समाज

विश्व सम्पदा सूचीबाट हट्यो बेलायतको ‘लिभरपुल’सहर

इकागज |
साउन ८, २०७८ शुक्रबार १३:१९ बजे

काठमाडौँ :  बेलायतको ‘लिभरपुल– मेरीटाइम मर्केन्टाइल सिटी’  विश्व सम्पदाको सूचीबाट हटेको छ । विश्व सम्पदा समितिको चीनमा जारी ४४ औं अनलाइन अधिवेशनले लिभरपुललाई सूचीबाट हटाउने निर्णय गरेको हो । 

लिभरपुलको यो सुन्दर सहरको विशिष्ट सार्वभौमिक मुल्यमान्यतामाथि आघात पुग्ने खालका क्रियाकलाप नरोकिएको भन्दै सूचीबाटै हटाएको युनेस्कोले जनाएको छ । यो सहरलाई सन् २००४ मा विश्व सम्पदा सूचीमा राखिएको थियो । 


लिभरपुल वाटर्सले महत्वकांक्षी ३० वर्षे विकास योजना प्रस्ताव गरेको थियो । जसमा सहरको स्वरुप परिवर्तन गर्ने योजनाहरू थिए । यो योजनाअन्तर्गत लिभरपुलको बफर जोनहरू र अन्य डकल्यान्ड क्षेत्रमा जथाभावी विकास हुन थाल्यो । यहाँ भएका निर्माण कार्यले यो लिभरपुल– मेरीटाइम मर्केन्टाइल सिटीको प्रामाणिकता र अखण्डतामाथि असर गरेको भन्दै २०१२ मा समितिले विश्व सम्पदाको खतरको सूचीमा राखेको थियो । 

१८ औं र १९ औं शताब्दीमा यो सहरको स–सानो जहाज राख्ने ठाउँ विश्वको मुख्य व्यापारको केन्द्र थियो । साथै जहाज राख्ने, पठाउनेलगायत व्यवस्थापनको आधुनिक प्रविधिको विकासको लागि पनि यो ठाउँ चिनिएको थियो ।  

कुनै पनि सम्पदा विश्व सम्पदाको सूचीबाट हट्नु भनेको विश्व समुदायकै लागि ठूलो नोक्सानी भएको युनेस्कोले जनाएको छ । जर्मनीको ड्रेड्सन एल्बा भ्याली र ओमानको द अरेबियन ओरेक्स सेंक्चुअरी पछि विश्व सम्पदा सूचीबाट हट्ने यो लिभरपुल– मेरीटाइम मर्केन्टाइल सिटी तेस्रो बनेको छ । 


 


Author

थप समाचार
x