प्रकाशको बारेमा टासीको परिवार यसो भन्छ
'फ्रान्स बस्ने पाल्जोरले प्रकाश दाइलाई आफ्नो भागको सबै अंश दिनु भनेका छन्'
नागरिकता बनाइदिन खोज्यौँ मिलेन : छेतेन दोण्डुप
काठमाडौँ- केही दिनदेखि सामाजिक सञ्जालमा 'हेर्ने कथा' को 'हराएको वर्ष' श्रृंखला चर्चा छ । किनभने यस श्रृंखलामा ३५ वर्षदेखि हराएका प्रकाश तामाङको वास्तविक घटनामा आधारित कथा छ ।
यो ब्लग उनको भाषामा तयार पार्दा उक्त भिडियो युट्युबमा ७० लाखभन्दा बढीले हेरिसकेका छन् । सामाजिक सञ्जालदेखि बालुवाटारलाई समेत 'हराएको वर्ष' कथाले तताएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई नागरिकता दिलाउन गृहसचिवसँग छलफल समेत गरेका थिए ।
प्रकाश तामाङले सदाका लागि भोजपुर जान भनेर गोरखा छोडिसकेका छन् । हिजोमात्र उनी चुमभ्यालीबाट टासीको घरबाट बिदा मागेर निस्केका छन् ।
हेर्ने कथाले गोर्खाको चुमलुब्री गाउँपालिकामा 'पक्का' लाई भेटेको थियो । हेर्ने कथाले उनको परिवार नभएको थाहा पाएको थियो । कथाको टिमले परिवारसँग मिलन गराउने चाहना गर्यो । सोही शिलशिलामा गोर्खादेखि झापासम्म पुर्यायो ।
युट्युबमा उक्त भिडियो सार्वजनिक भएपछि हेर्ने कथाको सकारात्मक र नकरात्मक दुवै पक्षबारे टिप्पणी सुरु भयो । कतिपयले हेर्ने कथाले युट्युबबाट आएको पैसाले प्रकाशको जीवनमा केही योगदान गर्नुपर्छ भन्ने पनि धारणा राखेका थिए ।
सबैभन्दा बढी प्रकाशको साहु टासीले श्रमको शोषण गरेको भनेर सार्वजनिक रूपमा आलोचना भइरहेको छ । यसै शिलशिलामा हेर्ने कथाले साहु टासीका छोरा छेतेनसँग सम्पर्क गरेको छ ।
छेतेनले घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको र सामाजिक सञ्जालमा आए जस्तो अन्याय नगरेको बताएका छन् ।
'पहिलादेखिको चलनचल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौँरी हेर्ने । प्रकाशले चौँरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो,' उनले भनेका छन्, 'प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौँ । तर, बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने ।'
टासीका परिवारले प्रकाशको नागरिकता पनि बनाइदिन खोजेको तर नमिलेको उनले बताएका छन् । उनले अगाडि भनेका छन्, 'पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।'
छेतेनसँग हेर्ने कथाले गरेको कुराकानी उनकै शब्दमा :
'हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सधैं भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर, सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको बिहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौँरी हेर्ने । प्रकाशले चौँरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरू सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर, सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर, बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौँरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिइसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरूले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरू पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर, प्रकाश दाइले किरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि किरा बेचेको पैसाले प्रकाशले चौँरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर बिरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरूले चौँरीका बाच्छाबाच्छीलाई दूध खान दिँदैनन् । तर, पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर, त्यही हो - मिलेन ।
पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।
तर, नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर, आफ्नो नागरिकता नभए पछि बच्चाहरूको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसी नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर, उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।
उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो विचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर, पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । '
- छेतेन दोण्डुप
सम्पादकः यो कथा हामीले 'हेर्ने कथा' को फेसबुक पेजबाट साभार गरेका हौँ ।
यो पनि:
'हेर्ने कथा' ले देखाएका प्रकाशले सदाका लागि गोरखाको हिमाली भेग छाडे
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया