निशब्द भएका वरिष्ठ पत्रकार कोइराला…
काठमाडौँ- उनी हिजोआज टेलिभिजन, छापा तथा अनलाइन मिडियामा देखिँदैनन् । समाचार र समसामयिक विषयमा बहस गर्न रुचाउने उनले जीवनलाई हेर्ने नजर बद्लेका छन् ।
कुनै बेला समाज र राष्ट्रको विरुद्धमा कोही बोलेमा खरो तरिकाले बहस गर्ने तिनै वरिष्ठ पत्रकार तीर्थ कोइराला ओशोधारा नेपालमा देखिन थालेका छन् । साउन २५ देखि २७ गतेसम्म आयोजना भएको पाचौं तहको समाधि साधना कार्यक्रममा उनी पुगे ।
अनुभव, राय र सुझाव लिन कोइराला पनि पुगे । यसअघि पनि उनी बेला-बेलामा गइरहन्छन् ।
कोइरालाले यो तहसम्म आइपुग्दा आफूसँग बोल्नको लागि शब्द कम भएको बताए । ‘पहिलो तहको ध्यान साधना कार्यक्रम गर्दा ध्यान के हो ? ध्यानको अभ्यासले के हुन्छ जानेको र सुनेको अनि आफ्नो अनुभूतिलाई धेरै मिलाएर बोल्न जान्ने र बोल्न सक्ने ठानेको थिए,’ उनले भने । अध्यात्म यस्तो यात्रा रहेछ कि बाहिर जानेका र सुनेका कुरालाई बोलेर होइन भित्रको अनुभूतिमा बोधगम्य हुँदोरहेछ । साधनाको तह जति गहिरिदै गयो संसारी तह त्यति नै माथि माथि लाग्दो रहेछ ।‘
उनले भने,’ संसारमा बोलेर जित्नुछ । बोलेर प्रमाणित गर्नुछ। बोलेरै अगाडि आउनु छ। अध्यात्म आत्मिक साधना भएकोले म नि:शब्द छु, जे अनुभूति गरेको साधनाबाट त्यसलाई गहिराइसम्म पुग्न दिनेछु ।‘
वर्षौंदेखि हाम्रा ऋषिमुनीहरूले गर्दै आएको साधना विधिलाई सुमिरन योग, तथाता योग र शब्द योगको माध्यमबाट जीवनशैली रूपान्तरणको आयाम समेटिएको ओशोधारा नेपालले काठमाडौँ साधना केन्द्रमा आयोजना गरेको कार्यक्रमबाट सहभागीहरूले शब्द साधनाको माध्यमबाट शब्द गुरूको निर्देशनलाई आत्मसात गर्ने अवसर पाएका थिए ।
बैंकर, शिक्षक, विद्यार्थी, गृहिणी, सेवा निवृत्त कर्मचारी, व्यापारी लगायतले कार्यक्रममा सहभागी भएर लाभ लिएका छन् । पृष्ठपोषणको क्रममा सबै साधकले आफ्नो अनुभूतिलाई शब्दमा व्यक्त गर्न नसकिने तर त्यसको आनन्दमा डुब्न सकेको बताएका थिए ।
कार्यक्रममा आचार्य डा नम्रता पाण्डे, आचार्य डा.प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य ई अनन्त विष्टले विभिन्न साधना पद्धतिको माध्यमबाट साधकहरूलाई सहजीकरण गराएका थिए ।
चेतना जागरण, स्वाध्याय र जीवनशैली रूपान्तरणका लागि ओशोधारा नेपालले महिनैपिच्छे विभिन्न कार्यक्रम र प्रत्येक बिहान जुमको माध्यमबाट कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया