समाज

ब्लग

लकडाउनले जुत्ताको भारी...

कोभिड महामारीले रोजीरोटी गुमाउँदाको पीडा

विष्णु विश्‍वकर्मा |
साउन ५, २०७८ मंगलबार १६:३५ बजे

काठमाडौँ : केरुङबाट आएको एउटा कन्टेनर महाबौद्ध अगाडि रोकियो । वीर अस्पतालबाट इन्द्रचोक जाने गल्लीतिर । छेउमा बसिरहेका थिए, एक हुल मजदुर । सोमबार राति ९ बजे ।

कन्टेनर रोकिएपछि चालक ड्राइभिङ सिटबाट झरे । मजदुर आराम गरिरहेका थिए । मेरो पहिलो नजर मजदुरमाथि गयो । छेउमा बाइक रोकेर म पनि अडिएँ । लस्करै लागेका पाँचदेखि सात जना जति मजदुरमध्ये एक जना युवा थिए ।


अनुहार ठीकठाक थियो । तर अवोध बालक जस्तो । निर्दोष । बाध्यतामा परेको एउटा युवा जस्तो । हातमा नाम्लो बोकेका थिए । म नजिक गएँ । छेउकै किराना पसलको कान्लामा बसेँ । दुई मिनेटसम्म मैले मेरा आँखा मोबाइलमा दौडाए । सुरुमै सोध्न डर लाग्यो । युट्युबर सोच्लान् भनेर ।

म बसेको तीन मिनेटपछि उनीहरु जुरुक्क उठे । कन्टेनरको पछाडिको ढोका खुल्यो । प्लाष्टिकले छोपिएका बोराहरु भुईंमा झार्न थालियो । उनीहरु भुईंको बोरा ठड्याएर नाम्लो लगाउन थाले । म जहाँको त्यहीँ थिएँ । हेरिरहेँ । अरु पनि नाम्लो बोकेर कन्टेनरतिर गए । उनीहरुले भारी उठाए । 

लाग्थ्यो, त्यो भारी होइन । पहाड हो । टाउकोमाथिको पहाड । पिठ्युँको भाग ओगटेर मोटाई तीन मान्छे बराबर फुकेको थियो । हेर्दै भारी पहाडजत्रो ।

मेरो नजरमा परेका युवक पनि भारी बोकेर त्यसैगरी लागे । जसरी अरु लस्करै भारी बोकेर इन्द्रचोकतिर लागेका थिए । म कन्टेनर नजिक थिएँ । उनीहरु मेरो आँखाबाट अलप भए । त्यसपछि मैले फेरि आँखा कन्टेनरतिर मोडेँ । जहाँ दुई जना कन्टेनरबाट बोरा झार्दै थिए ।

दुई जना छेउमा थिए । सायद उनीहरु गाडीको स्टाफ हुनुपर्छ । म नजिक पुगेको थिइँन् । मलाई मेरो नजरमा परेका ती युवकसँग कुरा गर्नु थियो । उनीहरु हिडेको १० मिनेटपछि फर्किए । अघि भारीका भारी लिएर गएका थिए । अहिले रित्तै । हातमा मसिनो नाम्लो मात्रै बोकेर । 

कोही वीर अस्पतालतिरबाट भारी बोकेर इन्द्रचोकको अर्को बाटोतिर जाँदै थिए । उनीहरु फेरि कन्टेनर नजिक गए । म पनि उठेँ।

उनीहरु पछिपछि कन्टेनर नजिक गएँ । ती युवक चुपचाप थिए । अरुजस्तै भारी बोक्थे । भारी उठाउँथे । नाम्लो लगाउँथे । फेरि अरुजस्तै गरी बडेमानको भारी बोकेर हिड्थे । म टुलुटुलु हेरिरहेको थिएँ ।

उनीहरु अघिकै जसरी हिँडे । मैले हेरिरहेँ । उनीहरु एकछिनपछि गल्लीबाट अलप भए । फेरि मैले कन्टेनरतिर नजर दौडाएँ । १५ देखि २० वटा भारी देखिन्थे । त्यो भन्दा धेरै भारी कन्टेनरभित्रै हुनुपर्छ । मैले यस्तै अनुमान लगाए ।

उनीहरु भारी बिसाएर फेरि आए । उसैगरी नाम्लो बोकेर । जाँदा उनीहरु सरासर जान्छन् । लस्कर लागेर । कोही भने भारी बोकेर दौडिन्छन् । सायद जति धेरे बोक्यो । त्यत्ति धेरै पैसा पाइन्छ भन्ने आश होला । यो मेरो अनुमान थियो ।

उनीहरु भारी बिसाएर आए । मैले टुलुटुल हेरिरहेकै थिएF । उनीहरु फेरि आए । कन्टेनरबाट बोरा झारेको समाते । नाम्लो लगाउन थाले । म पनि  युवक नजिक गएँ । कुरा गर्नु थियो । यसरी रातमा भारी बोक्नुको रहस्य खोतल्नु थियो ।

मेरो नजरमा परेका युवक मुसुक्क मुस्कुराए । सायद मलाई देखेर होला । आफ्नै उमेरको साथी सम्झेर होला । उनी फेरि भारी मिलाउनतिर लागे । भारीमा नाम्लो लगाए । पिठ्युँ थापे । अर्कोले हल्का धकेलेपछि उनको पिठ्युमा भारी चढ्यो । उनी जुरुक्कै उठे । 

अरु बोक्नेहरुकै पछि लागे । मैले पनि पाइला चाले । उनकै पछि पछि । अलि छिटो पाइला चाले । ती युवकसँग कुरा गर्न । उनलाई भेट्टाउनु थियो । 

‘भारी के को हो नि ?’ नजिक पुगेपछि मैले पहिलो प्रश्न सोधे । 

‘जुत्ताको’ उनले जवाफ फर्काए । 

‘निकै गह्रौ होला है ?’ मैले अनुमानित प्रश्न फ्याँके । 

जवाफमा उनले ‘छैन’ भने । उनी हल्कै देखिन्थे । 

‘कहाँसम्म लैजाने ?’ मैले फेरि सोधे ।

‘इन्द्रचोक नजिकै गोदाममा’ उनले भने ।

छिर्के टिसर्ट । कालो पाइन्ट । छोटो कपाल । पछाडि टुप्पी । पाइन्टको बाउला एउटा खुट्टाबाट सुर्किएको थियो । अर्को तलैसम्म । जुत्ता कालो रङको थियो ।

अनुहारमा हल्का पसिना देखिन्थ्यो । तर उनले अरुले जसरी पसिना पुछेनन् । सायद अनुहारमा भन्दा बढी पसिना मनमा थियो । मुटुमा थियो होला ।
जुत्ताको भारी बोक्नुपर्ने बाध्यता जो थियो ।

अलि पर पुगेपछि सोधे, ‘घर कहाँ हो नि ?’ 

उनले जवाफ फर्काए, ‘जलवीरे, सिन्धुपाल्चोक ।’

मैले मेलम्ची सम्झिएँ । पहिरोले वितण्डा मच्चाउँदा बगर बनेको मेलम्ची बजार सम्झिएँ ।

‘अनि कहिले आएको यता ?’ फेरि सोधेँ ।

‘एक महिना जति भयो ’ उनले भने ।

‘कतिसम्म पढ्नु भएको छ ? यो अलि बेर रोकेर सोधेको प्रश्न थियो । किनकि उनको अनुहारमा पढाईको भोक देखिन्थ्यो । केही गर्ने र केही बन्ने सपना लुकेको थियो ।

‘प्लस टु सकाएको । तर के गर्नु ? काम पाइँदैन ।’ उनले नैराश्यता पोखे ।

थप अगाडि भने, ‘यो लकडाउनले गर्दा यस्तो काम गरेको हो, दाइ ।’

लकडाउनले  ?

उनले भने, ‘म खासमा टिप्पर चलाउँथे । तर लकडाउनले गर्दा त्यो जाटिर छुट्यो । साहुले टिप्पर थन्कायो । म सिन्धुपाल्चोक छाडेर काठमाडौँ आए’
उनले मन नलागी नलागी सुनाए । 

‘अनि घरमा को को हुनुहुन्छ ?’ मैले सोधे ।

आमा, भाइ र बहिनी ।

अनि बुवा ?

‘बुवा त हुनुहुन्न ।’ उनले यो जवाफ दिँदा मलाई पुलुक्क हेरेका थिए ।  घडीमा रातिको ९ बजेको थियो । सुनसान । उनको र मेरो संवाद चल्दै थियो । उनी भारीका साथमा । म टाउकोमा हेल्मेटका साथमा । विस्तारै हिड्दै । थोरै गफिँदै ।

‘पढेर मात्रै के गर्नु हो दाइ? यहाँ पढेर केही हुँदैन’ पछाडिबाट आएको उनको साथीले सुनायो ।

इन्द्रचोक नजिक पुग्ने बेला भयो । भारी बोकेकाहरु घरभित्र छिर्न थाले । अरु । उनले मलाई बाटो छाडे ।

ढोकाबाट छिर्दा टाउको निहुराए । भित्र छिरे । उनको भारी मुश्किलले छिरेको थियो ।

त्यसपछि भर्याङ चढे । मैले गोप्य तरिकाले फोटो खिचेँ । मोबाइलमा रेकर्डर अन गरेकै थिए । मोबाइल अगाडि राखेँ ।

‘दाइ रेकर्ड गरेको ?’ 

‘हो यार । पछि कसरी सम्झिनु त ?’ मैले भने ।

‘हुन्छ । तर भिडियो नखिच्नु है दाइ' उनले भने । 

 मैले  हुन्छ भन्दै उनलाई विश्वस्त बनाउने प्रयास गरेँ ।

‘पक्का है दाइ।’ उनले फेरि विश्वस्त बन्न चाहे ।

‘अरे यार मैले पनि भारी बोकेको छु । त्यो पनि मुम्बई पुगेर । मलाई पनि थाहा छ भारी बोक्दाको पीडा ।’ यति भनेपछि उनी ढुक्क भए ।

उनी पाँचौ तलामा उक्लिए । पहिला मै पुगेको थिएँ । माथि एक जना भारी मिलाउने बसेका थिए । हामीभन्दा पहिला पुगेकाहरुले पनि भारी बिसाए । भर्याङ यति साँघुरो थियो कि  एक जनाले भारी लिएर उक्लिदा बाँकी सबै जहाँको त्यही थुनिनुपथ्र्यो । 

माथि पुगेका सबैले भारी बिसाए । मैले फोटो खिच्ने सोचे । 

‘दाइ प्लिज यार’ उनले भने ।

‘ओके’ भनेर मैले मोबाइलको स्क्रिन अफ गरे ।

पाँचौ तलाको गोदाम पुरै भरिएको थियो । नपुगेर भर्याङको छेउमा पनि भारी राखिएको थियो ।

भारी देखेर म तल झरेँ। बाहिरबाट उनलाई कुरिरहे । नजिकै टिप्परमा माटो लोड गर्दै थिए, चार जना ।

टिप्परमा माटो राख्न उनीहरुले भर्याङ लगाएका थिए ।

अनि डोकोमा माटो लिएर हाल्थे । बाबुराम भट्टराईले बाहिरका सडक फराकिला बनाएका हुन् । गल्ली त जस्ताको त्यस्तै छन् । 

उनी पनि ढोकाबाट बाहिर आए । मुसुक्क मुस्कुराउँदै बाहिर निस्के ।

‘सँगै जाउँला भनेर नि यार’ मैले भने । 

उनी जवाफमा मुस्कुराए ।

‘ज्याला कति पाइन्छ त ब्राे ?’ 

‘त्यो कन्टेनर खाली गर्ने ठेक्का १० हजारको हो । हामी २० जना छौँ । भाग हाल्छौँ’ दोलखा घर भएका अर्का युवकले भने । उनी परिपक्व देखिन्थे । 

‘दाइ उहाँ पनि डाइभर हो नि’ उनले भने । 

म उनीतिर हेरेर मुस्कुराए । 

‘के गर्नु त लकडाउनले सारा रोजीरोटी खाइदियो । यी भारी बोकेर पेट पाल्नु परेको छ’ उनले भने । 

कन्टेनर नजिक पुग्न लागेका थियौँ ।

तिनैले फेरि भने, ‘देशै यस्तो छ । हामी मात्रै हो र ? नेता हुन सकिएन । जनता भएर बाँच्न गाह्रो छ, दाइ।’

भ्रष्टाचारी प्रवृत्ति र नेताहरुको चर्तिकलाप्रति उनले व्यंग्य कसे । तर मनको पीडा त्यही थियो ।

‘साँच्चै तपाईको नाम के हो ?’ छुट्नै लागेको संकेत गर्दै मैले सोधे ।

‘राज हो दाइ । राज के हो ?’ फेरि मैले सोधे ।

‘राज थामी हो । उहाँको नाम पनि राज नै हो । हामी दुवै जना राज ।’
 
राजहरुका दराज भरिने पीडा सुनेर मैले बिदाइका हात हल्लाएँ । उनीहरु कन्टेनरतिर लागे । म मेरो बाइकतिर ।

मोबाइलको स्क्रिनमा १० बजेर १५ मिनेट गएको थियो । बाइकको स्टार्ट बटन थिचेर म वीर अस्पताल हुँदै घट्टेकुलो लागे ।

सोचे, कोभिड १९ महामारीले निम्त्याएको लकडाउनका कारण यसरी उठिबास लाग्ने कति होलान है ?
 
राजले नै भनेको कुरा सम्झिए । ‘नेताहरु बाहेक । सबै ।’ 


Author

थप समाचार
x