समाज

सुनको जलहरीमा अनियमितता भएको आशंका, पशुपति क्षेत्र विकास कोषलाई अख्तियारको पत्र

सुनीता साखकर्मी |
असार २५, २०७८ शुक्रवार १३:५९ बजे

काठमाडौँ : पशुपतिनाथको गर्भगृहस्थित शिवलिंगमा राखिएको सुनको जलहरीमा अनियमितता भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाएको छ । 

कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार अख्तियारले पत्रमा सुन खरिद प्रक्रियाको बारेमा विवरण मागेको छ ।  ‘अख्तियारले पत्र पठाएको विषय सही हो,’ इकागजसँग उनले भने, ‘अख्तियारले सुन खरिद गर्दा बेलाका मुचुल्कालगायतका कागजपत्र मागेको छ । हामी त्यो जुटाएर पेश गर्ने तयारीमा छौँ । यो ठूलो विषय होइन, सामान्य हो ।’


त्यतिबेला १०८ किलोको सुनको जलहरी राख्न ८० करोड रुपैँया खर्च भएको पनि कोषका सदस्य सचिव डा. ढकालले बताए । उनका अनुसार प्रधानमन्त्रीको घोषणा अनुरुप ३० करोड र कोषको ५० करोड गरी जम्मा ८० करोडमा राष्ट्र बैंकबाट सुन खरीद गरिएको थियो ।
  
कोषलाई पत्र पठाएको वा नपठाएको बारे भने अख्तियारले सञ्चारमाध्यममा जानकारी दिन नमिल्ने अख्तियारका सहप्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जनाए । उनले भने, ‘आयोगले कोषलाई पत्र पठाए वा नपठाएको र के कस्ता विषयमा अनुसन्धान भइरहेको छ भनी हामीले भन्न मिल्दैन । यसले अनुसन्धान प्रभावित हुने खतरा हुन्छ ।’ 
 
अख्तियारले पत्र पठाएको खबरसँगै पशुपतिको गर्भगृहमा राखिएको सुनको जलहरी समेत च्यातिएको विषय बाहिर आएको छ । सुनको जलहरी च्यातिएको विषय भने  झुठो भएको उनको दावी छ । उनले भने, ‘सुनको जलहरी च्यातिएको खबर झुठो हो । त्यसमा केही किला ठोक्न मात्रै बाँकी छ । अरु केही भएको छैन ।’ 

पशुपतिको रेखदेख गर्ने मुख्य जिम्मेवारी पाएका भण्डारीहरूमध्येका एक हरिशरण राजभण्डारीले पनि पशुपतिको सुनको जलहरी नच्यातिएको बताए । उनले भने, ‘सुनको जलहरीको पिस पिस जोडिएको छ । त्यो अझै पुरा जोडिएको छैन । त्यसैले च्यातिएको जस्तो लागेको हुन सक्छ । तर यो च्यातिएको छैन ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपतिमा दर्शन गर्दै शिव लिंगवरिपरि पानी झर्ने ठाउँमा राखिएको चाँदीको जलहरी हटाई सुनको जलहरी राख्न तत्काल ३० करोड रूपैँया दिने घोषणा गरेका थिए ।

सोही अनुरुप २०७७ फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको हो । राष्ट्रपति भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको हो ।


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x