समाज

वसन्तपुरको भुइँमा जीवन र सम्मान खोज्दै उमा

पूजा बस्‍नेत |
साउन २, २०७८ १३:४० बजे

काठमाडौँ - नेपालमा थुप्रै मानिसहरुको घरखेत भनेकै सडकको पेटी हो । उनीहरू भुइँ मान्छे हुन् । भुइँ मान्छेका लागि भुइँ नै कम्पनी हो । जहाँ उनीहरुले तरकारी, लुगा, फलफूलदेखि दैनिक उपभोग हुने वस्तुहरु बेच्छन् । ग्राहकको आवश्यकता पूरा गरिदिएर आफ्नो पनि पेट पाल्छन् । उनीहरूको धेरै ठूलो सपना हुँदैन । केवल सरकारबाट सहयोग चाहन्छन् अनि आम मानिसबाट सम्मान । तर उनीहरूलाई न सरकारले ध्यान दिएको छ, न उनीहरुको पीडा सुनाइदिन कसैले कस्सेर जोडबल नै गरेको छ ।

बाहिरबाट हेर्दा सामान्य लाग्छ, तर उनीहरुले दैन्दिन भोगिरहेका पीडा पहाड जत्रा छन् । उनीहरु हरपल जात, धर्म र वर्णका आधारमा चेपुवामा परेका हुन्छन् । तर त्यो भेदभावविरुद्ध बोल्ने उनीहरू हिम्मत गर्न सक्दैनन् । त्यसैले भुइँ मान्छेका समस्या पनि बाहिर आओस् भन्ने सानो प्रयास स्वरुप गरिएको शृंखलामा आज उमा नेपालीको गाथा । 


६० वर्ष कटेकी उमा नेपालीलाई आजकाल चिन्ताले सताउन थालेको छ । झण्डै २५ वर्षदेखि एक्लो जीवन बिताउँदै आएकी उमा आजकाल भने ग्यास्ट्रिकले थला पर्न थालेकी छिन् । बेलाबेला आगोको भुङ्ग्रो जस्तै तातो ज्वरो पनि आउन थालेको छ उनलाई । तर आफूलाई गाह्रो भएकोभन्दा बढ्ता पीर उमालाइ घरबेटीले बिरामी भएको थाहा पाउँछन् कि भन्नेमा छ ।

‘घरबेटीले मलाई ज्वरो आ’छ भन्ने थाहा पाएँ भने त निक्लेर गैहाल भनिहाल्छन् नी !  केही सम्झिँदै उनले भनिन्,‘साँच्चै लकडाउन खुल्या हो  अनि आफैँ उत्तर दिन्छिन्, ‘खुले—नखुले मलाई के ?’ उमालाई आफू एक्ली देखेर हेपेको पनि महसुस गरेकी छिन् । प्रहरीदेखि टोलबासीसम्मले आँखा तर्काउने गरेको उमा बताउँछिन् ।

वसन्तपुरका गल्लीहरूमा याद गाँसिएकाले चटक्कै छाडेर गैहाल्न पनि सकेकी छैनन् । घर नुवाकोट भए पनि झुकाव भने वसन्तपुरको त्यो साँघुरो गल्लीमै छ उनको ।  नलागोस् पनि कसरी उमाले आफ्ना जवानी प्रिय मान्छेसँग त्यही साँघुरो गल्लीमा लुकाछिपि खेल्दै बिताएकी थिइन् ।

‘तर यहाँको मान्छेको व्यवहार देख्दा त कहिलेकाहीँ म त मान्छे नै होइन कि झैँ लाग्छ,’ उनी मसिनो स्वर बनाउँछिन् । 

यतिखेर कोरोना कम भएपनि त्यसले छोडेको त्रास उत्तिकै छ । लकडाउन केही खुकुलो भए पनि उनीजस्ता बिहान कमाएर बेलुका खानुपर्ने भुँइमान्छेको सकस सकिएको छैन । 

भोको पेटले कोरोना भन्दैन ।  त्यसैले त उनी कसैको परवाह नगरी इन्द्रचोक, काष्ठमण्डप, असनका गल्लीको सानो ठाउँ समात्छिन् । तौल नाप्ने मेसिन अगाडि राख्छिन् । अनि चिसा बोरा ओछ्याएर ग्राहकको बाटो हेर्छिन् । उनी हरेक व्यक्तिको मुखमा पुलुक्क हेर्छिन् । त्यसो गरेमा कोही दयालु रहेछ भने कमाइ गराइदिन भए पनि तौल नापेजस्तो गरिदिन्छ । उनी भन्छिन्, ‘त्यो म जस्ता तौल जोख्दिने मान्छेहरूको ‘ट्रिक’ हो ।  एउटा मान्छेको तौल जोख्दिएको १० देखि २० रुपियाँ लिन्छिन् उनी ।    ‘पहिला पहिला त दिनमा छ सात सय हुन्थ्यो ।  तर अहिले मुस्किलले सय दुई सय हुने उमा बताउँछिन् । 

गोजीबाट दुइटा १० र पुरानो २० को नोट झिक्दै उमाले भनिन् ‘यी हेर्नु आज दिउँसो १२ बजेदेखि वसन्तपुरको गणेस्थान बसेको यति कमाइ भयो । ल भन्नुस्, अब मैले पाँच हजार भाडा कहाँबाट ल्याएर तिर्नु ? आफ्नो पीडा कसलाई सुनाउनु ? हामी जस्ताको पीडा कसले सुनिदिन्छ ? हामीले खान नपाएर रातभरि छटपटिएको दुख कसलाई  पोख्ने ? उनी प्रश्नैप्रश्नका चाङ लगाउँछिन् । 

‘देशमा अरू नै समस्या छन् हाम्रा कुरा त सुनिन्छ भनेर सम्झिनी पानी छम्किने जस्तै त हो नि’ अपत्यारिलो अनुहार बनाउँदै उमा बोल्छिन् । उमाले १५ दिन अघि भएको एक किस्सा सम्झिन् । त्यहीको स्थानीय क्लबको एउटा मान्छे आएर त्यो भाँडो (ढक) फाल्दिउ भनेर लात्ताले हान्योे । आँखाबाट आँसु चुहाएपछि मात्रै छिटो गैहाल्नु नभए राम्रो  हुँदैन भन्दै गयो । उनी च्याँठिदैं सुनाउँछिन्, ‘मेरो खेतबारी, जग्गा जमिन आड, बुढ्यौलीको साथी जे भने पनि यहीँ एउटा भाँडो यसलाई फाल्दिए म त टुहुरो हुन्छु ।’

हो त्यही घटनादेखि हो उमाको ग्यास्ट्रिक दुखेर ज्वरो आउन थालेको । 

राजधानीको सडकपेटीमा उमाले मान्छेको तौल जोख्न थालेको २०५६ सालदेखि  हो । कोभिड महामारी आएपछि निलो मास्क पनि बेच्न थालेकी छिन् उनले । 
२१ वर्षदेखि तौल जोख्ने भाँडो ४ ओटा जति फाटिसके उनका । अहिले भैराखेको मेसिन तीन वर्षअघि मात्रै २२ सयमा किनेको उनी सुनाउँछिन् ।  तर कोभिड महामारी र लकडाउनले गर्दा स्थानीय र प्रहरीले उनले व्यापार गर्दा बाधा पुर्याइदिने गर्छन् । 

भन्छिन् ‘म यहाँ बसेर कसलाई किन यति खसखस प¥यो होला ? यो जाबो मेसिनको किन रिस गर्‍यो होला ?  यो भाँडोलाई कसैले पकाएर खान मिल्दैन ।  टोकेर खान मिल्दैन । तर यी ठूला भनाउँदाहरूले जो आए पनि धम्की मात्रै दिन्छन्  गम्भीर मुद्रामा उमा दुःख  बिसाउँछिन् । 

उनको थर नेपाली । अर्थात् मानिसहरूले त्यसलाई तल्लो जातभन्दा रहेछन् । त्यसमाथि एक्ली महिला । स्थानीय धनाढ्यले दिएको दुःखले उनको मनमा निकै जरा गाढेको छ । आँखामा पिलपिल आँसुको दहलाई रोक्दै भनिन् ‘मेरो जात नेपाली भन्ने थाहा भएपछि कोठाबाट निक्ली भन्ने शब्द धेरै पटक सुनेको छु तर कहाँ जाऊँ म ? त्यसमाथि खान त नुनपानी तताएर पनि खाउँला तर भाँडा समयमै तिरेन अर्को चोटिला वचन सुन्न पर्छ । 

उनले बारम्बार सुनाउँदै गइन् ‘एक्लो मान्छेलाई चाहिँ घरबेटीले पनि हेप्दो रहेछ । वल्लो पल्लो कोठामा बस्नेले नि हेप्ने । पसलेहरूले पनि हेप्ने । वसन्तपुरको त्यो मैदानको कुनामा उनले आँसु खसालिन् अनि भनिन्, ‘यो मेरो आँसुले कसैलाई छुँदैन नि नानी ! 

वसन्तपुर वरिपरि डुल्ने युवाले पनि समयसमयमा पैसा लुटिदिएको अनुभव पनि छ उनीसँग । उनले केही दिन अघि मात्रै भएको घटना सुनाइन् । 

‘अस्ति म इन्द्रचोकबाट फर्किदैं थिए । दुई सय जति भएको थियो तर ती बदमासहरूले लुटिदिए । म असहाय चिच्याउँन पनि सकिन । दिन्छन् कि भन्ने आसमा बिन्ति गरेँ । तर तिनीहरू भागे । मैले परसम्म हेरिरहेँ । फर्केर आएनन ्। ’ त्यो दिन  खुब रोएको उनले बताइन् । 

गफ गर्दा गर्दै साँझको साढे छ भएको थियो । चार पाँच मानिसको समूह आए । सातो  जाने गरी उमालाई थर्काउँदै भने ‘खुरुक्क जानुस् । यति बेला को आएर आफ्नो तौल जोख्छ ? डरले उमा हतारहतार मास्क र तौल जोख्ने भाँडो समातिन् । ती स्थानीय जंगिँदै उमालाई थर्काउन थाले, ‘आमै भोलिदेखि यहाँ बस्न गाह्रो होला है, खुरुक्क जानुहोस् ?   

उनले अलि परको पेटीमा फेरि बोरा विस्तार ओछाइन् । अनि मुर्मिरिइन्  ‘यिनीहरूको दादागिरी कसलाई भनेर तह लाउने होला, हामी दुःखीलाई गरेर खान पनि दिदैँनन् ।’ 

यी कुराहरू अन्य मानिसका लागी सामान्य भए पनि उमा जस्ताहरूका लागि निकै ठूला हुन् । यस्ता साना चोटिला वचनले उनीहरूको मानसिक स्वास्थ्यमा असर गर्छ । दुनियाँप्रतिको विश्वास हराउँछ ।

उनी कहिलेकाहीँ  रेडियोका कान पनि बटार्छिन् ।  ‘प्रधानमन्त्रीले यसो भने । रानीपोखरी बन्यो । धरहरा ठडियो । कोरोनाले मरेका मान्छेको गिन्ती यति भयो । शव जलाउने ठाउँ भएन ।’  घ्यार्र घ्यार्र गर्दै यस्तै हेडलाइन बज्छ रेडियोमा,’ उनी सुनाउँछिन्  ।

उमाले मिडियाप्रति पनि दुखेसो छ ।  भन्छिन्  ‘कोरोनाले देश थाकेको कुरा, राजनीतिका कुरा ठूला  अक्षरमा लेखिएका हुन्छन् । तर कहीँ  म जस्ता साना मान्छे बोलेको सुनाइँदैंन । प्रधानमन्त्रीले के खाए कहाँ गए सबै लेख्छन् तर हामी कति दिनदेखि भोको छौँ वास्ता छैन यिनीहरूलाई ।’

उनी प्रश्न गर्छिन्,  ‘हामीले भाडा तिर्न नसकेको कुरा, मान्छेहरूले जातका आधारमा हेपेको कुरा, घरबेटीले वचन ल्याएको कुरा लेख्दिने कुनै मिडिया छैन ?  त्यस्तो भइदिए मजस्ताले टन्न खाएर नबाँचे पनि सम्मानका साथ बाँच्न त पाउँथेँ ।’ 

यतिकैमा साँझ साढे सात भैसकेको थियो । घर जाने सुरसार गर्दै उमाले खुट्टा सोझ्याइन् । लामो सुस्केरा हालिन् । उनको जीवनको इनिङ्स यसरी नै कटिरहेको छ । अन्त्य कसरी हुने हो भगवानलाई छाडेकी छिन् उनले । 

अनि झोलाभित्र उनको खेतबारी अर्थात् तौल जोख्ने भाँडो हुलिन् । अनि अरुणा लामाको गीत गुनगुनाउँदै कोठातर्फ पाइला चालिन् ।  

एक्लै बस्दा सधैँ मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँसु त्यसै झरिदिन्छ
आँसु त्यसै झरिदिन्छ ।
मैले परसम्म हेरिरहेँ ।



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
ad
x