समाज

श्रीमान मारिएको बीस वर्ष

२०५९ मंसिर ३० को त्‍यो कहाली लाग्दो रात..

जितेन्द्र थापा |
साउन ७, २०७८ बिहिवार १३:१० बजे

सुर्खेत - ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी लछु थापा ४३ वर्षकी भइन् । कलिलै उमेरमा विवाह गरेकी लछु थापा र उनका श्रीमान जनक थापा नमूना जोडी थिए । जिन्दगीमा सँगै सुख–दुःख साट्ने इच्छा थियो । तर, जीवन सोचे जस्तो कहाँ हुन्छ र ? २३ वर्षकै हुँदा उनको खुसी खोसियो ।

२०५९ मंसिर महिनाको ३० गते त्यो कहाली लाग्दो रात लछुका लागि कहिले नबिर्सिने कालो रात भइदियो । खाना खाएर परिवारसँग सुतेका थिए, दैलेख ठाटीकाँध गाउँपालिका-२ टोम्टाल्लाका लछु थापा दम्पती ।  


लछु सुत्केरी भएको पाँचौ दिन भएको थियो । छोरा र सुत्केरी श्रीमतीसँगै सुतेका जनकलाई एक्कासी राति माओवादीले अपहरण गरी लगे । ‘राति एक्कासि ढोकामा ढकढक गरेको आवाज आयो र गाउँकै चिनेको मान्छेले ढोका खोल्नुस्, जनक सरसँग एकछिन काम छ भने अनि मैले ढोका खोलेँ,’ लछुले भनिन्, ‘बैठकमा सरलाई लिनु पर्नेछ भनी सोह्र जनाको टीमले जबर्रजस्ती लगी मेरा श्रीमानलाई हत्या गरेँ । त्यो रात सम्झिँदा जिउभरि काडा उम्रिन्छ ।’ 

ठाटीकाँध २ घर नजिकैको डाँडा वनको पिपल चौताराको वरको रुखमा जनकलाई झुण्ड्याउँदै हत्या गरेका रहेछन् । नेपाली कांग्रेसमा आस्था भएकै कारण आफ्ना श्रीमान्लाई झुण्ड्याएर निर्मम तरिकाले मारिएको लछुको भनाइ छ । ‘आफ्ना श्रीमानका हत्याराहरू खुलेआम हिँडिरहेको जस्तो लाग्छ,’ लछुले भनिन्, ‘राज्यबाट मलाई अरु केही आश छैन । तर दोषीलाई कारबाही भएपछि मात्र मेरो श्रीमानको आत्माले शान्ति पाउनेछ ।’

बीस वर्ष बित्दा पनि न्याय पाइएन
कलिलै उमेरमा लछुको सिउँदो पुछियो । श्रीमान गुमाएपछि दुई छोराको मुख हेरेर दिन गुजारिरहेको बताउँछिन् । जबसम्म श्रीमानको हत्यारालाई कानुनी कठघरा ल्याइँदैन, तबसम्म परम्परागत क्रियाकाज नगर्ने उनको अडान छ । त्यतिबेला माओवादी ‘जनयुद्ध’ उत्कर्षमा थियो । गाउँका युवा–युवतीलाई माओवादीले अपहरण गरेर लगेको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ जनकका बुबा बलबहादुरलाई डर थियो ।

बुहारी पाँच दिनको सुत्केरी थिइन् । ‘म घरको माथिल्लो तलामा सुतेको थिएँ, छोराबुहारी तल्लो भुइ तलामा सुत्थे । राति माओवादीले छोरालाई लिएर गएछ,’ बल थापाले सम्झिए । छोरालाई अपरण गरेर लिएको केही समयपछि मात्र थाह पाए । जनकका बाबु बलबहादुर थापाले भने, ‘छोरालाई छुटाउन भनेर पछि–पछि गए, उल्टै आफैँ उनीहरुबाट लखेटिए, म त भागेर बाँच्न सफल भए छोरा बचाउन सकिएन ।’

जीवनमा दुःखै दुःख झेलेका बलबहादुरको एउटै मात्र धोको छ ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू बा आमाले छोरा र श्रीमतीले श्रीमान गुमाएको पीडा भोग्नु नपरोस् ।’


Author

थप समाचार
x