समाज

खोपको असर वैदेशिक रोजगारीमा

वैदेशिक रोजगारीमा जाने कामदारले खोप नपाए कोटा कटौती हुने जोखिम

'मन्त्रालयमा रोजगारदाता मुलुकले खोप अनिवार्य गर्नुपर्ने लिखित जानकारी पठाएको छैन'

अतिन आचार्य |
असार १४, २०७८ सोमवार २१:११ बजे

काठमाडौँ :  सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोप लगाउन् नसक्दा नेपालले पाउने वैदेशिक रोजगारीको कोटा गुम्‍ने भएको छ । वैदेशिक रोजगारमा जान चाहनेले खोप नपाएमा खाडीसहितका मुलुकले उपलब्ध गराउँदै आएको रोजगारी कटौती हुने सम्भावना बढेको हो ।

नेपालले समयमा खोप खरिद गर्न नसक्दा र विदेशमा श्रम गर्ने कामदारलाई प्राथमिकतामा नराख्दा नेपालले नियमित रुपमा पाउने कोटा गुम्‍ने र समयमा नेपाली कामदार जान नपाउने भएका हुन् ।


खाडी मुलुकले कोभिडविरुद्धको खोप लगाएका श्रमिकलाई मात्र लैजाने भएपछि कोटा गुम्‍ने आशंका बढेको हो । केही मुलुकले कोभिड-१९ को महामारी फैलिएपछि नियमित रूपमा कामदार वैदेशिक रोजगारमा लगेका छैनन् । मलेसिया, कुवेत,ओमन र युएईले नियमित रूपमा कामदार लैजान पाएका छैनन् ।

'विदेशमा काममा जानेलाई खोप उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छौं'

रोजगारदाता मुलुकले कामदार मागे पनि सम्बन्धित मुलुकलाई कामदार पठाउन नसक्ने भएपछि कोटा गुम्‍ने भएको छ । रोजगारदाता मुलुकले खोप लगाएका आप्रवासी कामदारलाई मात्र लिने भएमा नेपालमा कामदारको कोटा गुम्‍ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार रहेका मुलुकले लिखित रूपमा खोप नलगाएका कामदारलाई नलैजाने जानकारी नआएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्‍लेले जानकारी दिए ।  

उनका अनुसार सञ्चारमाध्यममा आएका कुरालाई लिएर श्रम मन्त्रालय गम्भीर छ  । नेपाली कमदार भएका मुलुकले यदि त्यसो भनको भए कूटनीतिक वार्ता गर्न सकिने काफ्लेले बताए ।

'वैदेशिक रोजगारमा गएका धेरै नेपालीले खोप लगाएका छन,' काफ्ले भन्छन,' छुट्टीमा आएका पहिलो खोप लगाएर आएका नेपाली कामदारलाई जान समस्या भएको भन्ने सुन्नमा आएका छ । सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासलाई बुझ्‍न आग्रह गरिएको छ ।'

काफ्लेका अनुसार बहराइन, साउदी अरब, कुवेत र युएईमा भएका कामदारले पनि खोप लगाइसकेका छन् । वैदेशिक रोजगारीमा जाने र श्रमको क्षेत्रमा काम गर्नेलाई कोभिडविरुद्धको खोप व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयलाई पनि आग्रह गरिसकेको काफ्लेले जानकारी दिए ।

'खोप उपलब्धता भएमा सबैलाई दिने'

कोभिडविरुद्धको खोप उमेर समूहलाई लक्षित गरेर लगाएकाले धेरै मानिस खोप पाउनबाट वञ्चित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. कृष्ण पौडेलले बताए । उनका अनुसार फ्रन्टलाइनरको रूपमा काम गर्ने, स्वास्थ्यकर्मी,ज्येष्ठ नागरिक र अन्य पेशाका मानिसलाई खोप लगाइ सकिएको छ ।

'खोप पर्याप्त मात्रामा आयात भएमा मात्र अन्य मानिसले लगाउन पाउछन,' पौडेल भन्छन,' खोप आयातका लागि विभिन्न मुलुकसँग वार्ता भइरहेको छ ।' वैदेशिक रोजगारका क्षेत्रमा काम गर्नेले पनि खोपको माग गरेको उनले जानकारी दिए ।

सरकारले मुलुकमा खोप नभएर उपलब्ध नगराएको पौडेलको भनाइ छ । उनले वैदेशिक रोजगारले मुलुकको अर्थतन्त्र धानेको हुनाले रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राख्‍नुपर्ने बताए । मुलुकमा खोप उपलब्ध नभएकाले रोजगारमा जानेले खोप नपाएको उनको ठहर छ ।

'खोप नपाएमा रोजगारको कोटा गुम्‍ने'

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने र रोजगारमा जाने मानिसलाई खोप लगाउने प्राथमिकतामा नराख्दा निकट भविष्यमा नेपालले पाउने कोटा गुम्‍ने खतरा  बढेको नेपाल वैदेशिक रोजगार व्यवसायिक संघका कार्यवाहक अध्यक्ष कमल तामाङ् बताउँछन् ।

श्रम मन्त्रालयमा विदेश जाने मानिसलाई खोपको व्यवस्था गरिदिन पहिलो प्राथकितामा राखिदिनलाई आग्रह गरेको तामाङले बताए । सरकारको तर्फबाट नेपाली कामदारले खोप नलगाए पनि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बसेर जाने व्यवस्था मिलाइदिन उनले आग्रह गरे ।

विदेश जाने कामदारले खोप नपाएमा नेपालको अर्थतन्त्रमा व्यापक असर पर्ने तामाङको दाबी छ । कोभिड महामारीले गर्दा व्यवसायी अप्ठयारोमा परेकाले धरौटी रकम फिर्ता नदिएकोमा उनले गुनासो गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x