समाज

क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव गोताखोर टोलीले निकाल्यो

इकागज |
भदौ ८, २०८१ शनिबार २०:१९ बजे

फाइल तस्बिर

बरहथवा (सर्लाही)- ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ ।

आज दिउँसो फुटबल खेल्न साथीसँगै आएका सोही नगरपालिका–४ सागरनाथका १७ वर्षीय निशान थापामगरको नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको थियो । नुहाउन भनेर फूलजोर खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न क्रसरले खनेको खाल्डोमा पसेका मगरको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।


खाल्डो गहिरो भएकाले शव निकाल्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो । सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । गोताखोर टोलीले ३० मिटरभन्दा धेरै गहिरो खाल्डोबाट शव निकालेको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x