समाज

मानव बेचबिखन आरोपमा दुई युवती पक्राउ

सुभाष कर्ण |
साउन १३, २०७८ बुधबार २०:१७ बजे

जनकपुरधाम - पर्सा प्रहरीले आर्केष्ट्रामा काम लगाई दिने प्रलोभनमा पारी एक बालिका र एक युवतीलाई भारतमा बेचेको आरोपमा दुई युवतीलाई पक्राउ गरेको छ । झापा जिल्लाबाट एक १६ वर्षीया बालिका र एक २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा बेचबिखन गरेको सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको  हो ।

 वीरगञ्ज महानगरपालिका- १६ ईनरवा स्थित सिमानाबाट झापा जिल्ला विर्तामोड ९ कि २० वर्षीय लक्ष्मी दास र सुनसरी ईटहरी १२ कि १९ वर्षीया खुशबु विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । 


आरोपितहरूले “पर्साको बीरगञ्ज शहरमा पुर्‍याइ अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने” प्रलोभन देखाई बीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भनी झुक्याएर भारतको बिहार राज्यको छौँडादानो लगेका थिए । उनीहरूलाई त्यहाँ मोबाइलसमेत खोसेर कोठामा बन्धक बनाएर राखिएको अवस्थामा भारतीय प्रहरीले छापामारी उद्धार गरेको खनालले जानकारी दिए । 

प्रवक्ता खनालले आरोपितहरूविरूद्ध मानव बेचबिखन तथा ओसार पसार आरोपमा मुद्दा दायर गरीअदालतबाट ७ दिनको म्याद थप गरी घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x