समाज

अपांगता दिवस

स्कुलभन्दा कलेज, गाउँभन्दा सहरमा सकस

विमल आचार्य |
मंसिर १८, २०७७ बिहीबार १७:२४ बजे

बार्पाक सुलिकोट-८, पन्द्रुङमा जन्मिएकी सरिता लामिछानेले गोरखाको अमरज्योति माविबाट विद्यालय शिक्षा पूरा गरिन् । त्यसपछि उनले काठमाडौँका होस्टलहरूमै बसेर एमएसम्मको पढाइ पूरा गरिन् । गाउँको विद्यालय पढ्दा बरु जति सुविधा थियो, त्यति सहज सहरका कलेज पढ्दा नभएको उनको अनुभव छ । प्रयत्न नेपालको संस्थापक अध्यक्ष उनी सप्रोस नेपालमा लैंगिकता तथा सामाजिक समावेशीकरण (जेसी) विशेषज्ञका रूपमा कार्यरत छिन् । जन्मजात दृष्टिविहीन सरितासित अपांगता दिवसको सन्दर्भमा इकागजका विमल आचार्यको कुराकानी :  

तपाईं लैंगिक विशेषज्ञका रूपमा कसरी मोडिनुभयो ? 
काठमाडौँ आएपछि कलेज पढ्दा विभिन्‍न संस्थामा स्वयंसेवा गर्थें । त्यति बेला कति कुरा थाहा पाउँदै, भोग्दै गइयो । म होस्टल बस्थेँ । प्लस टु पढ्दा नेपाल नेत्रहीन संघ, ब्याचलर्स पढ्दा नेपाल महिला अपांग संघ, मास्टर्समा त्रिभुवन विश्‍वविद्यालयको होस्टलमा बसेर पढेँ । पढ्दाओर्दा तीता-मीठा अनेक अनुभव सँगाल्दै गइयो । 


जस्तै, कस्तो अनुभव ? 
मूलतः बाटोमा हिँड्दा, गाडीमा हिँड्दा, बाटो काट्न सघाइदिने बहानामा हिंसा सहनुपर्ने । तीता भोगाइका कारण मैले प्रतिरक्षाको तालिम पनि लिएँ ।  

सहर त यातनालय जस्तै छ है ? 
हो नि । यहाँका संरचना अपांगतामैत्री कहिले होलान्, जब कि न्यूनतम मानवतामैत्री पनि छैनन् । अस्पतालमा हामी एक्लै गएर स्वास्थ्य जचाउने अवस्था छैन । अपांगता त्यसमा पनि महिला दोहोरो हिंसामा छन् । 

हाम्रो सहरी-सडक र मातेको मान्छेका भाषण (यहाँ साहित्यमै स्नातकोत्तर हुनुहुन्छ) बारे यहाँको टिप्पणी के छ ? यात्रानुभव सुनाउनुस् न ।  
अनुभव कति छन् छन् । यहाँ ढल खुलै छोडिन्छ । बाटाघाटा खाल्डैखुल्डीयुक्त छन् । मैले ढलमा परेर बिजोग सहनुपरेको छ । काममा हिँडेकी म ढलका कारण फोहोर लुगा र चोटसहित बीचैबाट होस्टल फर्किनुपरेको छ । त्यति बेला म कम्युटर सिक्थेँ । जाँदै थिएँ, बीच बाटैमा म ढलमा परेँ । क्लास नगई होस्टल फर्केँ । एकचोटि सानेपाको कुरा । खै किन हो, ह्वाइट केन देखेपछि भुस्याहा कुकुर एकदम भुक्छन् । मलाई तिनले लेखेटेपछि भाग्दाभाग्दा अलमलिएकी छु । कहाँ जाने, कहाँ जाने भएको थियो मलाई । अनि यस्तोमा सहयोग गर्नेभन्दा सहानुभूति देखाउन, अस्वाभाविक रूपमा छुन खोज्नेहरू भेटिँदा दिक्क पनि लाग्छ । तर, समय र चेतना पहिलेभन्दा राम्रो पनि हुँदै छ । 

बस-यात्रा पनि सजिलो त कहाँ होला र  ?
पक्कै हुँदैन । सवारी सीमित छन् यहाँ । भद्रगोल उस्तै । चालकहरू पहिलेभन्दा अहिले त अलिकति संवेदनशील हुनुभको छ । चालक-सहचालकले सिट छोडिदिनु भन्दा पनि यात्रुहरूले नै ‘किन छोड्ने’ भन्‍ने खालको ‘एटिच्युड’ दिन्छन् । चालक-सहचालकभन्दा ती यात्रु नै पढेलेखेका हुँदा हुन्, के भन्‍ने अब तिनलाई ! अफिसका लागि गाडी कुर्दा ‘यस्ता आँखा नदेख्‍नेहरू अफिस टाइममा भन्दा दिउँस निस्के हुने नि’ भन्‍ने पनि सुन्छु । अफिसटाइम त हाम्रो पनि उही हो नि । 

अपांगतालाई हेर्ने हाम्रो मानसिकता किन नबदलिएको होला त ? 
त्यही त । शिक्षा र चेतना भन्छौँ । यो अनिवार्य छ तर आफू अरु भएर सोच्‍ने सोच नआउनु विडम्बना हो । नागरिक-नागरिक, घर-परिवार, टोल-छिमेक, कार्यालय–विद्यालय सबैतिर भौतिक र मानसिक रूपमा परिवर्तन आउन जरुरी छ । अलिअलि त आएको पनि छ । पर्याप्त छैन । दृष्टिविहीन मान्छेहरू कि त सडकमा गीत गाउँछन्, कि त बढी भए शिक्षकसम्म हुन्छन् भन्‍ने मानसिकता छ । मिडियाले पनि सडकमा वा युट्युबमा गाउनेहरूको मात्र होइन, सक्षम भएर दृढ भएर काम गरिरहेकाहरूका कथा बाहिर ल्याउनु आवश्यक छ । 

बौध्दिक अपाङ्गता भएका व्यक्तिहरूलाई जबर्जस्ती बन्ध्याकरण र बिना परामर्श गर्भ निरोधको साधन प्रयोग गर्न लगाइन्छ । 

अघि पढाइको कुरा भइरहेको थियो, यही कुरामा जोडिऔँ न ?
दृष्टिविहीनका लागि किताब नै नहुने । उस्तै छ समस्या । स्कुल पढ्दा अनिवार्य विषयका किताब ब्रेलमा पाइए पनि ऐच्छिक विषयका किताब थिएनन् । कलेज लेभलमा त कुनै पाठ्यपुस्तक पनि पाइएन ब्रेललिपिमा । मेरो बुबाले किताब रेकर्ड गरिदिएर नै मैले सुनेरै पढ्न पाएँ । 

परीक्षा दिन चैं कत्तिको अप्ठेरो छ  ? 
म यहाँलाई एउटा कुरा सुनाउँछु । मदन भण्डारी कलेजमा प्लस टु पढ्दाको कुरा । म त्यहाँ ११ कक्षामा फ्याकल्टीमा सेकेन्ड भएकी थिएँ । एक जना शिक्षकले भन्‍नुभयो— तिमी फ्याकल्टी सेकेन्ड भएकामा मलाई त्यति उ लागेको छैन । मैले ‘किन र सर ?’ भनेँ । ‘सहयोगीले लेखिदिन्छ नि त,’ उहाँले भन्‍नुभयो । म छक्क परेँ । सहयोगी राख्नु त हाम्रो बाध्यता हो नि । मैले भनेँ, ‘मेरा सहयोगी लेखक त अहिले ९ कक्षामा पढ्छन् ।’ सहयोगी साथीको अर्को पनि घटना सुनाउँछु तपाईंलाई । लोकसेवाको विद्यालय निरीक्षकको परीक्षा दिँदाको कुरा हो । लोकसेवामा सहयोगी साथी लोकसेवाले नै तोक्छ । मेरो सहयोगी साथी यस्तो पर्नुभयो कि मैले प्रकृति भन्दा उहाँ पकिर्ती बुझ्‍ने अनि यस्तै लेख्‍ने । परीक्षामा राम्रो व्यवस्था नहुँदा आफूले मात्र तयारी गरेर नहुने, अर्कैको भर पर्नुपर्ने सिस्टममा मलाई विश्‍वास भएन । 

तपाईंले स्थायी शिक्षकमा नाम पनि निकाल्नुभएको रहेछ, किन त्यता लाग्‍नुभएन ? 
हो, मैले शिक्षक सेवा आयोगको परीक्षा पास गरेकी थिएँ । खुला, महिला र अपाङ्ग तीनवटैमा नाम निकालेकी थिएँ । भोलिपल्ट नेतृत्व विकाससम्बन्धी तालिमका लागि म केरला जानु थियो । मलाई र मेरो परिवारलाई धेरैले यो गलत भयो भन्‍नुभयो । त्यता जनाऊ नै भनियो । तर, मैले अन्तर्मनको आवाज सुनेँ । आफ्नो मात्र करियर सुरक्षित गर्ने भन्दा पनि आफूजस्ता र धेरैको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने केही गर्नुपर्छ भन्‍ने भएपछि म जागिरतिर लागिनँ ।  

चालक-सहचालकले सिट छोडिदिनु भन्दा पनि यात्रुहरूले नै ‘किन छोड्ने’ भन्‍ने खालको ‘एटिच्युड’ दिन्छन् ।

साहित्य पढ्नुभएको रहेछ, साहित्य पनि लेख्नुहुन्छ कि ?
मैले लेखेका १३० वटा गजल तयार छन् । निकाल्छु होला । 

अब अलिकति रिसउठ्दो प्रश्‍न गरौँ ?
हुन्छ, सोध्‍न सक्नुहुन्छ । 

तपाईं जेसी-विज्ञ हुनुहुन्छ । तपाईंलाई कसैले सरिताजी तपाईं एकदम राम्री हुनुहुन्छ भन्यो भने तपाईंलाई कस्तो लाग्छ, के भन्‍नुहुन्छ ? 
हाहा.., यसमा दुइटा कुरा हुन्छ । कसले कसरी भनेको हो, कुन बेला कहाँ भनिरहेको छ । आँखा नदेखौँला तर हामीलाई त्यो नियत थाहा हुन्छ । राम्ररी भनेको कुरामा रिसाउने कुरा हुँदैन । राम्रो वा राम्री भन्‍न मज्जाले पाइन्छ । तर कसरी भनिएको छ, त्यसमा भर पर्छ । 

अपांगतालाई समग्रतामा सम्बोधन गर्न के गर्ने होला त ? 
समस्या धेरै छन् । दृष्टिविहीनहरूले परीक्षामा लेख्‍न अझै पनि सहयोगी लेखकमा निर्भर भइरहनुपरेको छ । यो अन्त्य हुनुपर्छ । ह्विलचेयरमा सहजतासाथ हिँड्न सक्ने खालको सडकपेटी पनि छैन । बहिराहरूले सहजतासाथ साङ्केतिक भाषाको प्रयोग गर्न पाइरहेका छैनन् । बौध्दिक अपाङ्गता भएका व्यक्तिहरूलाई जबर्जस्ती बन्ध्याकरण र बिना परामर्श गर्भ निरोधको साधन प्रयोग गर्न लगाइन्छ । कम्तीमा यस्ता समस्या सुल्झाउनतिर सोच्‍न सकियो भने आशावादी हुन सकिन्छ ।

 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x