सहकारी पीडितद्वारा बृहत् सडक आन्दोलनको घोषणा
काठमाडौँ- सहकारी पीडितहरूले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत् सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनसायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत् आन्दोलन गर्ने उनले बताए । उनले सहकारी पीडितहरू १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुईपटक सम्झौता गरे पनि पीडितको पक्षमा केही काम नभएको धारणा राखे ।
अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक आफूहरूसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए । तत्कालीन अवस्थामा आफूहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया