मेयरको घरमा ढुंगामुढा र आगजनीको प्रयास, प्रहरीले जाहेरी दर्ता नगरेको गुनासो
काठमाडौँ- कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा र आगजनीको प्रयासविरुद्ध जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जाहेरीकर्ताहरूले गुनासो गरेका छन् ।
गत जेठ ३१ गते कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निकासका लागि नाला खन्ने क्रममा तीन जना मजदुरहरूको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आक्रोशित पीडितका आफन्त र स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गर्दै ढुंगामुढा गरेका थिए । सोही समूहले भोलिपल्ट मेयर भुसालको घरमा ढुंगामुढा र आगजनीको प्रयास गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुर (पूर्वी नवलपरासी) ले झण्डै एक महिनाअघिदेखि दिएको जाहेरी दर्ता नगरी थन्क्याएर राखेको जाहेरीकर्ताको भनाइ छ ।
मेयर भुसालका छोरा सविन भुसालले गत असार २१ गते पहिचानसहित करिब १२ जनाविरुद्ध जाहेरी दिएको बताइएको छ । पीडितका आफन्त नभई राजनीतिक पूर्वाग्रह बोकेर आएका समूहले घरमा आक्रमण गरेको उनले दाबी गरेका छन् । मेयर भुसाल एमालेबाट निर्वाचित हुन् । मेयरका छोरा सविनले जाहेरीमा किटान गरेका व्यक्ति कांग्रेस निकट भएको बताइएको छ ।
सविनका अनुसार जिल्लाले जाहेरी दर्ता गर्न नमानेपछि गृह मन्त्रालयको गुनासो शाखा र प्रहरी प्रधान कार्यालयमा समेत पठाइएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।
सविनले भने, 'घटना घटेको केही बेरमै नगर प्रमुखको घरमा तोडफोड भएको र ढुङ्गा हान्ने प्रजोल क्षेत्रीलाई डिएसपीले हातमा समातेर नयाँ बजारतर्फ लागि छोडेको र पुनः सोही व्यक्तिले डिएसपी कै अगाडि डुङ्गा हान्दा हेरेर मात्र बसेको छ । यस्तै भोलिपल्ट नगरपालिकामा पीडित र जनप्रतिनिधिबीच अन्दाजी १२ बजे सम्झौता सकिएकै बेला तोडफोड सुरु भएको उक्त समयसम्म सुरक्षाकर्मीले बल प्रयोग नगरेको, जवानले पिटाई र ढुङ्गा खाई रहँदासम्म पनि न्यूनतम बल प्रयोग नगरेको, नगरपालिका र नगरप्रमुखको घर तोडफोड सकिएपछि मात्र जनपथ र सशस्त्र प्रहरी थपेर बल प्रयोग गरेको देखिन्छ ।'
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरहरि रेग्मीले घटनाको विषयमा नगरपालिकाले सहमति गरेर मिलाई सकेको अवस्थामा फेरि सोही घटनालाई जाहेरीले ब्यूँताउन खोज्दा आरोप लगाएका पक्षसँग द्वन्द्व बढ्छ कि भनेर त्यसै राखिएको बताए ।
नगरपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गर्न लागेको नालाको ढिस्कोले पुरिएर कावासोती नगरपालिका-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको मृत्यु भएको थियो ।
घटनापछि मृतकका आफन्तहरूलाई नगरपालिकाले जनही ५/५ लाख रकम उपलब्ध गराएको र घरविहीन एक जनाको घर बनाउने तथा साना बालबालिकाको निःशुल्क शिक्षा उपलब्ध गराउने गरी सहमति भइसकेको मेयर भुसालले बताए । नगरपालिकाबाट बच्चाका लागि ५ लाखको अक्षय कोष स्थापना गर्नुका साथै अन्तिम संस्कारका लागि ५० हजार रुपैयाँ दिइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया