समाज

अन्तरजातीय विवाह प्रकरण

‘सामाजिक सञ्जालमा भाइरल हुनुभन्दा प्रहरीमा आउनुपर्थ्यो’

कैलालीका एसपी अधिकारी भन्छन्, 'प्रकाश र मालती सुरक्षित छन्'

विष्णु विश्‍वकर्मा |
असार २६, २०७८ शनिबार २२:४ बजे

काठमाडौँ : अन्तरजातीय विवाह गरेर २१ दिनसम्म लुकेर बस्न बाध्य भजनीका प्रकाश विश्वकर्मा र अम्रावतीकी मालती रावललाई प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीेले  जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले अन्तरजातीय विवाह गरेपछि असुरक्षित भएपछि घरबाट भागेका उनीहरु दुवै प्रहरीको सम्पर्कमा आएपछि सुरक्षित रहेको बताएका हुन् ।

उनले भिडियोमा भनेजस्तो आतंकित हुनुपर्ने, डराउनुपर्ने र युवतीका आफन्तले युवक तथा परिवारमाथि आक्रमण गर्ने कुनै खतरा नरहेको पनि स्पष्ट पारेका छन् । 


‘यो समस्या सुरुमै प्रहरीमा आउनुपथ्र्यो’ एसपी अधिकारीले इकागजसँग टेलिफोनमा भने, ‘भिडियो सार्वजनिक गरेपछि भाइरल भयो । तर अन्ततः प्रहरीमै आउनुपर्यो । अहिले उनीहरु दुवै सुरक्षित छन् । आत्तिनु पर्दैन ।’

एसपी अधिकारीका अनुसार अन्तरजातीय बिहे गरेपनि उमेर नपुगेका कारण त्यो आफन्तका लागि स्वीकार्य नहुनु स्वभाविक हो । यसमा प्रहरीले पनि कुनै कदम चाल्न नसक्ने उनी बताउँछन् । तर २१ दिनसम्म युवायुवती जंगलमा बसेको कुरा उनी अस्वीकार गर्छन ।

‘प्रहरीसँग दुवैले जंगलमा नभई बुटवलमा गएर बसेको बताएका छन् । विवाह गरेलगत्तै उनीहरु कैलालीबाट बुटवल गएको देखिन्छ’ उनले भने, ‘तर मिडियामा जंगलमा लुकेर बसेको कुरा आयो । जुन गलत हो ।’

अन्तरजातीय विवाह गरेपछि डर त्रास हुनु र लुक्नु बाध्यता बनेपनि प्रहरीमा नआउनु युवायुवतीको गल्ती भएको एसपी अधिकारी बताउँछन् । प्रहरीले युवा र युवती तथा उनीहरुको घरपरिवारसँग कुरा गरेर आवश्यक सुरक्षा दिइरहेको उनले बताए । र, अहिलेसम्म युवतीका आफन्तले युवक र उनको परिवारमाथि आक्रमण गर्ने कुरा कल्पनाभन्दा बाहिर रहेको पनि उनले बताए । 

‘उनीहरु प्रहरीको सम्पर्कमा छन् । युवकमाथि युवतीका आफन्तले आक्रमण गर्ने कुरा कल्पना नगरौँ । यदि यति भन्दाभन्दै पनि आक्रमण गर्ने प्रयास भए प्रहरीले तत्कालै पक्राउ गरेर कडा कारबाही गर्छ’ एसपी अधिकारीले भने । 

साथै एसपी अधिकारीले केटाकेटीले आपसी मन्जुरीमा विवाह गरेको देखिएको पनि बताए । तर उमेर नपुगेका कारण युवतीलाई आफन्तले लगेर गएको उनको भनाइ छ । दलित युवकसँग विवाह गरेकै झोकमा युवकको परिवारमाथि आक्रमण गर्ने कुरा नसोच्न पनि उनले चेतावनी दिए ।

‘उमेर नपुगी विहे गर्नु कानुन विपरित हो । यस्तो अवस्थामा प्रहरीले केही गर्न सक्दैन’ उनले भने, ‘तर जात नमिलेका कारण धम्की दिने, तर्साउने, थर्काउने गतिविधि गर्न पाइँदैन । यदि त्यसो गरिएको पाइए, उजुरी आए, अनुसन्धान हुन्छ । प्रहरीले कारबाही पनि गर्छ ।’

जातीय विभेदको उजुरी दर्ता नभएको विषयमा जिज्ञासा राख्दा उनले यसबारेमा आफूलाई अहिलेसम्म जानकारी नभएको बताए । 

‘उनीहरुको उमेर नपुगेका कारण गरेको विवाह टिक्न सकेन । आफन्तले युवती लगेर जानु स्वभाविक हो’ उनले भने, ‘यदि यस्तोमा जातीय विभेद भएको हो । त्यस्तो उजुरी आउँछ भने प्रहरीले अनुसन्धान अगाडि बढाउँछ ।’

युवकका आफन्त तथा दलित अभियान्ताले इलाका प्रहरी कार्यालय भजनीमा जातीय विभेदको उजुरी दर्ता गराउने प्रयास गरेपनि प्रहरीले नलिएको बताए । यसका लागि आइतबार फेरि प्रयास गर्ने र दर्ता नभए धनगढी पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउने युवकका आफन्तको तयारी छ ।

युवा युवतीले आपसी मन्जुरीमै विहे गरेपनि ज्यान मार्ने धम्की दिएको, जातीय गालीगलौज गरेको र रुकुम हत्याकान्ड जस्तै युवकको हत्या गर्ने धम्की दिएकोमा उजुरी दर्ता गराउने युवकका आफन्तको तयारी छ । 

र, यो पनि 

 
 


Author

थप समाचार
x