समाज

सुन्दरताभित्रको कुरुपता

निर्माण सम्पन्‍न नहुँदा फोहोरको डम्पिङ बन्यो बागमती करिडोर

ब्युटीफिकेसनका लागि ४७९ घर बाधक

अतिन आचार्य |
असार २९, २०७८ मंगलबार ७:३४ बजे

काठमाडौँ : बागमती करिडोर सडकखण्ड निर्माणको काम करिब डेढ दशक अघिबाट सुरु भयो । 'छ' वर्षे कार्ययोजनासहितको करिडोर निर्माणको काम सुरु भए पनि अहिलेसम्म करिडोर निर्माण सम्पन्न हुन सकेको छैन । सुन्दरीजलेदेखि चोभारसम्म २४ किमी बागमती तीरमा सडक बन्यो तर राजधानी काठमाडौँकै मध्यभागमा रहेको मीनभवनको पुलदेखि माथिल्लो क्षेत्रको भागमा करिडोर निर्माण हुन सकेको छैन ।

मिनभवन पुलदेखि माथिल्लो भागमा रहेको बागमतीको किनाराको करिडोरमा सडक नबन्दा फोहोर फाल्ने डम्पीङ साइट जस्तै बनेको छ । सडक बन्‍ने ठाउँमा फोहोरको थुप्रो र घास उम्रिएका छन् । किनारमा गैह्रीगाउँ सुकुम्बासी बस्तीमा ४७९ घर हुँदा विकास निर्माणमा अवरोध भएको र बाटामा ढल निर्माणका लागि सिमेन्टको पायप राखिएको भए पनि काम थालनी हुन सकेको छैन । नदीको पारीपट्टि सडक वारीपतर्फ बस्ती र फोहोरको डंगुर थुप्रिएको छ ।


मिनभवन पुलदेखि माथि डेढ किमी क्षेत्रमा आवादी रहेको, विद्यालय, वृद्धाश्रम, चर्च तथा मन्दिरले करिडोरको भाग ओगटदा पनि निर्माण गर्न नसकेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले  बताए ।

उनका अनुसार बागमती नदीको किनाराको कटान नहोस भनेर ('रिभोल्भिङ') गर्नुपर्ने काम नसकेकाले पनि निर्माण प्रक्रिया अघि नबढेको हो । ढल निर्माणका लागि 'पायप' हाल्ने काम बाँकी छ । वर्षाका कारण काम अघि बढ्न सकेको छैन । मौसमको अवस्था सामान्य रहेमा साउनको पहिलो सातादेखि ढलका लागि पायप हालिन्छ ।

सडकको मापदण्ड २० मिटर मापदण्ड भित्र बनेका सबै संरचनाहरू भत्काइने अर्यालले जानकारी दिए । सडक निर्माण हुन नसक्दा करिडोर क्षेत्रमा फोहोर राख्‍ने काम भइरहेकोमा उनले गुनासो गरे । 'नदी किनारामा रहेको बसेको सुकुम्बासी बस्तीले निर्माणमा ढिलाइ भएको हो,' उनले भने ,' २०६४ सालदेखि बागमती करिडोरको काम थालनी भएको थियो । डेढ दशकमा करिडोर पूर्ण नबने पनि धेरै कामहरू सम्पन्‍न भएका छन् ।'

सडकमा सुकुम्बासी बस्ती बनेकाले करिडोरको काम अघि बढाउन नसकेको अर्यालको दाबी छ । बागमती किनारामा लामो समयदेखि बसेका बस्तीको व्यवस्थापन गर्न सुकुम्बासी सम्बन्धी समस्या समाधान आयोगलाई जानकारी गराइसकेको उनको भनाइ छ । नदी किनारामा बस्ती नभएका अरु सडक बनिसकेको उल्लेख गर्दै उनले मीनभवन पुलदेखि माथिको करिडोर क्षेत्रमा बस्‍ती बसेकाले पनि करिडोर बनाउन नसकेको उनले जानकारी दिए ।

बागमती ब्युटिफिकेसनको काममा सुकुम्बासी बस्तीलाई अवरोधको रूपमा लिँदै आएको छ । सुकुम्बासी बस्तीकै कारण काम गर्न नसकेपछि समयमा काम गर्न नसकिने अर्यालले बताए । उनका अनुसार एसियाली विकास बैंकले अनुदान र ऋणबाट बागमती सौन्दर्यकरणको काम भइरहेको छ । सम्पूर्ण काम सकाउन ३६ मिलियन अमेरिकन डलर लाग्‍ने अनुमान छ ।

'महानगरसँग सहकार्य गरी सुकुम्बासी बस्तीको लागत राख्‍नेछौ'

सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्न साउनको पहिलो सातादेखि लागत संकलन गर्न सूचना सार्वजनिक गर्न लागिएको भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काठमाडौँका अध्यक्ष रामशरण ढुंगानाले बताए । काठमाडौँ जिल्लामा बसोबास गरेकाको लागत स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाइने उनले जानकारी दिए । 

सुकुम्बासी आयोगले काम गर्न नपाएकोले अन्य विकासका गतिविधि बढ्न नसकेको अर्यालको भनाइ छ । सुकुम्बासी कहाँ-कति छ त्यसको सम्पूर्ण व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्नुपर्ने उनले बताए ।

आयोगले  स्थानीत तहसँग सहकार्य ३५ दिनमा कार्य सम्पन्न गरी सरकारलाई प्रतिवदेन बुझाउने अर्यालले प्रस्ट पारे । प्रतिवेदनको आधारमा भूमिहिनलाई सरकारी जग्गा उपलब्ध गराउने उनले बताए ।

'महानगरले बस्ती हटाएर काम गर भन्दा पनि गरेनन्' 

बागमती सभ्यता एकीकृत विकास समितिलाई आफ्नो मापदण्ड बाहिर बनेका बस्तीलाई हटाएर काम गर्नुभन्दा पनि गर्न नसकेको काठमाडौँ महानगरपालिका ३१ अध्यक्ष नाराय प्रसाद भण्डारीले बताए । महानगरपालिकाले अवरोध भएको ठाउँलाई हटाएर काम गरेमा अवरोध नगर्ने उनको भनाइ छ ।

'बागमती किनारमा ४७९ घर छन्,' अध्यक्ष भण्डारीले भने,' महानगरमा रहेको सुकुम्बासी समस्या समाधानको लागि आयोगलाई जिम्मा दिएको छ ।' बागमती एकीकृत सभ्यता विकास बस्ती नभएको ठाउँमा विकास गर्न सक्थ्यो त्यस्ता ठाउँमा समेत काम गर्न नसकेको उनल आरोप लगाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x