समाज

सुर्खेतमा बढ्यो आत्महत्या, रक्सी र लागूऔषध नियन्त्रणमा प्रहरीको ध्यान

लक्ष्मी भण्डारी |
असार १८, २०७८ शुक्रबार ५:५४ बजे

सुर्खेत : पछिल्लो चार वर्षमा सुर्खेतमा अपराधका घटनाहरु घट्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा जिल्लामा दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् ।  कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ९६,२०७५/०७६ मा ६ सय ९६ वटा घटना घटेका छन् । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७/०७८ को हालसम्म पाँच सय २० वटा विभिन्न प्रकारका अपराधिक घटना घटेका छन् ।

सबैभन्दा बढी आत्महत्याका घटना रहेका छन् । प्रहरी कार्यालयको तथ्यांक अनुसार आत्महत्याका चार सय ३३ वटा घटना घटेका छन् । जसमा सबैभन्दा धेरै सामाजिक अपराध र आत्महत्याका घटना बढी छन् । प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को हालसम्म सामाजिक अपराध सम्बन्धि ५ सय २२, महिला तथा बालबालिका सम्बन्धि ४ सय १५, ज्यान सम्बन्धि तीन सय ५७ वटा घटना घटेका छन् । त्यसैगरी चोरी सम्बन्धि १ सय ११, संगठिक तथा आर्थिक अपराध सम्बन्धि ३ सय १४, सवारी सम्बन्धि १ सय ३८ र अन्य ४३ वटा अपराधका घटना घटेका छन् ।
 
लागुऔषध र मदिरा नियन्त्रण गर्छु : एसपी विष्ट


यसैबीच भर्खरै मात्र सुर्खेतमा सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख पदमबहादुर विष्टले जिल्लामा लागुऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बिहीवार वीरेन्द्रनगरमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा कार्यालय प्रमुख विष्टले समाजमा हुने आपधाधिक घटनाको मुख्य कारण मदिरा र लागुऔषध भएकाले यसको नियन्त्रणमा लाग्ने बताए । 

‘समुदायमा सबैभन्दा बढी अपराधका घटनाहरु नै मदिरा र लागुऔषधको कारणले गर्दा भएको देखिन्छ’ विष्टले भने, ‘त्यसैले यसलाई नै पहिलो निशानामा राखेर काम गर्छु ।’ लागुऔषका कारण नै चोरीका घटनाहरु बढेको विष्टले बताए । त्यसैगरी मदिराका कारण हिंसाका घटनाहरु बढेको भन्दै यसलाई नियन्त्रण गर्नु सबैको दायित्व रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्ती, अनुसन्धान अधिकृत कनकबहादुर शाहीको सहभागिता रहेको थियो । 
 


Author

थप समाचार
x