समाज

नुवाकोट हेलिकोप्‍टर दुर्घटना

'कुँहिरो लागेकाले अगाडिको भिजिबिलिटी कम हुँदा दुर्घटना भयो'

इकागज |
साउन २३, २०८१ बुधबार १६:५३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- मौसम खराबीको कारण हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका नुवाकोटका एसपी शान्तिराज कोइरालाले बताएका छन् ।

‘मौसम खराबीका कारण अगाडि भिजिबिलिटी कम हुँदा दुर्घटना भएको हुन सक्छ,’ उनले इकागजसँग भने,’ यो क्षेत्र तथा डाँडोमा कुहिरो लागिरहने गर्छ । काठमाडौँबाट आउँदा अगाडिको दिशा पहिल्याउन नसक्दा दुर्घटना भएको हुन सक्छ । यो मेरो घटनास्थलको निरीक्षण गर्दाको अनुमान हो ।‘


प्राविधिक टोली नभए पनि घटनास्थलको अवस्था हेर्दा मौसमको खराबी हुन सक्ने उनले दाबी गरे ।

गन्तव्यतर्फ जाँदा हेलिकोप्टरले खुला ठाउँ खोजेको हुन सक्ने उनले बताए । मौसम क्लियर नभएकाले दुर्घटना भएको हुन सक्ने उनको भनाइ छ । रुखमा ठोक्किएर झरेको उनले उल्लेख गरे ।

काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको  थियो ।

बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । कोइरालाका अनुसार  दुर्घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको छ ।

पाँच जनाको शव घटनास्थलबाट बाहिर निकालिएको उनले जानकारी दिए । ‘शववाहन आउनसाथ त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गर्न पठाइन्छ,’ उनले भने ।


Author

थप समाचार
x