समाज

मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड एक हप्तादेखि अवरुद्ध

इकागज |
असार २९, २०७८ मगलवार ८:१० बजे

फाइल फोटो

पर्वत : भीषण पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत ६ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । 

पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ ।


डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिइए पनि सेना समेत सफल हुनसकेको छैन । 

सेनाको पर्वतमा रहेको केवलजङ्ग गुल्मले म्याग्दीबाट विस्फोटक पदार्थ ल्याएर सोमबारदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको छ । सोमबार दिउँसो र साँझ दुईपटक विष्फोट गराइएको भए पनि ढुङ्गा अझै नफुटेका कारण पन्छाउन नसकिएको हो ।

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि खुलाउन सहज हुने भए पनि सफल हुन नसकिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । 

उनका अनुसार आज पनि दिनभर प्रयास गरिने भएको छ । अहिले यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षाले झनै समस्या भएको खड्काले बताए । वर्षा रोकिएपछि थप विस्फोट गराएपछि सम्भवतः आज साँझसम्म एकतर्फी सञ्चालनमा ल्याउन सकिने अनुमान प्रहरीको छ । 

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङअन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि कामचलाउ वैकल्पिक सडकका रूपमा साना सवारी साधनले अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् भने ठूला सवारी गुड्न नसक्दा मालवाहक सवारी बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका छन् । रासस 


Author

थप समाचार
x