समाज

प्रविधिको प्रयोग र असर

मोबाइलको लतमा फस्दै बालबालिका, चिन्तामा अभिभावक

विज्ञहरु भन्छन्, ‘लत छुटाउन नसके पारिवारिक समस्या बढ्छ’

इकागज |
साउन ३, २०७८ आइतबार ११:८ बजे

फोटो स्रोत : इन्टरनेट

विराटनगर : पछिल्लो समय अधिकांश अभिभावकहरुले बालबालिकाको हात हातमा थमाइदिने गरेका छन्, एन्ड्रोइड मोबाइल । टेलिभिजन रिमोट, ल्यापटपसँगै अन्य विद्युतीय सामग्रीहरु आज भोलि बालबालिकाको हातमा थमाइएकै हुन्छ । कारण, बालबालिकालाई भुलाउन सजिलो हुन्छ । मोबाइल पाएपछि बालबालिका पनि रमाउने गरेका छन् ।

कोभिड १९ महामारीको कारण अहिले सबै शैक्षिक संस्थाहरु बन्द छन् । बालबालिकाहरु फूर्सदिला बनेका छन् । यही समयमा उनीहरु एन्ड्रोइड मोबाइलमा ‘गेम’मा खेल्ने लतमा परेका छन् । टेलिभिजनमा भने कार्टुन हेर्ने लत बसेको छ । अधिकांश अभिभावकका लागि बालबालिकालाई भुलाउने यो गतिलो माध्यम बनेको छ ।


आफू पनि मोबाइलमा व्यस्त रहने र बच्चालाई पनि मोबाइल खेलाउन दिने धेरै अभिभावकहरु छन । जसले गर्दा उनीहरु मोबाइलबिना खाना खान नमान्ने, सुत्न नमान्ने जस्ता क्रियाकलापहरु गर्ने गरेको पाइन्छन् । मोबाइल र टेलिभिजनमा लत बसेका बालबालिकाले बाहिरी विविध गतिविधिमा घुलमिल हुन रुचाउँदैनन् ।

परिवारबाट टाढिदै, मोबाइलमा फस्दै

विराटनगर ११ का १२ वर्षीय सुमन कार्की बिहान ७ बजेदेखि अनलाइन कक्षामा बस्छन् ।  तीन घण्टा उनी ल्यापटपमा बिताउँछन् । पढाइ सकिएपछि उनी मोबाइलमा पब्जी खेल्छन् । ‘घरमा को आयो को गयो थाहा नै हुँदैन’ सुमनकी आमा सुनिता भन्छिन्, ‘मोबाइल पाएपछि साथीभाई पनि चाहिँदैन ।’

सुरु सुरुमा यो उनलाई सामान्य लाग्थ्यो । तर अचेल चिन्ता सुरु भएको छ । बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने ? भन्ने उनको चिन्ता छ ।  स्कुल बन्द भएकाले हालको समयमा अनलाइन कक्षा चल्ने भएकाले पनि बच्चाको मोबाइल र ल्यापटपमा लत बसेको सुनिता सुनाउछिन् । उनी स्वयंम पनि एक कार्यालयमा काम गर्छिन् ।

आफु घरमा हुँदासम्म मोबाइल छोराको साथमा हुने गरेको र आफु कार्यालय आए पश्चात ल्यापटपमा नै अलमलिने गरेको उनीले बताइन् । ‘एकैछिन् मोबाइल र इन्टरनेट नहुँदा छटपटिन्छ’, उनीले भनिन्, ‘रोईकराई गरेर खाना खान समेत मान्दैन ।’

बुढीगंगा १ की इन्दिरा कोइरालाको पनि गुनासो उस्तै छ । भन्छिन्, ‘बच्चालाई मोबाइलबाट कसरी टाढा राख्ने होला ? परिवारसँग पनि घुलमिल हुँदैन ।’  इन्दिराको ७ वर्षीय छोरा छ । बच्चा सानो छँदा आफू कार्यालय पनि जानुपर्ने भएकाले घरधन्दा भ्याउनुपर्ने अवस्था हुँदा बच्चालाई मोबाइल खेलाउन दिएर भुलाउँदा बच्चाको लत मोबाइलमै लागेको उनको भोगाई छ ।

‘कोरोना महामारीले गर्दा स्कूल सबै बन्द छ, केटाकेटी भुलाउने बाटो यही एउटा मोबाइल त छ’, उनी सुनाउँछिन्, ‘फेरी आफू कार्यालय जानुपर्छ । हतारमा बच्चालाई भुलाउनैका लागि भए पनि मोबाइल दिनुपर्छ । तर यसरी बच्चाको लत बिग्रिदो रहेछ ।’ 

आफ्नो मोबाइल बच्चालाई नदिँदा आफूसँग नै बच्चा रिसाउने गरेको पनि उनले सुनाइन् । ‘आजभोलि त बच्चालाई मोबाइल दिँन्न’, उनले छोराको गुनासो सुनाउँदै भनिन्, ‘मामु अफिसमै बस्नुस । घर नआउनुस भन्दै रिसाउँछ ।’  

यस्तै झापा घर भएकी लीना थापा पहिलेको बच्चा र अहिलेको बच्चाको स्वभावमा धेरै परिवर्तन आएको बताउँछिन । बच्चाहरुले राम्रो कुरा सिक्ने भन्दा पनि अरुले गरेको गतिविधि आफूले गर्न खोज्दा बिग्रन सक्ने अभिभावकको चिन्ता छ ।

‘पहिलेको बच्चाहरु बिहान उठेर हातमुख धोएर, केही समय पढाइलाई, केही समय घरको काममा केन्द्रित हुन्थेँ’, उनले भनिन्, ‘पछिल्लो समयका बच्चाहरु हरेक महत्वपूर्ण समय मोबाइलमा नै खेर फाल्ने  गर्छन् । यसो हुनुमा हामी अभिभावकको पनि कमजोरी हो ।’ 

अभिभावकको व्यस्त जीवनशैली, आमा–बाबा नै कामकाजी भएकाले पनि यसको सिधा असर बालबालिकाको दैनिकीमा परेको छ । बालबालिकालाई एकछिन भुलाउन दिइने मोबाइलले उनीहरुको भविष्य बिगार्ने चिन्ता पनि उत्तिकै छ ।

प्रविधिको उपयोग, दुरुपयोग र असर  

अधिकांश बालबालिका मोबाइलमा बढी ध्यान केन्द्रित गर्दा घरपरिवार, समाज र सामाजिक संस्कृतिबाट टाढा बन्दैछन् । यसको विपरित उनीहरुमा एकान्तमा बस्न रुचाउने, अरुका कुरा नसुन्ने प्रवृत्ति बढ्दै गएको छ । 

बालरोग विशेषज्ञ डा. सुरेश साह प्रविधिको प्रयोगले बालबालिकाको मनोविज्ञानलाई समेत असर गरिरहेको बताउँछन् । ‘मोबाइल भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, छेउका मान्छेलाई बेवास्ता गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको छ’, उनले भने, ‘लामो समयसम्म मोबाइल चलाइरहँदा यसले शारीरिकसँगै मानसिक समस्या पनि ल्याउछ ।’

यसले गर्दा बालबालिकाको मांशपेशी समेत कमजोर हुने उनको भनाइ छ । ‘लामो समयसम्म मोबाइल हेरिरहँदा आँखामा समस्या आउन सक्छ । आँखा मात्रै नभएर ब्रेनमा पनि असर पर्छ’, उनले भने, ‘विस्तारै बालबालिकाको ब्रेनलाई सुस्त बनाइदिन्छ । मोबाइलले गर्दा एक्लै बस्ने, परिवारको सदस्यसँग कुरा गर्न नरुचाउने जस्ता समस्याहरु देखिन्छ ।’

उनका अनुसार बालबालिकाले प्रविधिको प्रयोग गर्दा त्यसको दुरुपयोग पनि बढ्ने र विभिन्न समस्याहरु निम्त्याउने भएका कारण अभिभावक सतर्क हुनुपर्ने देखिन्छ । अन्यता यसले बालबालिकामा मानसिकता नै खल्बल्याउने गरी उत्तेजक गतिविधितर्फ पनि लत बसाल्ने सम्भावना हुने उनको भनाइ छ । 

कसरी छुटाउने मोबाइलको लत ?

कोभिड १९ ले गर्दा स्कुल जान नपरेका बालबालिकालाई प्रविधिको प्रयोगले लत बसालेको छ । यो अहिले सामान्य देखिएपनि यसको असर विस्तारै झन् बढ्ने विज्ञहरुको भनाइ छ । त्यसैले समयमै सचेत हुनुपर्ने पनि उनीहरुको जोड छ । 

यसका लागि दिउँसो जतिबेला पनि मोबाइल दिने र राती सुत्दा पनि मोबाइलमै भुलाउने काम गर्न नहुने डा. शाह बताउँछन् । राति ओछ्यानमा बसेर मोबाइल हेर्न नदिने र एक घण्टा, आधा घण्टा गर्दै मोबाइल धेरै हेर्ने लत छुटाउन सकिने उनले जोड दिए ।

बच्चालाई मोबाइलको सट्टा अन्य खेलौना दिने, केही समय अभिभावकले बालबालिकालाई समय दिने, उनीहरुसँग घुलमिल भइदिनाले गर्दा मोबाइललगायतका अन्य विद्युतीय सामग्रीहरुको लत सजिलै छुटउन सकिने उनी बताउछन् ।  दुई वर्षभन्दा मुनिको बच्चालाई अभिभावकले मोबाइल दिन नहुने डा. साह बताँउछन् । 
‘मोबाइलको स्क्रिनको प्रकाशले बालबालिकाको आँखालाई प्रत्यक्ष असर गर्छ’, डा. साह भन्छन्, दुई वर्षभन्दा मुनीको बच्चालाई मोबाइल, ल्यापटपको स्क्रिनबाट टाढा नै राख्दा उचित रहन्छ ।’ 

सामाजिक सञ्जालमा विभिन्न प्रकारका भिडियोहरु हेरेर बच्चाहरुमा नकारात्मक धारणा पैदा हुँदा उनीहरुको मानसिकता कमजोर हुने समस्या समेत देखिने उनको भनाई छ । बच्चालाई मोबाईल प्रयोग गर्न दिदाँ उनीहरुले सामाजिक संजालमा हेर्ने सामग्रीहरुलाई अभिभावकले ध्यान दिन जरुरी रहेको उनी बताउछन् । 

समाजमा कति असर ? 

बालबालिका प्रविधिमैत्री भएपनि यसको अत्याधिक प्रयोग र लतले सामाजिक र सांस्कृतिक कुरामा ठूलो असर पार्ने समाजशास्त्री डा. चन्द्र उपाध्याय बताउँछन् ।
यसको न्युनिकरण र सही उपयोग हुन नसके सामाजिकिकरणको प्रक्रिया अवरुद्ध हुँदै गएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख रहेका उपाध्याय  बताउछन् । 

‘पछिल्लो समय बालबालिकाहरुको क्रियाकलाप घर भन्दा बाहिर कम हुन थालेको छ’,  उपाध्याय भन्छन, ‘बालबालिका घरको कोठा भित्र सिमित हुन थालेका छन् । अहिलेको  महामारीले घर भित्र नै थुनिनुपर्ने बाध्याता पनि हो । तर आजभोलि सामान्य अवस्थामा पनि परिवारको एक सदस्यदेखि अर्को सदस्यमा संवाद कम हुन थालेको छ । यसले विस्तारै पछि समस्या निम्त्याउन थाल्छ ।’

प्रविधिको अत्याधिक प्रयोगले बालबालिकाको मानसिक विकासलाई प्रभाव पार्दै गइरहेको उनको भनाई छ । मोबाइल, इन्टरनेटमा नै घण्टौसम्म अल्मलिने हुँदा परिवार साथीभाईबाट टाढा हुने भएकाले बच्चालाई सामाजिक दुरी मानसिक दबाब बढ्दै गएको उनी बताउछन् ।  पछिल्लो समय बच्चाहरुलाई दिईने अनलाइन शिक्षाले पनि बच्चाहरुको मानसिकतामा केहि असर पर्न गएको उनको भनाइ छ । 

‘हामी अहिले अनलाईन कक्षाका कुरा गर्छौ । यसको पनि कति घण्टा पढाउने भन्ने नियम छ,  छैन भने हुनुपर्छ’ उनले भने, ‘हामी भौतिक उपस्थितीसहितको कक्षामा त ब्रेकको कुरा गर्छौ । अनलाईन कक्षामा पनि ब्रेक गर्दै पढाउनु पर्छ । लामो समयसम्म अनलाईन कक्षा पढाउदा त्यसको नकारात्मक असर कलिलो बच्चाहरुमा पर्न गएको छ ।’ 

लामो समय मोबाइल, ल्यापटपमा अध्ययन गर्नु पर्ने अचेलका बालबालिकाको बाध्यता छ । त्यसपछि फुर्सद हुनेबित्तिकै इन्टरनेटमा मनोरञ्जन लिने वा भिडियो सामग्री हेर्ने बानी लागेको छ । यसले भोलिका दिनमा पारिवारिक र सांस्कृतिक समस्या आउने सक्नेतर्फ अभिभावक सचेत हुनुपर्नेमा पनि उपाध्यायले जोड दिए ।
‘समय यतिबेला नै हो, बच्चाहरुलाई सिकाउने र सम्झाउने’ उनले अन्तिममा सुझाव दिँदै भने, ‘अहिले यो समस्या विकराल बन्यो भने भोलिका दिनमा झन् जटिल बन्न सक्छ । अभिभावक सचेत हुन आवश्यक छ ।’
 


Author

थप समाचार
x