समाज

जति मेहन्दी गाढा उति बढी खतरा

इकागज |
साउन १३, २०७८ बुधबार ६:५३ बजे

काठमाडौँ- धेरैको मान्यता छ, जति गाढा मेहन्दी हुन्छ प्रेमी वा श्रीमान्‌बाट उति बढी माया पाइन्छ । जसको कारण मेहन्दीले हात रङ्ग्याउन चाहने महिलाहरू मेहन्दीको रङ गाढा भएको रुचाउँछन् । तर,  स्वास्थ्यका हिसाबले गाढा मेहन्दी हानिकारक हुने जनस्वास्थ्यविद् बताउँछन् ।

बजारको तयारी मेहन्दीलाई गाढा बनाउनको लागि विभिन्न किसिमका केमिकल प्रयोग गरिएको हुन्छ । त्यस्ता केमिकलले मेहन्दीको रङ कडा त बनाउँछ तर कतिपयमा यसले छालाको समस्यासमेत निम्त्याउँछ । बजारमा जथाभावी पाइने सस्तो केमिकलयुक्त मेहन्दीले स्वास्थ्यमा पनि निकै हानी पुर्‍याउँछ ।


मेहन्दीबाट एलर्जी भएकाहरू यसबाट टाढै बस्नुपर्छ । आफूलाई असर गर्छ भन्ने थाहा हुँदाहुँदै लगाउनु हुँदैन । मेहन्दी  छालाको भित्री भागसम्म पुगेर लामो समयसम्म बस्छ । केमिकलयुक्त मेहन्दी  पर्‍यो भने त्यहाँ मेहन्दी मात्रै नभएर केमिकलले पनि छालाभित्र बस्छ र असर गर्छ ।

साउन महिनामा महिलाबीच मेहन्दी लगाउने प्रतिस्पर्धा जस्तो देखिन्छ ।  धेरैले धार्मिक आस्थाको अभिव्यक्तिको रूपमा पनि मेहन्दी लगाउँछन् ।  तर, आजभोलि फेसनले यी दुई मान्यतालाई पछ्याइ रहेको छ । तर, मेहन्दी लगाउँदा थुप्रै असर देखिन्छ ।

यसका मुख्य असर हुन् : 
हात चिलाउने,
रातो हुने,
पोल्ने,
सुन्निने वा डाबर उठ्ने,
हातमा कालो दागहरू बस्ने,
एलर्जी हुने,
छाला पोल्न,

कतिपय मेहन्दीमा क्यान्सर बनाउने केमिकलको प्रयोग गरिएकोसमेत पाइएको छ । केमिकलयुक्त मेहन्दीले क्यान्सरमात्र नभएर छालाको भित्री अंगसम्म पुगेर मृगौलामा समेत असर गर्न सक्छ । साउनमा लगाउनै मन लागे परे पनि प्राकृतिक मेहन्दी मात्रै लगाउनुपर्छ । बजारमा कोनमा पाइने मेहन्दीभन्दा गाउँघरमा पाइने मेहन्दीको पात सुकाएर धुलो बनाएर लगाउन सकिन्छ । 

गर्भवती र बालबालिकालाई झनै खतरा 
बजारिया मेहन्दीमा मिसाइएको केमिकलले स्वास्थ्यमा असर गर्ने भएकाले गर्भवतीका लागि यो घातक छ । यसले गर्भवती महिलालाई मात्र नभएर उसको गर्भमा भएको बच्चालाई समेत असर गर्छ । त्यस्तै बालबालिकाको हकमा पनि मेहन्दी हानिकारक छ । उनीहरूको कलिलो छालालाई पनि बजारिया मेहन्दीले राम्रो गर्दैन । यसको असरबारे गर्भवती महिला र बालबालिकाले बुझ्नु जरुरी छ ।


Author

थप समाचार
x