हुम्लामा पहिरोसहितको बाढीमा परी ५० भेडा मरे, १५ लाखको क्षति
हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा गएको बाढीपहिरोमा परी ५० वटा भेडा मरेका छन् ।
बुधबार दिउँसो अविरल वर्षासँगै गएको बाढीपहिरोले राया गाउँका दुई किसानका ५० वटा भेडा मरेका हुन् । यहाँ बर्खायाममा चरिचरनका लागि उच्च लेकका भेडीखर्कमा लिने चलन छ । यसपटक पनि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेकमा लिएका भेडा पहिरोमा परी मरेका पीडित सुरेन्द्र बोहराले जानकारी दिए ।
वनमा चरिचरनका लागि लिएका समयमा बुधबार दिउँसोको समयमा एक्कासी सुक्खा खोलामा आएको पहिरोसहितको बाढीले स्थानीय धुन बोहराका २५ र आफ्ना २५ भेडा मरेका उनले बताए । 'लामो समयदेखि भेडा यही व्यवसाय गर्दै आएको थिए । घर खर्चका साथै छोराछोरी पढाउन पुगेकै थियो तर पहिरोमा परी भेडा मरेपछि आम्दानीको स्रोत नै गुमेको छ,' बोहराले भने ।
हुम्लामा स्थानीय जातका प्रति भेडाको मूल्य रु ३० हजार पर्ने गरेको छ । २५ वटा भेडा बाढीपहिरोमा परी मरेपछि रु सात लाख ५० हजार बराबरको क्षति भएको पीडित धुन बोहराले बताए । 'दिउँसो चरिचरनका लागि जङ्गलमा लिएका बेला सुख्खा खोलामा एक्कासी आएको बाढी तथा पहिरोले ठूलो नोक्सानी गर्यो । हाम्रा लागि भेडा नै आयआर्जनका स्रोत थिए । सबै सखाप भए,' उनले दुखेसो पोखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया