समाज

प्रदेश सरकारको सञ्‍चार गृह संचालन गर्ने निर्णयको पत्रकार महासंघको विरोध

इकागज |
साउन ३, २०७८ आइतबार ८:३८ बजे

जनकपुरधाम - नेपाल पत्रकार महासंघको  प्रदेश समितिले प्रदेश-दुईले आफ्नै संचार गृह संचालन गर्ने निर्णयको विरोध गरेको छ । शनिबार समितिको वीरगंजमा बसेको बैठकबाट प्रदेश सरकारले आफै संचार गृह संचालन गर्न गरेको निर्णयको विरोध गर्दै निर्णय कार्यान्वयन नगर्न माग गरेको छ ।

बैठकले प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्दा लोकतन्त्रको उपहास हुने ठहर गरेको छ । लोकतान्त्रिक मूल्य एवं मान्यताविपरीत  हुने यस्ता निर्णय कार्यन्वयन नगर्न तथा प्रदेशभित्रका सबै मिडियाको विकासको लागि अविलम्ब ठोस नीति ल्याउन पनि बैठकले माग गरेको छ ।


अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा बसेको बैठकले संघ सरकारले उपलब्ध गराएको लोक कल्याणकारी विज्ञापनमा १० प्रतिशत कट्टा गरि पत्रकार कल्याणकोषमा जम्मा गर्ने प्रदेश सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

साथै सरकारसँग यो नीति अविलम्ब सच्चाउन माग गर्दै खाइपाइ आएको रकममा कट्टा नहुने गरी लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन तत्काल नीति तथा कार्यविधि बनाउन माग गरेको छ ।


 


Author

थप समाचार
x