समाज

सिसामा चित्र कोर्ने लासेवा

इकागज |
साउन १२, २०७८ मंगलबार १५:१८ बजे

काठमाडौँ - इटहरीकी लासेवा सुब्बा पेन्टर हुन्, पत्रकार हुन् । उनी एनटिभी इटहरीमा क्यामेरा पर्सनको काम गर्छिन् । २० वर्षीया सुब्बालाई पत्रकारितासँगै पेन्टिङ पनि उत्तिकै मन पर्छ । 

सानैदेखि पेन्टिङमा रुचि राख्ने उनले केही समयदेखि ‘ग्लास पेन्टिङ’ सुरु गरेकी छिन् । उनी सिसामा चित्र कोर्छिन् । उनले सिसामा कोरेको चित्र कसैले साथीभाइलाई उपहार दिन्छन् । कसैले आफ्नो वाल सजाउन प्रयोग गर्छिन् ।  


पेन्टिङमा रुचि राख्ने उनले यो आइडिया टिकटकबाट लिएकी हुन् । ‘एकदिन टिकटक चलाउँदा चलाउँदै यो देखेर ट्राइ गरेँ,’ उनले भनिन्, ‘राम्रो बन्न थालेपछि झन् धेरै बनाउन मन लाग्यो ।’ उनले सिसामा चित्र उतार्न थालेको चार महिना भयो । सुरुसुरुमा उनी आफ्नो चिनजानमा भएकालाई यत्तिकै बनाइदिन्थिन् । माग बढ्न थालेपछि उनले ‘प्यासन’लाई ‘प्रोफेसन’मा बदल्ने विचार गरिन् । अहिले उनी चित्र बनाउँदिनन् मात्रै बेच्छिन् पनि ।

पेसाले पत्रकार भए पनि पेन्टिङ पनि उत्तिकै प्यारो छ, सुब्बालाई । त्यसैले उनी अफिस भ्याएर बचेको समय पेन्टिङमा खर्चिन्छिन् । ‘बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अफिस जान्छु,’ उनले भनिन्, ‘बाँकी बचेको समय पेन्टिङमा खर्च गर्ने गरेको छु ।’ नयाँ–नयाँ मान्छे भेट्न पाउने र नसुनेका कुरा सुनाउन पाउने भएकाले पत्रकारिता पनि उनको रुचिको विषय हो । तर, दुवै पेसा एकैचोटि लैजानपर्ने भएकाले उनलाई समय व्यवस्थापन गर्न भने एकदमै गाह्रो हुन्छ । ‘आफूलाई इच्छा लागेको काम भएपछि जसरी पनि म्यानेज हुने रहेछ,’ उनी भन्छिन्, ‘ धेरै अर्डर आएको बेला अफिसबाट घर जानेबित्तिकै पेन्टिङ गर्न थाल्छु ।’ 

केही दिनअघि उनले आफूले बनाएका पेन्टिङ फेसबुकमा राखिन् । राम्रो प्रतिक्रिया आएपछि उनी यतातिर हौसिन थालेकी छिन् । बिदाको दिन उनी पेन्टिङमै बिताउँछिन् । आफूले बनाएका पेन्टिङ उनी ग्राहकसम्म कुरिअरबाट पुर्‍याउँछिन् ।

सिसाको समान भएकाले कहिलेकाहीँ फुट्ने डर हुन्छ । जतनसँग प्याक गर्नुपर्ने हुन्छ । डेलिभरी गर्दा पेन्टिङ फुट्यो भने उनी पैसा फिर्ता गरिदिन्छिन् । नभए अर्कै बनाइदिन्छिन् । पेन्टिङ बनाउन लाग्ने समय भने पेन्टिङको साइजअनुसार भर पर्ने उनले बताइन् । ‘कति समय लाग्छ भन्ने कुरा साइजअनुसार हुन्छ,’ उनले भनिन्, ‘सानो बनाउन धेरै समय लाग्दैन । ठूलो बनाउन दुई दिनदेखि तीन दिन पनि लाग्न सक्छ ।’ अहिले उनलाई चित्र बनाइदिन भन्दै दैनिक थुप्रै अर्डर आइरहेका छन् । 

लासेवाले समाजिक सञ्जाललाई सदुपयोग गर्न सके धेरै कुरा सिक्न सक्ने बताइन् । ‘सामाजिक सञ्जालले हाम्रो जीवनमा धेरै प्रभाव पारेको छ,’ उनले भनिन्, ‘यसलाई सदुपयोग गर्न सके धेरै राम्रा–राम्रा काम सिप सिक्न सकिन्छ । त्यसलाई आफ्नो जीवनमा लागू गर्न सकिन्छ ।’


Author

थप समाचार
x