समाज

मुसहर बस्तीमा खानेपानी सुविधा

इकागज |
भदौ ४, २०८१ मंगलबार १७:१२ बजे

नारायणगढ (चितवन)- जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ । 

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त साझेदारीमा सो बस्तीमा खानेपानीको धारा जडान गरिएको हो । 


आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट वञ्चित २४ माझी मुसहर घरधुरीलाई खानेपानीको मिटरसहित धारा जडान गरिएको वडा नं ७ का वडाध्यक्ष सजना महतोले जानकारी दिए । उनले वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५० प्रतिशत लगानी तथा नगरपालिकाबाट जडान सामग्रीको सहयोगमा धारा जडान गरिएको बताए ।

उनले वडा नं ७ मा दुई सय ५० धारा जोडिसकिएको र हाल २४ धारा जोडिएको जानकारी दिए । सीमान्तकृत माझी मुसहर समुदायको न्यूनतम आवश्यकता पूरा गर्न वडा कार्यालय सधैं प्रतिबद्ध रहेको उनको भनाइ छ । रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशतसम्म अनुदान दिँदै आएको उल्लेख गरे । उनले स्थानीय सरकार र सामुदायिक वनसँग सहकार्य गरी विभिन्न समुदायलाई शतप्रतिशत अनुदानमा धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको सङ्ख्या चार सयको हाराहारीमा पुगेको बताए । 

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले मुसहर समुदायको विकासको लागि सामुदायिक वनले धेरै कुरामा सहयोग गर्दै आएको बताए । उनले यहाँको बालबालिकालाई विद्यालयमा बालकक्षा सञ्चालन, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युतको लागि मिटर बक्स जडान गरेको उल्लेख गरे । 

सामान्य आधारभूत कुरामा समेत पछाडि परेको यस समुदायका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि वनसँगै विभिन्न संस्थाले पनि सहयोग गर्दै आएको र यसले उनीहरूको जीवनस्तरमा सुधार आउन थालेको बताए । यस बस्तीमा मानिसको जीवनस्तर उकास्नका लागि परम्परागत पेसा माछा मार्नेभन्दा अन्य पेसामा संलग्न गराउनका लागि वनले पहल गदै आएको उनको भनाइ छ ।

नगर प्रमुख प्रह्लाद सापकोटाले पालिकाका नागरिकलाई स्वच्छ खानेपानी दिन तथा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै यसमा लगानी गर्न पालिका तयार रहेको बताए । उनले नागरिकको न्यूनतम आवश्यकता पूरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने उल्लेख गरे । 

बेरोजगारको समस्या समाधान गर्नका निमित्त नगर प्रमुख उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यम गर्न मन लागेको व्यक्तिले बिना ब्याजको रु तीन लाखसम्म प्राप्त गर्नसक्ने प्रमुख सापकोटाले जानकारी दिए । आर्थिक अभावका कारणले कोही पनि नगरवासी खाली हात बस्न नपर्ने उनको भनाइ थियो । खानेपानीमा पालिकाले एकमुष्ट अनुदान हालेको भन्दै उनले हाल मासिक रु ९० खानेपानीको शुल्क रहेको र माझी मुसहर बस्तीमा सो शुल्क घटाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x