हाम्रो तयारी नपुगेको अवस्थामा हामी विपद्सँग निरिह बन्छौँ, लड्न सक्दैनौँ । त्यस्तो किसिमको परिस्थिति प्राकृतिक विपद् हो । उदाहरणको लागि २०७२ सालको भूकम्पलाई लिन सकिन्छ । 

प्रकृतिक विपद् प्रकृतिको दोहनसँग कतिको सम्बन्धित छ ?

खोलामा जथाभावी ढुङ्गा, बालुवा, गिटी निकाल्दा वातावरणलाई ख्याल गरिँदैन । रुख बिरुवा मास्ने बेलामा पनि यस्ता कुरामा ध्यान दिइँदैन । प्रकृति आफ्नै चक्रमा चल्न खोज्छ । त्यसलाई खल्बल्याउने बित्तिकै हाम्रो जीवनयापन पनि खल्बलिन्छ । प्रकृतिलाई मिचेर निर्माण गरिएका मानव निर्मित संरचनाहरू खल्बलिन्छन् । वातावरणमा प्रकृतिमैत्री संरचना बनेको छैन भने विपद्को जोखिममा पर्न सकिन्छ ।

वर्षायाममा प्राकृतिक विपद्को जोखिममा कुन क्षेत्रमा बढी हुन्छ ?

मनसुनको बेलामा जुन क्षेत्रमा पनि प्राकृतिक विपद्को जोखिममा हुन सक्छ । तर, त्यहाँको जनसंख्या र संरचना हेरेर त्यहाँ हुने विपद्को आँकलन गर्न सकिन्छ । हिमालमा मानिसहरू कम हुने भएकाले यस्ता घटनाहरू थाहा नै हुँदैन । जोखिमले जबसम्म मानिस र मानिसले बनाएका संरचनालाई असर गर्दैन, त्यसले फरक पर्दैन । जहाँ जनसंख्या र संरचना धेरै हुन्छन् त्यस्ता ठाउँमा प्राकृतिक घटनाको जोखिम धेरै हुन्छ ।

प्राकृतिक जोखिम हुने बित्तिकै हामी विपद्मा परिहाल्छौँ त ?

प्राकृतिक जोखिम पृथ्वीमा भइरहन्छ । कुनै ढुङ्गा माथिबाट आएर कसैलाई नलागी गयो भने जोखिममा परियो तर, विपत्मा परिएन । तर, त्यसले जीवनयापनमा असर गर्‍यो भने त्यो विपद् हुन्छ । जोखिमले विपद् निम्त्याउँछ । विपत्भन्दा पहिले हामीलाई जोखिमबारे जानकारी हुन्छ । त्यो खबर पाएपछि सुरक्षित स्थानमा जानुपर्छ । यसले सम्भावित विपत्बाट जोगाउन मद्दत पुर्‍याउँछ । 

विपद्मा नपर्न के गर्ने ?

विपद्मा नपर्नको लागि प्राकृतिक जोखिमको अगाडि पर्नु भएन । बाढीको हकमा पहिला खोला कहाँसम्म बग्थ्यो, पहिला पनि बाढी आएको थियो कि थिएन जस्ता कुरा बुझेर मात्र संरचना निर्माण गर्नुपर्छ । तर, थाहा हुँदाहुँदै त्यही स्थानमा संरचना बनाउनु भनेको विपद्को मुखमा जानु हो । विपद् मुखमा पर्ने कि नपर्ने यो हाम्रै हातमा छ ।

वर्षामा विशेष के कस्तो कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

कपितय अवस्थामा हाम्रो बानीव्यवहारमा परिवर्तन ल्याउन सके हामी विपत्मा पर्दैनौ । मनसुनमा बग्ने पानी कहाँबाट कसरी बग्छ ध्यान दिनुपर्छ । आफ्नो घर, आँगन, करेसाबारीमा पानी जम्मा गर्नु हुँदैन । त्यो पानीलाई कटाएर खोल्सामा बगाउनुपर्छ । वरपरका पानीको मूल फुट्ने, कान्ला भत्किने र गड्याङगुडुङ आवाज आउन थाल्ने, जमिन हल्लेको जस्तो महसुस हुने भयो भने पहिरोको जोखिममा भएको थाहा पाउनुपर्छ । पानी आइरहेको बेला खोला एक्कासी सुसाउन बन्द भयो भने त्यसलाई खतराको संकेत मान्नुपर्छ । पहिरोले पुल टालिएर बाढी आउन सक्ने सम्भावना हुन्छ । यस्तो बेला सुरक्षित स्थानतर्फ जानका लागि स्थानीय निकायको सहयोग लिनुपर्छ ।

विपद् जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ

विपद् व्यवस्थापनको बारेमा धेरैलाई थाहा छैन । स्कुलका पाठ्यक्रममा पनि खासै चर्चा भएको पाइँदैन । प्राकृतिक जोखिमबारे खासै पढाइ नै हुँदैन । स्थानीय पाठ्यक्रममा आफ्नो क्षेत्रमा हुने गरेको विपत्बारे पढाउन थाल्नुपर्छ । तराईले तराईको, पहाडले पहाड र हिमालले हिमालमा हुने प्राकृतिक विपद्, जोखिम र न्यूनीकरणको बारेमा पढाउनुपर्छ । यसमा स्थानीय निकायको झनै ठूलो भूमिका हुन्छ । 

विपद्लाई किन हामी चाँडै बिर्सिन्छौँ ?

विपद्का घटना मानिसले चाँडै बिर्सिन्छन्, र आफ्नो तरिकाले जीवन सुरु गर्न थाल्छन् । यो विश्वव्यापी समस्या हो । यो मानवीय प्रवृत्ति हो । भूकम्प गएको साल हामी निकै आत्तियौँ तर अहिले त्यही घरलाई टालटुल पारेर बस्न थालिसकेका छाैँ । तर, विपत्लाई बिर्सिहाल्नु हुँदैन । विपद्लाई हामीले बिर्सिए पनि त्यसले हामीलाई बिर्सिएको हुँदैन । 

(प्रस्तुती सृजना खड्का) 
 

र, यी स्कुलमा पनि भर्ना हुनुहोस् :

 



Author

थप समाचार