नुवाकोट दरबार पुर्ननिर्माणको काम चिनियाँ पक्षले थाल्यो
फाइल फाेटाे
काठमाडौँ - भूकम्पबाट क्षति भएको नुवाकोटको साततले दरबारको पुनर्निर्माण सुरु भएको छ । दरबार आसपासमा धार्मिक एवं पुरातात्त्विक सम्पदाको पुनर्निर्माणमा चिनियाँ पक्ष जुटेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
२०७२ को भूकम्पले भत्काएको दरबार लगायत आसपासको संरचना पुनर्निर्माण हुन सकेको थिएन । यसको पुनर्निर्माणको जिम्मा चीन सरकारले लिएको थियो । दरबार पुनर्निर्माणको जिम्मा लिएपनि लामो समयदेखि चिनियाँ पक्षले काम सुरु गरेको थिएन ।
चिनियाँ पक्षले विभिन्न माग राखी पुनर्निर्माण रोकेकाे थियो । उनीहरूकाे मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध गरेपछि काम सुरु गरेको मेयर श्रेष्ठले बताए ।
सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनर्निर्माण तथा प्रबलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण गर्ने योजना छ ।
सबै सम्पदाको मौलिकपन कायम गरिने नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिए । विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया