समाज

बाढी प्रभावितलाई चार लाख २० हजार सहयोग

इकागज |
साउन २, २०७८ शनिबार २०:४१ बजे

फाइल फोटो

सिन्धुपाल्चोक : हेलम्बुका बाढी प्रभावितलाई दुई लाख २० हजार सहयोग गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–७ का महेशलाल श्रेष्ठ, श्याम श्रेष्ठ तथा अन्य युवाबाट सङ्कलित रकम मेलम्ची हेलम्बुका बाढी प्रभावित २२ घरधुरीलाई रु दश हजारका दरले सहयोग प्रदान गरिएको हो । 

त्यस्तै मेलम्ची पुनर्निर्माण सरोकार समितिलाई दुई लाख हस्तान्तरण गरिएको अभियन्ता मनिष श्रेष्ठले जानकारी दिए । छिमेकी पालिकामा विपद् पर्दा सहयोग गर्न पाएकामा अभियन्ता महेशलाल श्रेष्ठले खुशी व्यक्त गरे । 


असार १ को बाढीले मेलम्ची र हेलम्बुका ४२० घरधुरी विस्थापित भएका छन् । बाढीका कारण पाँच जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् ।

चनौटे बजार संरक्षणमा क्रियाशील चनौटे युवा समाज क्लब, श्री सरस्वती मावि तथा ग्याल्थुम बजार, इष्ट पोइन्ट एकेडेमी, रेडियो मेलम्ची र टोली नेपालले मेलम्ची बजारलाई रु दुई लाख ५० हजार सहयोग रकम शुक्रबार हस्तान्तरण गरिएको टोली नेपालका अध्यक्ष नीलबहादुर शाहीले जानकारी दिए ।   

यसअघि सो संस्थाले कोभिड नियन्त्रण सहयोग समिति तथा मेलम्ची नगरपालिका–६ लाई रु दुई लाखभन्दा बढीको औषधि लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

त्यसैगरी बाढीबाट प्रभावित सामुदायिक विद्यालयहरुमध्ये आंशिक क्षति भई उच्च जोखिमको अवस्थामा रहेका श्री तेर्से माविलाई पनि विद्यालय संरक्षण र वैकल्पिक कक्षाकोठा व्यवस्थापनका लागि २० लाख बराबरको आर्थिक सहायता प्रदान गरिरसकेको संस्थाका अध्यक्ष शाहीले जानकारी दिए । उक्त विद्यालयसँग संस्थाले विगत झण्डै २० वर्षदेखि शैक्षिक उन्नयनका लागि सहकार्य गर्दै आइरहेको छ ।

संस्थाले मेलम्ची नगरपालिका–६ तालामाराङमा बालगृह सञ्चालन गर्नाका साथै शिक्षा र बालबालिकाको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पनि छ । रासस 


Author

थप समाचार
x