समाज

रौतहटमा डुबेर बेपत्ता भएका दुई जनाको शव बरामद

इकागज |
साउन २३, २०८१ बुधबार १७:२३ बजे

रौतहट- रौतहटस्थित छुट्टाछुट्टै नदी तथा खोलामा डुबेर बेपत्ता भएका दुई जनाको शव प्रहरीले बरामद गरेको छ । मंगलबार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपत्ता भएकी बालिकाको शव बुधबार दिउँसो २ बजे बरामद भएको छ ।

मंगलबार साँझ स्थानीय ४ जना बालिकाहरू घाँस काट्नका लागि डोरा खोलाको पारीपट्टी जाने क्रममा सिसवाधमौरा बस्ने जितेन्द्र दासकी १० वर्षीया छोरी प्रिन्जमाकुमारी दास खोलामा डुबी बेपत्ता भएको प्रहरीमा जानकारी आएको थियो । साेही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट असईको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा बालिकाको शव घटना भएको स्थानबाट दक्षिण पानीमुनि बालुवा माटोमा भासिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन् ।


मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायका वर्ष १६ का छोरा सचिनकुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।

गत आइतबार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए । घटनाको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट विपद उद्धारका सामग्रीसहित गएको १० जनाको टोलीले लगातारको प्रयासपछि मंगलबार अबेर साँझ घटनास्थलबाट ४ किलोमिटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताएका छन् ।


Author

थप समाचार
x