समाज

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार वादीलाई

इकागज |
असार २८, २०७८ सोमबार १६:५२ बजे

काठमाडौँ : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७७'  उमादेवी वादीलाई प्रदान गर्ने निर्णय भएको छ । 
हाल सुदुरपश्‍चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार/सामाजिक न्यायका लागि गरेको योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा  १ लाख १० हजार राशीको र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ ।
२०१८ साल फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रूपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । 


आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो । विपन्‍न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी  वादीलाई विश्व प्रसिद्ध सञ्चार माध्यम बीबीसीले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाको सूचीमा १० औँ स्थानमा राखेको थियो ।


Author

थप समाचार
x