समाज

कैलाली र कञ्चनपुरमा २२ गतेसम्म निषेधाज्ञा

इकागज |
असार १५, २०७८ मगलवार १०:२६ बजे

फाइल फोटो

धनगढी : कैलालीमा परिमार्जनसहित निषेधाज्ञा यथावत राखिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका छन् । १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सबै प्रकारका पसल खोल्न पाइने आदेशमा उल्लेख छ । 

यस्तै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ । उनका अनुसार सार्वजनिक सवारी साधन जिल्लाभित्र सञ्चालन गर्न पाइनेछ । अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहनेछ । 


उता कञ्चनपुरमा जारी भएको निषेधाज्ञा पुनःथपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछन् । जिल्लाबाहिरका लागि भने अत्यावश्यक सवारी साधन बाहेक अन्यले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ । 

अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ महतोले जानकारी दिए । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ । यस्तै सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् । 
 


Author

थप समाचार
x