समाज

वैदेशिक रोजगारीले बढ्दो दूरी : सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

सृजना खड्का |
असार २४, २०७८ १४:१६ बजे

‘यो मेरो बच्चा हुँदै होइन, एकपटक डीएनए टेस्ट गरौँ ।’

श्रीमान्‌‌को मुखबाट यस्ता शब्द निस्केलान् भन्‍ने उनले सोचेकी पनि थिइनन् । श्रीमान्‌‌को शंका र समाजको लाञ्छनाले काठमाडौँ, कुलेश्वरकी अनामिकालाई डिप्रेसनमै पुर्‍यायो । बिहे गरेको दुई महिनापछि नै अनामिकाका श्रीमान्‌ वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । दुई-दुई वर्षमा दुई महिनाको छुट्टी लिएर आउँथे । बच्चा पाउने योजना बन्थ्यो, तर गर्भ बस्दैनथ्यो । उमेर ढल्किँदै थियो । सन्तानका लागि परिवारको पनि दबाब बढ्दै थियो । 


ADVERTISEMENT

अनामिकाले शुक्रकीट सञ्चय गरेर उपचार गर्न सकिने पद्धतिबारे थाहा पाइन् र श्रीमान्‌ नेपाल आएका बेला त्यसै गर्न प्रस्ताव गरिन् । श्रीमान्‌ले उपचार केन्द्रमा छाडेको शुक्रकीटबाट पहिलो प्रयासमा गर्भ बसेन, दोस्रो पटक उनी गर्भवती भइन् । उनले इन्ट्रायुटेराइन इन्सेमिनेसन’ (आइयूआई) प्रविधिबाट उपचार गरेकी थिइन् ।

तर अनामिकालाई गर्भवती भएको खुसीसँगै समाजको लाञ्छना पनि सुन्‍नुपर्‍यो । उनी गर्भवती हुँदा श्रीमान्‌ विदेश गएको पाँच महिना भएको थियो । ‘श्रीमान्‌ उता विदेशमा, श्रीमती यता गर्भवती’ भन्दै कानेखुसी गर्नेहरू निस्किए । यो सबै झेल्दाझेल्दै उनी आमा बनिन् ।

‘श्रीमान्‌ विदेश गएका बेला कसरी बच्चा भयो ?’ ‘आमा-बाबु दुवै गोरा, बच्चा किन कालो ?’ ‘खोइ यसको त घर-मावली कतै अनुहार मिल्दैन !’ बच्चा जन्मिएपछि उनले यस्ता थुप्रै प्रश्न र खिसिट्युरी सामना गर्नुपर्‍यो । बच्चा पाएको एक वर्षपछि श्रीमान्‌ घर आए । त्यसपछि सुरु भयो, श्रीमान्‌ र परिवारकै शंका-उपशंकाको शृंखला । कुरा डीएनए परीक्षणसम्म पुग्यो । बच्चाको डीएनए श्रीमान्‌सँग मिले पनि सम्बन्ध पहिलेजस्तो सुमधुर हुन सकेन । केही समयअघि मात्रै उनीहरूको सम्बन्धविच्छेद भयो । 

०००

काठमाडौँ, पुतलीसडक बस्‍ने अनिसा अहिले तीन महिनाकी गर्भवती छिन् । तर, परिवारका सदस्यबाहेक यो कसैलाई थाहा छैन । आइयूआईबाट बच्चा जन्माउने कोसिस गरेको तीन वर्षपछि मात्रै डाक्टरले उनलाई खुसीको खबर सुनाएका थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा अनिसाका श्रीमान्‌ साउदी अरब गएको पाँच वर्ष भयो । बेलाबेलामा नेपाल आइरहने उनी वर्ष दिनअघि शुक्रकीट दिएर गएका थिए । समाजले कुरा काट्ला भनेर अनिसा गर्भवती भएपछि श्रीमान्‌ नेपाल आउने सल्लाह भएको थियो, तर उडान बन्द भएकाले आउन पाएका छैनन् । अहिले अनिसालाई गर्भवती भएको खुसीभन्दा समाजलाई कसरी जवाफ दिने भन्‍ने चिन्ताले सताइरहेको छ । ‘भोलि औँला ठड्याउने हुन् कि भन्‍ने चिन्ताले हरेक दिन सताउँछ,’ उनले भनिन्, ‘अब क-कसलाई के-के जवाफ दिनुपर्ने हो ?’

०००

अनामिका र अनिसाले झैँ सहायक प्रजनन प्रविधिबाट बच्चा जन्माउने प्रयासमा लागेकी काभ्रे, साँगाकी सम्झनालाई गर्भवती भइनसके पनि समाजको चिन्ता लाग्न थालिसकेको छ । ‘बच्चा बस्यो भने आउँछु त भन्‍नुभएको छ,’ उनले भनिन्, ‘परिवारका मान्छेलाई बुझाउन सके पनि बाहिरका मान्छेलाई बुझाउन त सकिँदैन नि ।’ 

‘इन-भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ)बाट उपचार सुरु गरेकी सम्झना नौ पटकसम्म पनि बच्चा नबसेपछि हाल आइयूआई गराइरहेकी छन् । तर उपचार लम्बिँदै जाँदा उनलाई खर्चको चिन्ताले पनि सताउन थालेको छ । अहिलेसम्म उनले आईभीएफमा पाँच लाख र आइयूईमा तीन लाख रुपैयाँ सिद्ध्याइसकिन् ।

बिहेलगत्तै कतार गएका श्रीमान्‌ बीचमा एकपटक नेपाल आए पनि गर्भ नबसेपछि उनले ओम अस्पतालको सल्लाहमा आइभीएफ सुरु गरेकी थिइन् । ‘बूढाबूढीसँगै बस्‍न पाएको भए यस्तो झञ्झट बेहोर्नै पर्दैनथ्यो,’ उनको दुखेसो थियो, ‘ऋण तिर्न कमाएको पैसा अस्पताल चहार्दाचहार्दै सिद्धिइसक्यो ।’

‘सुरुमै आईभीएफ गराउनुपर्ने अवस्था उहाँको थिएन,’ हाल उनको उपचार गरिरहेकी प्रजनन रोग विशेषज्ञ डा. उमा श्रीवास्तव भन्छिन्, ‘सुरुमा उहाँले आइयूआई नै गराउनु पथ्र्याे । अनि सफल नभए मात्र आइभीएफमा जानुपर्थ्यो ।’ 

निःसन्तानको परिभाषामा नपर्नेको ओइरो 

चिकित्सा विज्ञानको परिभाषामा गर्भनिरोधक साधनको प्रयोगविना एक वर्ष नियमित शारीरिक सम्पर्कमा रहँदा पनि सन्तान नभएका विवाहित दम्पतीलाई निःसन्तान भनिन्छ । तर वरिष्ठ प्रजनन एवम् आइभीएफ विशेषज्ञ डा. सविना श्रेष्ठ प्रधानका अनुसार निःसन्ताललाई आइयूई र आइभीएफ सेवा प्रदान गर्न खुलेका उपचार केन्द्रमा भने सो परिभाषामा नपर्ने, वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर बच्चा नभएका, दम्पतीको संख्या बढ्न थालेको छ ।

डा. श्रेष्ठको अनुमानमा अहिले सहायक प्रजनन प्रविधि अपनाएर गर्भधारण गर्न आउने ३० प्रतिशत दम्पती वैदेशिक रोजगारीमा गएका नै छन् । वैदेशिक रोजगार विभागका अनुसार नेपालका करिब ४० लाख वयस्क युवा वैदेशिक रोजगारीमा छन् । 

डा. श्रेष्ठ कार्यरत काठमाडौँ फर्टिलिटी सेन्टरमा प्राकृतिक रूपले गर्भधारण गर्न सक्षम धैरै जोडी आइयूआई वा आइभीएफ गराउन आउने गरेका छन् । डा. श्रेष्ठका अनुसार यसो हुनुको कारण बिहेलगत्तै उनीहरूमध्ये एक वा दुवै वैदेशिक रोजगारीमा जानु, छुट्टीमा आएका बेला पनि राम्रोसँगसँगै बस्‍न नपाउनु र गर्भधारणका लागि अनुकूल समय नमिल्नु आदि छन् । 

‘श्रीमान्‌ दुई महिनाको बिदामा घर आउँदा परिवारबाट बच्चा पाउने दबाब बढ्छ,’ डा. श्रेष्ठ भन्छिन्, ‘तर त्यो समय कहिले श्रीमतीको डिम्ब निस्किने बेला भएको हुँदैन, कहिले स्ट्रेसले बच्चा बस्दैन । श्रीमान्‌-श्रीमती दुवैमा खराबी नभए पनि उनीहरूले निकै दुःख, पीडा र भनाइ सहनुपर्छ ।’ 

होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिकी प्रजनन स्वास्थ्य विशेषज्ञ डा. स्वस्ती शर्माकहाँ पनि विदेश जाने युवाहरू धेरैले शुक्रकीट सञ्चय गरेका र तिनका श्रीमतीले उपचार गराइरहेका छन् । उनी भन्छिन्,‘पहिले-पहिले बच्चा पाउन शारीरिक सम्पर्क हुनैपर्थ्यो तर अब श्रीमान्‌-श्रीमती साथै हुनुपर्छ, शारीरिक सम्बन्ध नै राख्‍नुपर्छ भन्‍ने छैन ।’ 

रोजगारीको सिलसिलामा फरक-फरक देश गएका दम्पती पनि डा. शर्माकहाँँ आउँछन् र श्रीमान्‌ले शुक्रकीट तथा श्रीमतीले डिम्ब छाडेर जान्छन् । त्यसबाट उनको टिमले भ्रुण तयार पार्छ र श्रीमतीले अनुकूल समयमा नेपाल आएको बेला भ्रूण लिएर बच्चा पाउँछिन् । अहिले उनीकहाँ पाँच वर्षअघि शुक्रकीट र डिम्ब जम्मा गराएर तीन वर्षअघि पहिलो बच्चा जन्माएको जोडी यसरी नै दोस्रो बच्चा पाउने योजना गरेर उपचार गराइरहेको छ । 

यसरी आफ्नै श्रीमान्‌‌को शुक्रकीटबाट बच्चा पाउँदा पनि महिलामाथि समाज र परिवारले शंकाको दृष्टिले हेर्ने गरेको छ । यो कुरामा सचेत डा. शर्मा सम्भव भएसम्म श्रीमान्‌सँग भिडियोमा लाइभ कुराकानी गराउँदै उपचार गर्छिन् । कतिलाई उपचार प्रक्रियाको भिडियो पनि पठाइदिन्छिन् । कोही महिला भने श्रीमान्‌ विदेशबाट आउने समय कुरेर मात्र उपचार अगाडि बढाउँछन् ।

निःसन्तान केन्द्रकी स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा.उमा श्रीवास्तवको पनि महिलाहरू आफूलाई सहज नभएसम्म सञ्चय गरेर राखेको शुक्रकीट प्रयोग नगरी श्रीमान्‌ कहिले आउँछन् भनेर कुरेर बस्‍ने गरेको अनुभव छ, । उनको टोलीले पनि उनीहरू जहिले चाहन्छन् त्यही समयमा आइयूआई वा आइभीएफ गरिदिने गरेको छ । ‘समाजमा उनीहरूलाई धेरै कुराको अप्ठ्यारो छ,’ डा. श्रीवास्तव भन्छिन्, ‘धेरैजसो महिला अरूले खोजिनिती गर्छन् भन्‍ने डरले श्रीमान्‌ आएकै बेला पार्छन् ।’

उनीकहाँ पछिल्लो समय कोरिया जाने कामदारका श्रीमतीहरू बढी आउने गरेका छन् । कोरिया गएपछि पाँच वर्षसम्म आउन नमिल्ने हुनाले जाने बेलामै पुरुषहरू शुक्रकीट जम्मा गर्छन् र जान्छन् । ‘प्रायः उच्च तापक्रममा काम गर्नेहरूको शुक्रकीटमा समस्या हुन्छ,’ उनी भन्छिन्, ‘यता श्रीमतीहरूले श्रीमान्‌ नआउन्जेल उपचार नगराउने र आएपछि त्यही शुक्रकीट प्रयोग गरेर बच्चा जन्माउने गर्दछन् ।’ 

प्रजनन विशेषज्ञ डा. आकृति भारती वैदशिक रोजगारमा गएर होटलको भान्छा, फलाम खानी, केमिकल फ्याक्ट्री जस्ता उच्च तापक्रम हुने ठाउँमा काम गर्ने युवाको शुक्रकीट उत्पादनमा कमी हुने बताउँछिन् । विदेशमा काम गर्न जाने कामदारको शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको पाइएको र कतार, साउदीजस्ता देशमा काम गर्ने युुवाहरूमा यो समस्या धेरै देखिएको उनको कथन छ । 

‘शुक्रकीट पुनरुत्पादन हुन दुईदेखि तीन महिना लाग्छ र यसैकारण दुई महिना बिदा लिएर आउने पुरुषहरूबाट बच्चा नहुन सक्छ,’ डा. भारती भन्छिन्, ‘बच्चाको प्लान गर्दा उनीहरूले या त कम्तीमा ६ महिनाको छुट्टी लिएर आउनुपर्छ या त शुक्रकीट पहिले नै जम्मा गराएको हुनुपर्छ ।’ 

वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ डा. तुम्ला शाहको सुखी परिवार क्लिनिकमा प्रत्येक दिनजसो महिलाहरू आमा बन्‍ने आस बोकेर आउँछन् । धेरैजसो श्रीमान्‌ विदेशबाट आउनेबित्तिकै उनलाई भेट्न आउँछन् र भन्छन्- हामीलाई जसरी भए पनि बाबुआमा बनाइदिनुपर्‍यो ।

कतिपय अवस्थामा महिला-पुरुष दुवै सामान्य भए पनि ‘स्ट्र स’का कारण बच्चा बसिरहेको हुँदैन । यसैले डा. शाहले उनको क्लिनिकमा ती दम्पतीका लागि ‘स्ट्रेस म्यानेजमेन्ट थेरापी’ पनि सुरु गरेकी छन् । ‘अहिलेको युगमा श्रीमान्‌ नभए पनि प्रविधि र डाक्टरको सहयोगबाट महिलाहरू गर्भवती बन्‍न सक्छन्,’ उनी भन्छिन्, ‘तर, समाजको संकुचित सोचका कारण कतिपयले यो जोखिम उठाउन चाहँदैनन् । धेरैमा स्‍ट्रेसको ठूलो भूमिका हुन्छ । यसैले सकेसम्म प्राकृतिक रूपमै होस् भनेर स्ट्रेस थेरापी सुरु गरेका हौँ ।’

वर्षौं सञ्चय गरेर राख्‍न सकिन्छ शुक्रकीट

प्रजनन विशेषज्ञ चिकित्सकहरूका अनुसार संकलित शुक्रकीटलाई केही घण्टादेखि १० वर्षसम्म सञ्चित गरेर राख्‍न सकिन्छ । विशेष अवस्थामा त वर्षौंवर्षसम्म पनि राखिन्छ । यस्तै प्रक्रियाबाट महिलाको डिम्ब र दम्पतीको शुक्रकीट तथा डिम्बबाट प्रयोगशालामा विकास गरिएको बच्चाको भ्रुणलाई पनि निश्चित समयसम्म सञ्चित गरेर राख्‍न सकिन्छ ।

आफ्नो अनुकूल समयमा बच्चा पाउने गरी शुक्रकीट, डिम्ब र भ्रुण सञ्चित गरेर राख्‍न त्यति सजिलो छैन । निःसन्तान उपचार केन्द्रहरूले यो प्रविधिबाट गर्भधारण गराउने उपचारको मात्र होइन, शुक्रकीट, डिम्ब र भ्रुण सञ्चयको पनि शुल्क लिन्छन् । यी वस्तुलाई सुरक्षित राख्‍न निश्चित तापक्रममा फ्रिज गर्नुपर्छ । होप फर्टिलिटीले शुक्रकीट र डिम्ब फ्रिज गर्न वर्षको रु.२० हजार र भ्रुण फ्रिज गर्न महिनाको ८ हजार रुपैयाँ लिन्छ । 

घर परिवारको ऋण तिर्न विदेशिएका युवाले यसरी सन्तान जन्माउन ठूलो धनराशि खर्च गर्नुपरेको डा. उमा श्रीवास्तवलाई कति पनि चित्त बुझेको छैन । ‘बाहिर गएर १०-१५ हजार रुपैयाँ बचाउन नसक्नेले पनि बच्चाकै लागि लाखौँ खर्च गर्नुपरेको छ,’ उनी भन्छिन्, ‘आफ्नै देशमा केही गर्ने वातावरण भइदिएको भए उनीहरूले न विदेशिनु पर्थ्यो न बच्चाका लागि यसरी मरिहत्ते गर्नुपर्थ्यो ।’

प्रजनन र यौन अधिकारको प्रश्न

वैदेशिक रोजगारीमा गएका श्रीमान्‌ले सञ्चय गरेर गएको शुक्रकीटबाट बच्चा पाउन महिलाले यहाँ निकै संघर्ष गर्नुपरेको छ । ‘उता मरीमरी कमाएको पैसाको ठूलो हिस्सा यता सन्तान उत्पादनको संघर्षमा खर्च भइरहेको छ,’ वैदेशिक रोजगारीका विषयमा कलम चलाउँदै आएका पत्रकार तथा ‘कहर : वैदेशिक रोजगारीले बिथोलिँदो समाज’ पुस्तकका लेखक जनक सापकोटा भन्छन्, ‘श्रीमान्‌ नभएको बेलामा गर्भधारण गरेकी महिलालाई कसैले प्राकृतिक रूपमा लिँदैनन् र ती महिला उल्टै समाजमा असुरक्षित हुन्छन् । यौन शोषणका घटनाका शिकार हुन्छन् । महिलाको प्रजनन र यौन अधिकारसँग समेत जोडिएको यो विषयलाई सरकारले गम्भीरतासाथ हेर्नुपर्छ ।’ 

वैदेशिक रोजगारमा गएका श्रीमान्‌‌को शुक्रकीट जम्मा गरेर कति महिलाले सन्तान जन्माउँछन्, यसको हिसाबकिताब सरकारसँग छैन । ‘सरकारको काम बैंकको खाता लिने, कति युवा विदेश जान्छन् र रेमिट्यान्स आउँछ भनेर हिसाब-किताब गर्ने मात्र भएको छ,’ सापकोटा भन्छन्, ‘कारागारभित्र भएका मानिसको प्रजनन र यौन अधिकारको विषयमा चर्चा हुन थालिसक्यो । तर, श्रम सम्झौता भएका देशमा गएकाहरूको प्रजनन र यौन अधिकारको विषयमा कतै चर्चा हुँदैन ।’ 

समाजशास्त्री डा. मीना उप्रेती पारिवारिक सम्बन्धको हकमा समाजले विज्ञान र प्रविधिलाई हत्तपत्त नस्वीकार्ने बताउँछिन् । उनका अनुसार यस्ता विषयमा समाजले सधैँ नचाहिने टीका-टिप्पणी गरिरहन्छ । दम्पतीको सम्बन्ध आफ्नो कारणले भन्दा पनि समाजको कारणले बिग्रिन्छ । यसले दम्पतीको सम्बन्धमा समस्या ल्याउने मात्र नभएर भोलिका दिनमा बच्चालाई पनि असर गर्छ । ‘पैसाले सबै कुरा समाधान हुने भए पनि सम्बन्धमा पहिलाजस्तो मिठास रहँदैन,’ उनी भन्छिन्, ‘बच्चा पाउन पनि पैसा पठाए भइहाल्ने रहेछ भन्‍ने पुरुषले ठान्छ र महिला बच्चा पाउने मेसिन बराबर हुन्छन् । बाबु र बच्चाबीचको सम्बन्धमा समेत मायामोह हुँदैन ।’ 

वैदेशिक रोजगारीलाई कम गराउनु यो समस्याको एक मात्र समाधान हो भन्‍नेमा जोड दिँदै समाजशास्त्री डा. उप्रेती भन्छिन्, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूलाई हामीले रोक्न सकेनौँ भने अगामी पुस्ताको अवस्था निकै विकराल बन्‍नेछ ।’

युवाशक्ति विदेशिँदा सामाजिक संरचना खलबलिन्छ

डा. भोला रिजाल
वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ 

सर्वप्रथम त आइयूआई र आइभीएफलाई कृत्रिम गर्भधारण भन्‍नु गलत हो, सबैले यो भ्रम हटाउनु जरुरी छ । यी दुवै ‘एसिस्टेन्ट रिप्रडक्टिभ टेक्नोलोजी’ (एआरटी) हुन् । यिनले गर्भधारण गर्न सहायता मात्रै गर्ने हुन् । 

प्रजननयोग्य उमेरका युवालाई बाहिर पठाउने राजनीति चलिरहेसम्म प्रजननसँग सम्बन्धित उनीहरूका समस्या रहिरहन्छन् र उनीहरूले सन्तानप्राप्तिका लागि ठूलो खर्च र अनेकन तनाव बेहोरिरहनु पर्दछ ।

म्यानपावरले युवालाई बाहिर पठाउन सकेन भने उनीहरूको लाइसेन्स खारेज गर्ने सरकार छ हामीकहाँ । रेमिट्यान्सको लोभमा उनीहरूलाई धकेलिएको छ, धपाइएको छ । यहाँका उद्योग, कल-कारखाना जालसाजी गरेर बन्द गरिएको छ । यसकारण मासिक रु.२० हजार कमाउन पनि युवाहरू विदेशिनु परेको छ । त्यही पैसाबाट पनि बचाएर सन्तान बनाउन खर्च गर्नुपर्छ । 

यसरी नै युवा शक्ति विदेशिने हो भने हाम्रो सामाजिक संरचना खल्बलिन धेरै समय लाग्दैन । बिहे गरेकै महिना श्रीमान्‌ ‘४० कटेसि रमाउँला’ भन्दै विदेश जान्छन् । बाँझोपनको अध्याय त्यहीँबाट सुरु हुन्छ । खराबी उता पुरुषमा भए पनि यता महिलालाई विभिन्‍न लाञ्छना लाग्छ । वैज्ञानिक विधिबाट बच्चा पाउन खोज्दा ‘कसको पेट बोकी’ भन्‍नेजस्ता धेरै कुरा सहनुपर्छ । हाम्रो सामाजिक संरचनाले यो स्वीकार गर्दैन । 

परिवार र समाजले मान्यता दिने हो भने जीवनभरि बच्चाको पीडा लिएर बाँच्नुभन्दा आवश्यकता अनुसार वीर्यको प्रयोग गरेर गर्भधारण गर्नु राम्रो उपाय हो । समाजमा यस्ता कुरा खुलस्त रूपमा आउनुपर्छ । यहाँ कसैलाई रगत चाहिँदा विदेशमा भएको मानिस कुरेर बसिँदैन । त्यस्तै कुनै महिलाले चाहेको बेला गर्भधारण गर्न श्रीमान्‌‌को वीर्य लिँदा केही हुँदैन । कि सरकारले दम्पतीलाई सँगै राख्‍ने उपाय गर्नुपर्‍यो, नत्र उनीहरूले लिएको वैकल्पिक उपचारमा पनि साथ दिनुपर्‍यो । उनीहरूले कमाएको पैसाबाट रेमिट्यान्स खानेले यो एउटा विकराल सामाजिक समस्या हो भनेर बुझ्नुपर्छ ।

प्रविधिको प्रयोगले विकाससँगै विकृति पनि निम्त्याउँछ

डा. गणेश गुरुङ
समाजशास्त्री, वैदेशिक रोजगारी विषयका अध्येता 

प्रविधिको विकास हाम्रो आवश्यकतासँग जोडिएको हुन्छ । आइभीएफ र आइयूआईको विकास पनि हाम्रै आवश्यकतासँग जोडिएर भएको हो । प्रविधिको प्रयोग मानव हितका लागि र जीवन सहज होस् भनेर गर्ने हो । तर त्यसको दुरूपयोग भइरहेको छ । 

प्रविधिको प्रयोगले विकाससँगै विकृति पनि निम्त्याउँछ । वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले बच्चा पाउँदा दम्पतीमा असमझदारी बढ्छ । विश्वास घट्छ । मामला डीएनए टेस्टसम्म पुग्छ । घर-झगडा र पारपाचुकेको दरमा वृद्धि आउँछ । 

अमेरिकी सरकारले जन्मदर र दुई सन्तानबीचको उमेर अन्तर बढाउन परिवार नियोजनका साधन नेपालमा ल्याएको थियो । बिस्तारै जन्मदर घट्दै र उमेर अन्तर बढ्दै जान थाल्यो । तर यो सब परिवार नियोजनका साधनले होइन, राहदानी नीतिले गरेको छ । 

नेपालमा पहिले राहदानी प्राप्त गर्न काठमाडौँ आएर परराष्ट्र मन्त्रालयमा आवेदन दिनुपर्थ्यो । पछि ७५ जिल्लाबाटै राहदानी दिन थालिएकोले विदेश जाने युवा बढे । त्यो अधिकांश प्रजननका लागि सक्रिय जनसंख्या थियो । एउटा पार्टनर विदेशमा भएपछि जन्मदर उसै घट्ने भयो ।

बच्चाकै लागि भनेर छुट्टी मिलाएर आउन नसक्दा दुई बच्चाबीचको उमेर अन्तर पनि बढ्यो । यो प्रचलन अझै पनि चल्दै गयो भने यसले जनसंख्याको बनोटमा नै समस्या ल्याउँछ । अध्ययनहरूका अनुसार पहिले एक जना नेपाली महिलाले ५.६ वटा बच्चा जन्माउँथिन् भने अहिले त्यो संख्या २.१ मा झरेको छ । तर अब वैज्ञानिक प्रविधिको प्रयोगले बच्चा पाउने चलन बढ्न थालेपछि जन्मदर पहिला जसरी नघट्न सक्छ । 

महिलाहरू श्रीमान्‌ कुर्दाकुर्दै बाँझोपनको शिकार भएका छन्

डा. सविना श्रेष्ठ प्रधान
वरिष्ठ प्रजनन एवम् आइभीएफ विशेषज्ञ 

आइभीएफ र आइयूआईप्रतिको धारणामा परिवर्तन आएको छ । पहिले धेरैमा ‘टेष्टट्यूब बेबी’ भन्‍नेबित्तिकै अर्काको शुक्रकीट हाल्ने हो कि भन्‍ने त्रास थियो । श्रीमान्‌कै शुक्रकीट हो भन्दा धेरैले पत्याउँदैनथे । तर पहिला उपचार केन्द्रहरूमा कसैलाई नभनी लुकिछिपी आउँथे भने अहिले खुलेर आउन थालेका छन् । पहिला समस्या जटिल भएपछि मात्रै आउँथे भने अहिले एक-दुई पटक कोेशिश गरेर नहुनेबित्तिकै आइहाल्छन् । 

श्रीमान्‌ नभए पनि बच्चा पाउन मिल्छ भनेर अहिले धेरैजसो महिला उपत्यकाबाहिरबाट आउँछन् । विदेशमै भएका युवामा पनि एकअर्काबाट प्रविधिबारे थाहा हुने भएकाले नेपाल आएका बेला उपचार गर्न आउँछन् । केही समय अगाडिसम्म श्रीमान्‌ नभएको बेला कसरी गर्भवती भई भनेर महिलालाई गाउँलेहरूको टोली आएर केरकार गर्ने गर्दथे । उनीहरूलाई सम्झाउन-बुझाउन निकै सकस पर्थ्यो । अहिले त केही महिला आफ्नै सासू वा परिवारका सदस्य लिएर उपचारका लागि आउन थालेका छन् । 

गाउँगाउँसम्म यस्तो उपचार हुन्छ भन्‍ने थाहा भइसक्यो । सोसल मिडिया हेरेर उनीहरू हामीलाई सिकाउँछन् । मलाई यो तरिकाले गर्नुपर्‍यो । यो प्रोसेस गरिदिनुुस् भन्दै आउँछन् । पहिला यो विधि अपनाउनुस् भनेर काउन्सिलिङ गर्नुपर्थ्यो, बुझाउन घण्टौँ लाग्थो । अहिले सोझै म यो विधिबाट बच्चा पाउँछु भनेर आउँछन् । 

प्रजनन क्षमता भएका पुरुषहरू विदेशिँदा महिलाहरूले निकै दुःख पाइरहेका छन् । उनीहरूको अवस्था सामान्य हुन्छ, आइयूआई गर्नुपर्ने अवस्था हुँदैन । तर पनि समाजले निःसन्तानको ट्याग झुण्ड्याइदिन्छ । बच्चाकै लागि दूरदराजदेखि उनीहरू दुःख गरेर, पैसाको जोडजाड गरेर श्रीमान्‌‌को शुक्रकीट फ्रिज गर्न लगाएर उपचार गर्न आउँछन् । काठमाडौँमा होटलमा बस्छन् । धेरै दुःख भोग्छन् । कतिपय अवस्थामा श्रीमान्‌ले छाडेको शुक्रकीट कमजोर भएर बच्चा हुँदैन । केही महिला त धेरै वर्ष श्रीमान्‌लाई कुर्दाकुर्दै बाँझोपनको शिकार भएका छन् । 

के हो सहायक प्रजनन प्रविधि ?

इन्ट्रा युटेराइन इन्सेमिनेसन (आइयूआई)

यो प्रविधिमा महिनावारी भएको दोस्रो दिनबाट डिम्ब बन्‍ने औषधि दिइन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । नौ दिनपछि डिम्बको गतिविधि हेरिन्छ । महिनावारी भएको १४-१५ दिनमा डिम्ब फुटेपछि श्रीमान्‌‌को शुक्रकीट संकलन गरी आइभीएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ । आइयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भए पनि खुलेको हुनुपर्छ ।

निःसन्तान दम्पतीको उपचारमा संलग्न चिकित्सकहरू सुरुमा ३५ वर्षभन्दा कम उमेरकालाई ६ पटक र ३५ वर्ष कटेकालाई तीन पटकसम्म आइयूआई प्रविधि प्रयोग गर्न सल्लाह दिन्छन् । उनीहरूका अनुसार यति गर्दा पनि सफलता नमिलेका, पाठेघरका दुवै नली बन्द भएका र बाँझोपनको अरू कुनै कारण पत्ता नलागेकाहरू आइभीएफमा जानु उपयुक्त हुन्छ । 

इन-भिट्रो फर्टिलाइजेसन (आइभीएफ) 

कुनै कारणले महिलाको डिम्बाशयमा डिम्ब बन्दैन र पाठेघरको गर्भनलीमा पुग्दैन । कहिलेकाहीँ नली बन्द भएर शुक्रकीट र डिम्बको संयोजन हुन पाउँदैन । यसरी पाठेघरमा बच्चा बन्‍ने प्रक्रिया सम्पन्‍न हुन नसकेमा ‘इन-भिट्रो फर्टिलाइजेसन’ (आइभीएफ) विधि प्रयोग गरिन्छ । बच्चा बन्‍ने यो प्रक्रियालाई शरीर बाहिर ल्याबमा सम्पन्‍न गरिने हुनाले यसलाई इन-भिट्रो फर्टिलाइजेसन (आइभीएफ) भनिएको हो । सामान्य भाषामा यसलाई ‘टेस्टट्यूब बेबी’ पनि भनिन्छ । 

यो प्रविधिमा डिम्ब र शुक्रकीट झिकेर तीनदेखि पाँच दिनसम्म एउटा उपकरणमा राखिन्छ । त्यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा हालिन्छ । भ्रुण हालेको ८ देखि १० हप्ता पुगेपछि उपचार सफल भएमा महिला गर्भवती हुन्छिन् । तर, यो उपचार एकैचोटि सफल नहुन र पटक-पटक गर्नुपर्ने हुनसक्छ । (यो सामग्री ‘जर्नालिस्ट इन ट्रान्जिसन २०२०’ कार्यक्रमअन्तर्गत तयार पारिएको हो ।) (गोपनीयतालाई ध्यानमा राखेर पात्रहरूको नाम परिवर्तन गरिएको छ ।)



Author

सृजना खड्का

स्वास्थ्य तथा सुरक्षा मामिलामा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार