कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति पक्राउ
सुदूरपश्चिम- चोरी मुद्दामा कैदसजाय भुक्तान गरिसकेका धनगढी उपमहानगरपालिकाका एक व्यक्तिलाई अर्को चोरीको घटनामा प्रहरीले पक्राउ गरेको छ ।
उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर राखेका चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायललगायत गरगहना, सिक्का, घडी र रु छ हजार एक सय ३५ सहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका सहप्रवक्ता लोकेन्द्र कार्कीले धनगढी उपमहानगरपालिका–४ का योगेन्द्र ओझाको घरबाट नगद रु २५ हजार, ५०/६० तोला चाँदी र १४/१५ तोला सुनका गरगहना चोरी भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निज गिरीलाई उक्त चाँदीका गरगहनासहित पक्राउ गरिएको बताए ।
ओझाको घरमा यही साउन २३ गते चोरी भएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१ का अमन नेपाली नामका व्यक्ति बस्ने घरको कोठाबाट पक्राउ परेका गिरीले चोरी गरेका चाँदीका गरगहनासहितका सामग्री सोही ठाउँका आशा भण्डारीको घरमा राखिएको अवस्थामा बरामद गरिएको हो ।
'गिरीमाथि अनुसन्धान भइरहेको छ,' प्रहरी निरीक्षक एवं सहप्रवक्ता कार्कीले भने, 'सुन र सुनका गरगहना चोरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।'
चोरी मुद्दामा पाँच वर्ष कैदसजाय भुक्तान गरेर गिरी यही साउन १७ गते कारागारबाट छुटेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया