समाज

पञ्‍चायतमा बनेको सिंहदरबार अगाडिका रेलिङ गणतन्त्रमा पनि मर्मत भएनन्

'पार्क डिजाइन नगरे,रेलिङ मर्मत गर्छौ'

अतिन आचार्य |
असार २७, २०७८ आइतबार २१:१८ बजे

काठमाडौँ : शासकीय मूल थलो हो, 'सिंहदरबार' । स्वास्थ्य मन्त्रालयबाहेक सबै मन्त्रालय सिंहरदबारभित्र छन् । सिंहदरबारको मूल गेटबाट पश्चिमतर्फ सुनधारा-भद्रकाली सडक छ । भद्रकालीको त्यहीँ बाटो हुँदै प्रधानमन्त्री, मन्त्री, सरकारी निकायका मुख्य-मुख्य कर्मचारी दैनिक ओहोर-दोहोर गर्छन् ।

सिंहदरबार र सर्वोच्च अदालत अगाडिको बाटोमा भने विभिन्न रङ्गका इट्टा प्रयोग गरी फुटपाथलाई सुन्दर र आकर्षक बनाइएको छ । तर, सधैँ व्यस्त रहने मुख्य सडक आसपासका संरचना भने कमजोर  तथा कच्चा भइसक्दा पनि सरकारले ध्यान दिएका छैनन् । 


पञ्‍चायतमा बनेका रेलिङ गणतन्त्रमा छियाछिया मर्मत कसले गर्ने ? केन्द्र र स्थानीय सरकारको उदासीनताले सडक सौन्दर्यता गुम्दै गएको छ । २०३० सालमा रेलिङ बन्दा मुलुकमा पञ्‍चायती शासन थियो, तर मुलुकमा रेलिङ कच्चा बन्दा गणतन्त्र आइसकेको छ । व्यवस्था फेरियो संरचना बनेनन् । मुख्य प्रशासनिक भवन अगाडिको रेलिङ जीर्ण बनेर अस्थिपञ्‍जर (फलाम) देखिन थालेको छ । सडक सौन्दर्यकरणका लागि न केन्द्र सरकारको ध्यान पुगेको छ न त स्थानीय सरकारको नै ।

विदेशी पाहुना आउँदा ओहोर-दोहोर गर्ने बाटो देशकै मुख्य प्रशासनिक कार्यालय, संघीय राजधानी र  काठमाडौँ महानगरपालिकाको कार्यालयदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको सडकले सौन्दर्यता गुमाएको छ । तर त्यहीँ सडकको दायाँबायाँ रेलिङ् छन् । रङ्ग उडिसकेका छन् । केही रेलिङ भत्केर भित्री भागको फलामे डण्डीसमेत देखिन थालेका छन् ।  

पञ्चायतकालीन समयमा निर्माण भएको विकासका पूर्वाधारहरूलाई गणतन्त्रले बेवास्ता गरेको जस्तो देखिएको भनी पूर्वसचिव शितलबाबु रेग्मीले ट्वीटरमा टिप्पणी गरेका छन् । ५० वर्ष अघि बनेको संरचना राम्रो भएकाले पुनःनिर्माण गर्नलाई सुझाव दिएका छन् । उनले पंचायतले बनाएको हो भनेर बेवास्ता नगरेको पक्कै होइन होला  भन्दै आक्रोशसमेत पोखेका छन् ।

'सिंहदरवार अगाडीको सडकको दायाँबायाँ भागमा रहेको रेलिङको यो अवस्था छ । असार मसान्तको जताततै चहलपहल हुँदा यता कसैले वास्ता गरेको देखिएन । पंचायतले बनाएको हो भनेर वास्ता नगरेको पक्कै होइन होला । ५० बर्ष अघि बनेको भद्रकाली सिंहदरवार पुल सतह राम्रै देखिए पनि संरचना जीर्ण भईसकेको छ । नयाँ बनाउने समय भईसकेको छ।'

 

'डिजाइन नबनाए मर्मत रेलिङको मर्मत'

सडक र सहरी सौन्दर्यतालाई ध्यानमा नराख्दा सडकको दायाँबायाँ भएका बोटविरूवा र संरचना कमजोर बन्दै गएका छन् । तर, काठमाडौँ महानगरपालिका भौतिक पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाकाअनुसार, सिंहदरबार भद्रकाली सडकखण्डलाई डिजाइन बनाएर काम गर्ने योजना छ । पार्कको डिजाइन गरी त्यसलाई मानिस बस्न र हिडन सक्ने बनाउने योजना छ ।

खाद्य संस्थानको भण्डार केन्द्र रहेकाले महानगरलाई व्यवस्थित तरिकाले निर्माण गर्न नसकेको थापाले इकागजलाई जानकारी दिए । 'डिजाइनअनुसार बनाउन नसकेमा बिग्रिएको रेलिङलाई मर्मत गरिन्छ,' थापाले भने,' २०३० सालमा निर्माण भएको थियो । समय-समयमा महानगरपालिकाले मर्मतमा ध्यान दिदै आएको थियो ।'

महानगरपालिकाभित्रका सडक तथा पार्क मर्मत सम्भारका लागि ६० करोड रुपैयाँ बजेट निर्धारण गरिएको थापाले बताए । उनी भन्छन्, 'सिंहदरबार भद्रकालीको मुख्य सडक खण्डको रेलिङ निर्माण पहिलो प्राथमिकतामा राखिनेछ ।'

'पुरानो संरचनाको मर्मत नगर्दा सौन्दर्यतामा कमी '

स्थानीय र केन्द्र सरकारले सहरी सौन्दर्यकरणमा ध्यान नदिदा सहर दिनानुदिन कुरुप बन्दै गएको गत विवेकशील साझा पार्टीका नेता तथा पूर्वसचिव किशोर थापा बताउँछन् । सडक र फुटपाथ निर्माणमा लागि स्थानीय तहले ध्यान नदिएकाले पनि संरचना निर्माण गर्न नसकेको उनले आरोप लगाए ।

'समय-समयमा आफ्नो क्षेत्रभित्र निर्माण भएका संरचनाको अनुगमन गरिनुपर्छ,' थापा भन्छन,' सरकारी कार्यालयले अगाडि सौन्दर्यका लागि ध्यान दिनुपर्छ । सडक सौन्दर्यमा सबैभन्दा महत्व राख्‍ने रेलिङ र बोटविरुवाले राख्‍ने गरेको छ ।'

सबैभन्दा पुरानो संरचनालाई समय-समयमा मर्मत सम्भार नगर्दा सडकको किनारामा रहेको रेलिङ बनाउन नसकेको थापाले आरोप लगाए । पुरानो व्यवस्थामा निर्माण भएको संरचनालाई नयाँ व्यवस्थाले अझ सुन्दर बनाउनुपर्ने उनको भनाइ छ ।

सडक विभागका प्रवक्ता प्रवक्ता शिवप्रसाद नेपाल चाहिँ कहाँ मर्मत गर्नुपर्ने हो त्यस विषयमा जानकारी नभएको बताउँछन् । हाम्रो कार्यक्षेत्र भित्र परेका सम्पूर्ण योजना बनाएको उनले दाबी गरे ।

काठमाडौँभित्रका सडक, सौन्दर्यकरण र मर्मतमा सडक डिभिजनले ध्यान दिनुपर्ने नेपालले बताए । 'कहाँ मर्मत गर्ने हो त्यो विषयमा डिभिजन कार्यालयसँग बुझ्छौ,' उनले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x