समाज

चितवनका हात्तीलाई खिर र केकसहितको वनभोज

इकागज |
साउन २८, २०८१ सोमबार १९:३० बजे

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ ।

१३ औं अन्तराष्ट्रिय हात्ती दिवसको अवसरमा सोमबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा नीजि स्तरका हात्तीहरूलाई खिर, केकसहित वनभोज खुवाइएको हो । हात्ती वनभोजमा उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजासहितको मिठान्न परिकार बनाईको थियो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो ।


सरकारी र निजी स्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको हो । बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरूलाई एकै ठाउँमा राखेर वनभोजका रूपमा मिष्ठान्न भोजन गराइएको थियो ।

कार्यक्रमका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताए । उनले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्ने धारणा राखे ।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले आहार, खानपान र स्वास्थ्य उपचारको हिसाबले हात्ती पाल्न मुश्किल रहेको भन्दै निजी स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताए ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ४५ वटा हात्ती छन् । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउँदै आइएको छ । 


Author

थप समाचार
x