समाज

दैलेखमा बालीघरे प्रथा कायमै, काम छ, दाम छैन

जितेन्द्र थापा |
साउन ९, २०७८ १७:३५ बजे

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकाम अझैं पनि बालीघरे प्रथा कायम छ । ठाटीकाँधसहित जिल्ला विभिन्न क्षेत्रमा करिब डेढ सय बढी परिवार बालीमै आफ्नो श्रम बेच्न बाध्य छन् । आरन चलाएर गुजारा चलाउने उनीहरू श्रमको मूल्य नपाएको गुनासो गर्छन् । ठाटीकाँध-२ का रघे लुवारलाई गाउँमा सबैले (आरन्या रघ्या बाजे) भनेर चिन्छन् । उमेरले ७४ पुगे । तर अहलिे पनि उनले आरनको काम गरिरहेकै छन् ।
 
‘गाउँपालिका १ र २ वडाका करिब चार सय घरधुरीबाट भाडावर्तन ल्याएर आउँछन्,’ उनले भने, ‘बिहान पाँच बजे उठ्छु । एक जना प्रति दश देखि १२ वटा आँसी(हसिया) कोदाला बनाउँदै र धार लाउदै १२ बजेको पत्तै हुँदैन । यसरी बिहानैदेखि काम गर्दा पनि साँझ बिहानको छाक टार्नै मुस्किल हुन्छ । श्रमअनुसारको ज्याला मिल्दैन ।’
 
पूर्खाले गर्दै आएको काम उनले १५ वर्षको उमेरदेखि गर्दै आएको सुनाए । ‘पहिले बाबु-बाजेले गर्दै आएका थिए । सानै उमेरमा साहुको घरमा हलो जोत्‍ने, मल फाल्ने, बाली लगाउने काम गरेँ,’ उनले भने, ‘पछि पन्ध्र/सोह्र वर्षको उमेरमा साहुको काम छोडेर बाबुबाजेकै पेशा रोजेँ ।’ 

दैलेख ठाटीकाँधको गैरेगाँउ, विशाला, माचखर्क, लकान्द्र, तोलीजैसी, आग्र, भम्क, पाँचलालगायतका करिब ४०/४५ घर भन्दा बढी परिवार आरनकै भरमा गुजारा चलाउन बाध्य छन् ।


ADVERTISEMENT

वृद्धले धानेको पेशा 

आरन पेशा गरेर जीवन धान्न मुस्किल भएपछि नयाँ पुस्ताले चासो दिन छोडेका छन् । श्रम गरेबापद् बाली(अन्न) मात्रै पाउने भएकोले युवाहरू आरनको काम गर्न मन लगाउँदैनन् । आरनमा भाडाबर्तन बनाएबापत उनीहरूले खलो (काम गरेबापतको पाउने अन्न) उठाउँछन् । अर्थात बाली पाउछन् । 

गाउँभरका भाँडा बर्तन बनाएर प्रति परिवार उनीहरूले एक सुपो अन्न पाउँछन् । युवाहरूले यसलाई हेयको दृष्टिले हेर्छन् । बुढापाकाहरूले मात्रै आरन पेशा धानिरहेका छन् । खान लाउनै नपुग्ने भएपछि युवा पुस्ताले आरनको काम गर्न मन नलगाएको रघे लुहारको भनाइ छ । 

कोइला नहुँदा पेशा संकटमा

आरनका लागि आवश्यक पर्ने कोइला समेत पाउन छाडेपछि पेशा नै संकटमा पर्न थालेको रघे लुहारले बताए । कोइलाको विकल्पमा आधुनिक आरन व्यवस्थापन गरिदिए सहज हुने भोटे लुवार बताउँछन् । 

‘आरन पेशा गरेर जीवन धान्नेका लागि सरकारले आधुनिक आरन सम्बन्धी सीप र उपकरण उपलब्ध गराइदिए सहज हुने उनको भनाइ छ । आरन काम गरेबापत् बाली मात्रै नभइ निश्चित पारिश्रमिक दिनुपर्ने उनको भनाइ छ । श्रमको मूल्य नै नउठ्ने गरी अन्न मात्र दिइनु शोषण भएको उनले बताए 

विनियोजित बजेट कार्यान्वयन भएन

गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासको लागि छ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, उक्त बजेट कार्यान्वयनमा जानै सकेन । आर्थिक वर्ष ०७७/७८ मा छ लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाले बताए । तर, यो वर्ष समय अपुग भएकाले कायन्वयन हुन नसकेको उनले बताए ।


 



Author

थप समाचार