किमाथाङ्का नाका खुलेपछि सात सय बढी नागरिकलाई सीमा पास वितरण
फाइल तस्बिर
किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सीमा पास वितरण गरिरहेको छ ।
गत जेठ १२ मा १४ नाकासहित एकैसाथ सञ्चालनमा आएको किमाथाङ्का नाका आवतजावतका लागि सात सय ९९ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । भोटखोलामा मात्र घुम्ती टोलीमार्फत पाँच सय ६४ वटा सीमा पास वितरण गरिएको उनले बताए ।
भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारी पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । नाका खुलेसँगै सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि र रोजगारीका लागि सीमावर्ती नाका आवतजावत गर्न सहज भएको छ ।
भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।
विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्काको दूरी एक सय ६२ किलोमिटर छ । यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया