समाज

कोभिड-कालमा गरिखाने वर्ग

गीतालाई दुःख छ, दुःखका दर्जनौँ कारण छन्

पूजा बस्‍नेत |
असार २६, २०७८ ७:९ बजे

गीता १४ वर्षकै उमेरमा ‘बेचिइन्’ । १९ वर्षमा दुई सन्तानकी आमा हुनु केहीअघि नै उनी ‘विधवा’ भइन् । दुःखै दुःखको शृंखलामा अनि थपिए उनै पीडाका पहाडै पहाड । उनी लान्छनाका लहरामा जेलिइन् । राजधानी काठमाडौँमा जीवन बाँच्‍ने र दुई सन्तानलाई हुर्काउने-पढाउने संघर्षमा हेलिएकी उनी कोभिड-काल कसरी ‘काल’ हो, चोट-व्यथा कहने एक पात्र हुन् :

रातभर परेको दर्के झरीले आँगनमा उड्ने धुलो हिलो बनेको थियो । ओभाउनै लागेको भित्ताबाट कमिला हतारिँदै ओहोरदोहोर गरिरहेका थिए । सायद सन्तानका लागि पेट भर्न आतुर थिए । अनि फेरि छेउमै गीत बज्दै थियो, ‘तिम्रै मायाले मलाई हाँस्न सिकायो...। छोरी रोशनी त्यही गीतको लय समाउँदै कम्मर हल्लाइरहेकी थिइन् । छोरा रोशन एउटा कुनो समाएर भित्तेचित्र बनाउन औँला घुमाइरहेका थिए । 


ढोकामा अडेस लाएर २७ वर्षे गीता सिलवाल भने कमिला र छोराछोरी दुवैका क्रियाकलाप एकैपटक नियालिरहेकी थिइन् । गीताका आँखा कहिले सात वर्षे छोरीले जबर्जस्ती मर्काउन खोजेको कम्मरमा अडिन्थे त कहिले कमिलाले ताँती बनाएर ‘चारो’ जम्मा गर्न गरेको दौडधुपमा । 

कमिलामा गडेका आँखा उचाल्दै उनले इकागजसँग दुःखका पत्र उप्काउन कुराकानी सुरु गरिन्, ‘म कमिला भइदिएको भए सायद मलाई पनि सहयोग गर्ने साथी त हुँदा हुन् । यो बिरानु सहरमा एक वचन मीठो बोलिदिने कमिलाका जति साथी पनि आफूसँग छैनन् ।’ 

समाजका लागि गीता ‘विधवा’ हुन् । अहिले फेरिएको भाकामा, ‘एकल महिला’ । शब्द र सम्बोधन त फेरियो, तर दुःख फेरिएको छैन उनको । ‘मलाई सित्तैमा दुःखको धागो फुकाउनु छैन,’ उनी सुनाउँछिन्, ‘कसैले पढे भने पनि क्षणभरमै मेरो पीडा बिर्सिदिनेछन् । समाज हामी दुःखी-गरिबलाई सहानुभूति दिएर आफू चर्चा कमाउनेबाहेक अरु केही जान्दैन, मैले राम्ररी बुझेकी छु ।’      

दुःखको पहाडै पहाड उक्लेर गीता दुई वर्षअघि काठमाडौँ पसेकी थिइन्,  छोराछोरीको भविष्यको चिन्ता लिएर । तर आउन नपाई लकडाउन भयो । गीताले दिक्क मान्दै दिक्दारीको पोको फुकाइन्, ‘२७ वर्षसम्म जिन्दगीको युद्ध लड्दालड्दै थाकिसकेकी मलाई, कोरोनाले झनै थला पार्यो । तर जब छोराछोरीको मुख देख्छु थाक्न पनि सक्दिनँ ।’  

उनलाई काम गर्ने इच्छा छ । तर, लकडाउनले भनेजस्तो काम पाएकी छैनन् ।  अफिसमा काम गर्न, पुग्दो पढाइ छैन । घरको काम गर्थिन्, त्यो पनि कोरोना बोकेर आउँछे भनेर मालिकले कामबाट निकालिदिए । यसो भनिरहँदा उनले संस्थाले राहत स्वरूप दिएको चामलको बोरा र पाँच किलो दाल पनि रित्तिसकेको खाली डब्बा देखाइन् ।   

असार ३ बाट विद्यालय भर्ना खुलिसक्यो । छोराछोरीलाई सरकारी स्कुलमा भर्ना गर्नुपर्ने । यसका लागि पनि पैसा भएन गीतासँग । स्कुल लिएर त गएकी थिइन् तर पैसा नभएको गथासो सुनाएपछि हेडसरले जहिले पैसा हुन्छ, त्यही बेला भर्ना गर्न ल्याउनु भनेर फर्काइदिन लागेका थिए । तर, स्कुलका मिसले गीताका दुःख थाहा पाएर रोशनी-रोशनको भविष्य थामिदिए । 

‘मनकारी मिसहरूले ३२ सय जम्मा गरेर भर्ना शुल्क तिरिदिए । थाप्लोमा अर्को पनि ऋण थपियो,’ गीता चिन्तित हुन्छिन्, ‘अब पैसा जम्मा गरुन्जेलसम्म अनलाइन कक्षा सुरु भइसक्ला भन्‍ने पिर छ ।’ चिन्तै चिन्ताले बनेको उनको जिन्दगीमा यो अनलाइन कक्षाले अर्को चिन्ता थपिदिएको छ । अनलाइन पढ्न मोबाइल वा ल्यापटप चाहियो । अनि इन्टरनेट पनि । ‘जस्ताको टहरामा छोराछोरी च्यापेर उकुसमुकुस भएर बसेको बेला कहाँबाट नयाँ मोबाइल र नेट जोड्नु ?’ चिन्ताले गलाएको आवाजमा गीताले सुनिइन् ।  

सानैदेखि आफूले सुख नपाए पनि छोराछोरीलाई सारा खुसी दिएर पढाउने रहर छ उनको । ‘तर मेरो रहर यसै बिलाउँछ जस्तो छ,’ उनी भन्छिन्, ‘पानी पर्दा टहराको जस्ता परररर बज्छ, घाम चर्कंदा खप्नै नसक्ने गर्मी हुन्छ । जाडोमा पनि सुतेकै ठाउँमा तपतप शीत चुहिन्छ ।’  

भोकमरीबाट मर्ने कि भाइरसबाट बच्‍ने, गरिबका लागि पहिलो विकल्प आइलागेको भने सत्य हो ।

गीताले यही कोठाको भाडा नतिरेको पनि चार महिना भइसकेको छ । महिनाको ३५ सय कोठा भाडा छ । ‘बाहिरफेर निक्लिँदा अर्को घरमा बसेकी घरबेटी पुलुक्क हेर्छिन् । आँखा जुधेपछि भाडा माग्‍नु होला कि भनेर सकभर आँखा बाटोमै जोतेर निस्कन्छु,’ उनले भनिन् ।

कोरोना छ भन्‍ने विश्वास लाग्दैन उनलाई । किनकि उनले कोही गरिब कोरोना लाग्यो भन्दै आइसोलेसनमा बसेको देखेकी छैनन् । बरु गरिबहरू भोकले तड्पिएको देखेकी छन् । एक हिसाबले गरिब सधैँ आइसोलेसनमै छन् । उनलाई लाग्छ- धनीलाई जोगाउन सरकारले गरिबलाई भोको राखेको छ । भन्छिन्, ‘हामीजस्ता हुँदा खानेलाई कोरोना न सोरोना । हुनेखानेलाई मात्रै हो कोरोना ।’

जो कोरोना लाग्छ भनेर बढी सावधानी अपनाउँछ, उसलाई नै कोरोनाले ग्रस्त पारेको उनले देखेकी छिन् । उनलाई लाग्छ, ‘हुनेखानेहरूको सुरक्षाका निम्ति लकडाउन लगाइएको हो, जसको मारमा गरिब परे ।’ गीताले यसो भने पनि भाइरसबाट बच्‍न भने जरुरी नै छ । भोकमरीबाट मर्ने कि भाइरसबाट बच्‍ने, गरिबका लागि पहिलो विकल्प आइलागेको भने सत्य हो । 

गीतालाई सरकारसँग अरु कुनै आश्वासन चाहिएको छैन । सरकारसँग एउटै अनुरोध छ, देशमा चलिरहेको खराब समय सक्काइयोस् र स्थिति सामान्य होस् । ताकि उनीजस्तै गरिबका छोराछोरी अनलाइन हैन स्कुल नै गएर पढ्न सकून् । 

आधा जिन्दगी बाँकी रहेको बताउने रूपाका आफ्ना कुनै सपना छैनन् । जे छन् छोराछोरीको आँखाबाट देखेकी छिन् । कहीँकतै छोराछोरीले आफ्नो सपना पूरा गरिदिन्छन् कि भन्‍ने आशले जीवन चलाएकी छिन् । छोरीलाई खुट्टा दुख्‍ने बिरामी छ । तर ठूलो अस्पतालसम्म जाँच गराइहाल्न सकेकी छैनन् । ‘केही ठूलो रोग देखाइहाल्यो भने उपचार गर्ने खर्च नपुग्ला भन्‍ने डर लाग्छ,’ ‘छोरीलाई दुख्ला कि भन्‍ने पिर पनि लाग्छ,’ मायामिश्रित उनको चिन्ता छ । 

गीताको माइती जुम्ला हो । आमा बितेपछि बुवाले अर्की आमा अर्थात् सौतेनी आमा ल्याउनुभयो । सौतिनी आमालाई समाजले अनि शिशिर र वसन्तको कथाले जसरी चित्रण गरेको छ, गीता मनोवैज्ञानिक रूपमा त्यही त्रासमा थिइन्, व्यवहार पनि यस्तै भयो । गीता १४ वर्ष पुगेपछि सौतेनी आमाले मुगूका एक पुरुषसँग गीतालाई बेचिन् । त्यहाँ यस्तो ‘बेचबिखन’लाई विवाहको लेपसमेत लगाइन्छ । अनि गीता लागिन्, १४ वर्षकै कलिलो उमेरमा रारातिर । रारा नेपालकै ठूलो ताल मात्र होइन, गीताहरूका निर्दोष आँसुको अंश पनि हो । 

अब उनको घर मुगूको रारा नगरपालिका भयो । ‘श्रीमान्‌ले मलाई किनेका थिए,  म एक निर्जीव वस्तु जस्तै थिएँ । घरि कपाल लुछे । घरी लात्तीले हाने । तर पनि चुपचाप सहेँ,’ उनी विगतमा पुगिन्, ‘त्यतिले मात्रै नपुगेर सासू र नन्दले दुई जिउकी हुँदासमेत घाँसका भारी र पानी बोकाउन छोडेनन् ।

गाउँघरमा महिलाहरू यसरी नै पिल्सिने गरेको उनले देखेकी छिन् । उनीहरूको न केही सम्मान हुन्छ, न केही इज्जत । उनी भन्छिन्, ‘काठमाडौँको खाल्डोमा बसेर नेपाली समाज कस्तो छ भनेर बुझिँदैन । समाजमा महिलामाथि हुने वास्तविक हिंसा बुझ्‍न जुम्ला जानुपर्छ, मुगू जानुपर्छ ।’  

दुःखको शृंखलामा गीता १९ वर्ष पुग्दा अर्को अंक थपियो । यही वर्ष उनले श्रीमान् गुमाइन् । उनका श्रीमान्लाई खोलाले बगाएको पत्याउन नसकी नसकी पत्याइन् । देख्नेले उनलाई सुनाए, ‘टन्‍न रक्सी खाएर पुल नतरी खोलाबाटै पारि पुग्‍न खोजेका थिए । खोलालाई जित्न सकेनन् ।’ 

श्रीमान् भए नभएको एउटै थियो, उनलाई । एउटै फाइदा थियो, समाजका लागि उनी विधवा थिइनन् । उनका छोराछोरी टुहुरा कहिन्थेनन् । तर जिउँदो हुँदा नपाएको सुख मरेर जाँदा पनि पाइनन् । गीताले नै श्रीमान्को हत्या गरेको भनेर सासू आमाजुले गाउँभरि हल्ला पिटेको घिनलाग्दो विगतले अहिले पनि गीतालाई झस्काउँछ । गाउँलेले पनि लख काटे, ‘गीताले दुःखबाट मुक्त हुन आफ्नै सिउँदो उजाडिन् ।’ गीतालाई मुगूमा बसिसक्नु भएन । माइतमा पनि सहारा नपाएपछि गीता जुम्ला हुँदै सुर्खेत झरिन् । 

गीतालाई लाग्छ- धनीलाई जोगाउन सरकारले गरिबलाई भोको राखेको छ ।

सुर्खेतमै छोराछोरीलाई होस्टेल राखिन् । अनि कलिलो उमेरसँगै आश बोकेर हानिइन् काठमाडौँ । दसतिर हन्डर खाएर दोहोरी साँझमा काम गर्न थालिन् । दोहोरी साँझमा उनले गीत गाउँथिन् । तर, यहाँ काम गर्नुका पनि दुःख कम्ती थिएनन् । राति घर आउँदा घरबेटीले ‘वेश्या’ भन्‍ने । उता दोहोरी साँझमा उनको शरीरसँग दोहोरी खेल्न खोज्‍ने पनि उस्तै । त्योभन्दा सकस भयो, उनलाई छोराछोरीलाई जवाफ दिन । 

गीता दोहोरी जाने बेला छोराछोरी सुताएर जान्थिन् । धेरै समयसम्म त छोराछोरीले चाल पाएनन् । तर केही दिनपछि सोध्‍न थाले, ‘ममी सधैँ रातिराति कहाँ जानुभएको ?’ त्यो दिन गीताले राम्ररी जवाफ दिन सकिनन् । ‘विधवा महिला त्यसमाथि राति घरबाट निस्किने समाजका अगाडि त म अपराधी भइसकेको छु । तर जसका लागि आधा रातसम्म काम गर्छु, उनैका नजरमा पनि अपराधी भएँ भने कसका लागि बाँच्‍नु ?’ गीताको चिन्ता छ ।  

मुगू, जुम्लाका अनपढ अनि सहर र काठमाडौँको पढेलेखेका मान्छे एउटै लाग्छ उनलाई । ‘बस् यति फरक हो, त्यहाँ असभ्य ढंगले हेपिन्छ, यहाँ सभ्य ढंगले । पढेलेखेका मान्छेले हेप्ने तरिका पनि छुट्टै हुने रहेछ,’ उनले देखेको ब्रह्मज्ञानले भन्छ ।  

झट्ट हेर्दा लाग्छ, नेपाली समाजकी खुला किताब हुन्, गीता । गीता जस्ता महिला देशको हरेक चोक र गल्लीमा भेटिन्छन् । तर, गीता आफैँ भने दुःख सुनाएर सहानुभूति लिने कुरामा विश्वास गर्दिनन् । जुम्लादेखि मुगू-सुर्खेत हुँदै काठमाडौँको चप्पल कारखानाको गुफाजस्तै कोठासम्म गुम्सिएका कथाहरू सित्तैमा अरुलाई नसुनाउने वाचा छ उनको । किनकि आफ्नो कथा सुन्‍ने कसैलाई फुर्सद छ भन्‍ने नै लाग्दैन उनलाई । ‘कथै कथा थुप्रिएको यो राजधानीमा मेरो यो दुःखका गाथा के बिक्थ्यो होला ! हैन बैनी ?’ उनले हलुका हुँदै भनिन् ।



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
ad
x