समाज

बालबालिकालाई स्वाध्ययन सामग्री वितरण

इकागज |
साउन २, २०७८ शनिबार २०:१२ बजे

फाइल फोटो

डोटी : कोभिड १९ भाइरस सङ्क्रमणका कारण अध्ययन गर्न नपाउने एक हजार ९१ बालबालिकालाई स्वाध्ययन सामग्री वितरण गरिएको छ ।  सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कभर दुई परियोजनाले जिल्लाका तीन स्थानीय तहका कूल एक हजार ९१ बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरेको हो । 

स्व–अध्ययन सामग्री वितरण गरेका बालबालिकामध्ये पूर्वीचौकी गाउँपालिका–१ का ४४८, सायल गाउँपालिका–४ र ५ का ४७६ तथा आदर्श गाउँपालिका–१ का १६७ रहेका छन् । बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको सामुदायिक विकास केन्द्रका परियोजना संयोजक टङ्क जोशीले जानकारी दिए । 
    
उनका अनुसार कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको र पढाइ पनि हुन नसकेकामा उनीहरुको सिकाइ तथा पढाइ निरन्तरका लागि स्व–अध्ययन सामग्री वितरण गरिएको हो ।


वितरण गरिएको सामग्रीमा स्व–अध्ययन पुस्तक, कपी, पेन्सिल, इरेजर, साइनपेन रहेका छन् । यसैगरी जिल्लाकै सायल, आदर्श, पूर्वीचौकी र दिपायल सिलगढीका सात हजार ५०० बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गर्ने योजना रहेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले जानकारी दिए । रासस 


Author

थप समाचार
x