समाज

कथा, सपना र खाना

अर्गानिक तरकारी, क्‍युआरबाट भुक्‍तानी

पूजा बस्‍नेत |
असार ३०, २०७८ ८:१६ बजे

काठमाडौँ : हाम्रो सपना छ, तर त्यो सपना अन्तै छ । हामीले हामीसँग जे छ त्यो चिन्दैनौँ । तर चिन्‍नेले गर्छन्, अनि सफलता पनि हात पार्छन् । र अब त युरोपदेखि खाडी पुगेका सयौँ युवाहरू नेपालमै फर्किएर खेती-किसानीतिर ढल्केका छन् । कृषि प्रधान देशलाई आधुनिक र प्रविधियुक्त बनाउन तल्लीन छन् । गर्‍यो भने देशमै हुन्छ, भन्‍ने एउटा सन्देश दिन खोज्दैछन् । यस्तै एउटा सफलता, संघर्ष र नौलोपन मिसिएको कथा हो, सौरभ ढकाल अनि उनका समूहको । सौरभ र उनका समूहलाई नेपाललाई पनि युरोप जस्तै विकसित हुन्छ भन्‍ने विश्वास छ ।  त्यसैले उनीहरूले एउटा परियोजना बनाएका छन्, ‘कथा, खाना र सपनाको कथा ।’

गाउँ-गाउँ गएर युवाहरूलाई भिडियोग्राफी सिकाउँथे, सौरभ ढकाल । प्रकृतिको सौन्दर्य र भुइँ मान्छेका कथा क्यामेरामा कैद गर्थे । २०७२ सालमा सौरभको यो यात्रा जुम्लातिर डोहोरियो । उनको उद्देश्य थियो, त्यहाँका युवालाई भिडियोग्राफी सिकाएर आफ्नो ठाउँको प्रवर्द्धन आफैँ गर्न सक्ने बनाउनु । 


ADVERTISEMENT

तर, प्रतिक्रिया विपरीत आइदियो । ‘भिडियो बनाउन सिकेर के गर्ने ? यसले न खान दिन्छ न लगाउन ?’ स्थानीयको यो आवाज उनको कानमा ठोक्कियो । सौरभ र उनका सहकर्मीले पनि सोचे, हो त जुम्लाका युवालाई भिडियोग्राफी सिकाएर यहाँका मानिसले के पाउँछन् ? उनीहरूले जुम्लाबासीसँगै आफूलाई पनि फाइदा पुग्‍ने उपाय सोच्‍नु थियो, तर केही भेउ पाएनन् । जुम्लाबासीहरूको चित्त बुझाउन सौरभ तीन चार किलो सीमी र मार्सी बोकेर काठमाडौँ हानिए । यहाँ आएपछि आफ्नो फेसबुक र ट्‍वीटरमा राखेर पोस्ट्याए, ‘जुम्लाको सिमी र मार्सी छ, खाने हो ?’

अचम्मै भयो, मानिसहरू जुम्लाको नाम सुनेरै ती सामान किन्‍न ओइरो लागे । त्यसपछि बल्ल जुम्ला र काठमाडौँलाई जोड्ने उपाय निस्कियो । उनीहरू जुम्लामा उत्पादन भएका खाद्यान्‍न काठमाडौँ ल्याउँदै बेच्‍न थाले, त्यो पनि अनलाइनबाट । 

सौरभले ‘स्टोरी साइकल’ (कथा चक्र) नामक शीर्षकमा देशभर डुलेर कथाहरू बटुल्थेँ । अर्थात् सौरभ र उनका केही सहकर्मी देशभरका विकट भेगमा पुगेर त्यहाँका मानिसहरूको कथा भिडियोमा उतार्थे ।  तर उपलब्धि खासै भएन । त्यसपछि इन्टरनेट नै बजार हो, भन्‍ने सोचेर स्वदेशमै उत्पादित तरकारी पनि इन्टरनेटबाटै बेच्‍न सुरु गरे ।

सौरभ र उनको टिम ।

त्यत्तिका वर्ष अन्य काम गर्दा नपाएको ‘प्रोत्साहन’ उनले जुम्लाबाट ल्याइएका हरिया तरकारी अनलाइन बेच्दा पाउन थाले । उनले हिम्मतसँगै थप काम गर्ने उर्जा पाए । त्यसपछि इन्टरनेटको प्रयोगले कसरी ठाउँको प्रवर्दन गर्न सकिन्छ भनी सिकाउँदै हिँड्ने सौरभ र उनका टोलीले इन्टरनेटको माध्यमद्वारा सोही ठाउँमा उब्जाउ हुने लोकल वनस्पतिको पनि प्रवर्द्धन गर्न थाले । 

पहिला उनीहरू कथा खोज्दै देशका विभिन्‍न कुनामा पुग्थेँ । अब मान्छे, ठाउँ र वस्तु तीनथरि खोज्‍न देशभर घुम्‍न थाले । तर २०१५ बीचमै भुइँचालो गइदियो । फेरि आपत् आइलाग्यो । उनीहरूले भुँइचालोका बीचमा हरिया तरकारीहरू संकलन गर्न सकेनन् । फेरी अर्को उपाय फुराए । देशभरका लोकल खाद्यान्‍न काठमाडौँमै बसेर फेसबुक र ट्‍वीटरमार्फत बिक्री गर्ने । ग्राहकहरूले पनि अनलाइन फर्म भरेर सामान अर्डर गरे । उनीहरूले हप्ताको दुई दिन डेलिभरी गर्न लागे । यसो हुँदा ग्राहक र व्यापारी दुवैलाई फाइदा हुन थाल्यो ।

सन् २०१२ ताका सौरभ पूर्व ताप्लेजङदेखि दार्चुलासम्म ९९ दिन पैदल यात्रा गरेका थिए । उनी भन्छन्, ‘जुम्लादेखि काम सुरु गरे पनि पैदल यात्रा गर्दा चिने जानेको नेटवर्क प्रयोग गरेर स्वदेशमै उत्पादित खाद्यान्‍न पठाउन आग्रह गर्‍यौँ ।’ 

त्यसपछि नेपालभरका तरकारीदेखि मौसम अनुसारका फलफूल उनीकहाँ आउन थाले ।  बिस्तारै व्यवसाय फस्टायो । अनि २०१६ को बीचतिर औपचारिक रूपमै कम्पनी दर्ता गराए, ग्रीन ग्रोथ । अर्थात् स्वदेशमै हरियो उब्जाउ (विकास) ।

जुम्लाको सिमीदेखी देशभर १२ फार्मसम्म

जुम्लादेखी सुरु भएको ग्रीन ग्रोथमा देशभर रहेका १२ फार्मबाट तरकारी तथा फलफुल आउँछन् । ग्रीन ग्रोथले हप्तामा कुन तरकारी कति मात्रामा बेच्‍ने अड्कल काटेर मात्रै बजारमा ल्याउने गर्छ । यसो गर्दा तरकारीहरू कम खेर जाने तथा बिग्रने हुन्छ । सबैभन्दा पहिले देशभर फार्महरू पत्ता लगाउने सौरभ बताउँछन् । ‘ती फार्ममा जैविक पद्धतिबाट उत्पादन गरिन्छ कि गरिँदैन हेर्छौँ’ उनी भन्छन्, हामीलाई एउटा तरकारी तयार गर्न ६ देखि ८ महिना लाग्छ ।’ ग्रीन ग्रोथमा पाइने खाद्यान्‍न तथा तरकारी एकदमै अर्गानिक तथा ताजा हुने उनको दाबी छ ।

क्यु आर कोडबाटै थाहा पाइन्छ  तरकारीको यात्रा

व्यापारसँगै प्रविधि पनि जति फस्ट्याउँदै गयो, त्यति नै उनीहरूले नयाँ नयाँ टेक्नोलोजी प्रयोगमा ल्याएको सौरभको भनाई छ । हामी प्रायः भारत र चीनसम्मका खानेकुरा खान्छौँ । तर कहिल्यै कुन खाद्यान्‍न कहाँबाट ल्याइएको हो ? कति दुरी पार गराएर हाम्रो घरसम्म ल्याइएको हो वास्ता गर्दैनौँ । तर ग्रीन ग्रोथले भने खाद्यान्‍नले कति यात्रा गरेर बजारसम्म आइपुगेको समेत ग्राहकलाई हेर्ने सुविधा दिएको छ । 

उनी कम दुरीबाट ल्याइएको खाना खानुपर्ने बताउँछन् । ग्रीनग्रोथले कुन तरकारी कहाँबाट कति यात्रा गराएर ल्याइएको हेर्ने मिल्ने गरी क्यु आर कोडको व्यवस्था गरेको छ । जसलाई ‘ब्लक चेन’ वा फुड माइल पनि भनिन्छ । जसमा ग्रीन ग्रोथका ग्राहकले ‘क्युआर कोड’ स्क्यान गरेर तरकारी, फलफूल तथा खाद्यान्‍न कुन ठाउँबाट आएको र कसको बगैँचा वा फार्मबाट कति किलोमिटर पार गरेर ग्राहकको घरसम्म आइपुग्यो भनी हेर्न सक्छन् ।  

यसको फाइदा भनेको कम्पनी र ग्राहकबीच विश्वसनीयता हुन्छ । जसमा ग्राहकले पनि ताजा र मीठो सबै कुरा जानेर मात्रै खान पाउँछन् । सौरभका अनुसार ग्रीन ग्रोथमा फेसबुक, ट्‍वीटर तथा इन्स्टाग्रामबाटै ग्राहकहरू आउने गर्दछन् ।

चुनौतिहरू 

उत्पादनदेखि देशभरबाट काठमाडौँ सामान ल्याउन एकदम ठूलो चुनौति भएको उनी बताउँछन् । फेरि पर्यावरणको ख्याल राख्दै घर-घरमा सामान पुर्‍याउँदा महँगो हुँदा ग्राहक रिसाउने चिन्ता पनि उत्तिकै छ । ग्रीन ग्रोथमा १० जना सदस्य छन् । बाहिरको बजार भारतबाट आउने सामानले नियन्त्रण गर्छ । तर गीन ग्रोथको साम्रगी स्वदेशी उत्पादन भएकाले सदाबहार एकैनासको मूल्य हुन्छ । सौरभ भन्छन्, ‘कहिलेकाँही नेपालमा भारतबाट आउने प्याज ‘सर्टेज’ भएर महँगो हुन्छ । तर हामी कहाँ यही उत्पादन हुने भएकाले मूल्यमा एकरूपता छ ।’

सौरभलाई पनि बेला-बेला तरकारी ल्याउने बखतमा प्रहरी तथा सिडिओहरू आफैँले केरकार गरेको अनुभव छ । त्यसैले कोभिडकाल होस् वा अन्य समय सरकारले कृषि तथा खाद्यान्‍नसँग सम्बन्धित ‘गाइडलाइन’हरू ल्याएर काम गर्ने नसकेको पनि उनको गुनासो छ । कृषि उत्पादन लागि सरकारले ध्यानै नदिएको उनको भनाई छ । कृषि उब्जाउ प्रवर्द्धन गर्नमै पनि सरकार चुकेको छ, सौरभको भनाई छ । 

अब पर्यावरणतिर ध्यान

कोभिड भएकै प्रकृतिलाई माया नगरेर हो, भन्‍ने सन्देश पाएसँगै सौरभसँगै उनका टिमहरू अब पर्यावरण बचाउने बाटो खोज्नेतिर अग्रसर छन् । नकारात्मकता लिएर आएको कोरोनाले पर्यावरणका लागि भने सकारात्मक छाप छोडेको सौरभको बुझाई छ । त्यसैले त उनीहरू तेल गाडिबाट इलेक्ट्रिक गाडीमा झर्न कोशिस गर्दैछन् । उनीहरू पर्यावरणका लागी थोरै भएपनि योगदान गर्न आफ्ना सामाग्री बेच्दा प्लाष्टिकको साटो कागज प्रयोग गर्छन् । सहरहरूमा रुख-विरुवा रोप्न प्रेरित गर्छन् । 

सपनाको सहर 

हामी किन आफ्नो गाउँ छाडेर ठूलो सहरमा जान चाहन्छौँ ? अझ सहरले मात्रै नपुगेर किन हामी मौका पायो भने अमेरिका र युरोप दौडिन चाहन्छौँ ? किनभने गाउँ र सहरले हाम्रा सपना पूरा गर्न अवसर दिएन । के हामीलाई गाउँले पनि सहरमा जस्तै सुविधा भएको भए त्यो ठाउँ छाड्न चाहन्थ्यौँ ? पहिला हामी हाम्रो सपना आफ्नै गाउँमा खोज्छौँ ? त्यहाँ पूरा हुन सक्ने जस्तो देखिएन भने सहरमा बसाँइसराईँ गर्छौ । त्यहाँ पनि पूरा हुने सम्भावना देखेनौँ भने हामी विदेश जाने विकल्प रोज्छौँ ।

तर सौरभ अनि उनका टीमले फेरि नौलो पद्धति अपनाए । देशभरका युवालाई पनि परिचालन गर्ने संकल्प कसे । अनि अर्को परियोजना बनाए, ‘ड्रिम सिटी’ अर्थात् सपनाको सहर । जसमा युवा मात्रै नभई जो कोहीले पनि आफ्नो ठाउँ आफैँ बनाउन योजना बनाउन सक्छन् ।

‘हरेक जिल्लाका स्थानीय सरकारले युवाका आवाज पनि सुन्‍नुपर्छ- सौरभ भन्छन्, ‘ती निकायले युवालाई विश्वास गरेर विकासका काममा उनीहरूको योजना सुनिदिए मात्रै पनि कैयौँ युवाले यही रोजगारी पाउँथे ।’ योजना बनाउँ भनी जिम्मा लगाइयो भने उनीहरूले अवश्य बनाउनेछन् भन्‍ने सौरभको विश्वास छ ।

‘विकास भनेको रुख ढालेर फराकिलो सडक बनाउने मात्रै होइन । ठूला-ठूला भवन बनाउने मात्रै होइन । आकाशे पुल बनाउने मात्रै होइन’, सौरभ आफ्ना योजना सुनाउँछन्, ‘तर यसलाई हामीे जनमुखी बनाउन सकेका छैनौँ । जहाँ रुखबिरुवा र हरियाली वातावरणसँगै काम गर्ने वातावरण पनि होस् । दीगो विकास हुने खालका योजना बनाइयोस् ।’‘रुख हेर्न त सामुदायिक वन जानुपर्ने भा’छ’ उनी भन्छन्, ‘हामीले युवाहरूलाई रुख बिरुवासहितको सहर बनाउन प्रेरित गर्ने योजना बनाएका छौँ ।’
 
त्यस्तै उनीहरू नेपालका सहरहरूलाई साइकलकेन्द्रित सहर बनाउन पनि जोड दिदैँ आएका छन् । त्यही भएर उनीहरू देशका जनकपुर, वीरगञ्‍ज, पोखरा, काठमाडौँ लगायतका सहरलाई कसरी साइकलकेन्द्रित बनाउने भनेर मुद्दा पनि उठाइरहेका छन् । सौरभ भन्छन्, ‘साइकलकेन्द्रित सहर हुने बित्तिकै सबै कुरा मिलेर आउँछ, जामहरू कम गर्न सकिन्छ । प्रदुषण कम हुन्छ । साथसाथै मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव हुँदै जान्छ ।’

कसरी काम गर्छन् सौरभ ?

उनीहरूले विशेषगरी चार तरिकाबाट काम गर्छन् । पहिले देशभरबाट मानिसका कथाहरू ल्याउँछन् । त्यसपछि देशभरका जिल्लाको नक्सा बनाउँछन् । उदाहरणका लागि सोलुखुम्बुको लिखु खोला कहाँ छ, काठमाडौँबाट त्यहाँको जिल्ला प्रशासन कार्यालय पुग्‍न कति समय लाग्छ ।

देशभरका जिल्लामा कहाँ, के, कस्ता स्रोत छन् भन्‍ने नक्सामा उतार्छन् । अनि उक्त ठाउँका लागि विकासका योजना युवा आफैँले गर्न सक्छन्, जसका लागि नेता तथा वडाअध्यक्ष हुनुपर्छ भन्‍ने छैन । आफ्नो सहर आफैँ बनाउँ नारालाई सौरभ र उनका टिमले प्रयोग गरेका छन् ।

उनीहरू युवालाई सपना देख्‍न सिकाउँछन् । ‘१० वर्ष पछिको सपना । हामी युवाको एउटा समूह बनाउछौँ’ सौरभ भन्छन्, ‘अनि उनीहरूलाई आफ्नो सहर कस्तो होस् भनेर परिकल्पना गर्न लगाउँछौँ । योजना बनाउन गाउँपालिका अध्यक्ष तथा इन्जिनियर, मेयरहरूसँग उनीहरूले समन्वय गर्छन् ।’ 

यसरी चार चक्रमा काम गरेपछि सहरलाई अलिकति भएपनि दिगो सहर बनाउन सकिने उनको ठम्याई छ । सौरभ भन्छन्, ‘विकासका लागि युवाहरू एकजूट हुन जरुरी छ, उनीहरूले आफ्नो सपना सरकारसमक्ष पुर्‍याउन जरुरी छ ।’



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार