समाज

चामे-तिमाङ सडकमा सवारी आवतजावत

इकागज |
साउन १७, २०७८ आइतवार १३:१० बजे

फाइल तस्बिर

मनाङ - सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ ।

पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा सहज भएपछि माथिल्लो मनाङको आवतजावत सञ्चालन भएको उनले बताए । नदीलाई पहिलाकै धारमा फर्काउन सकिएकाले आवतजावतमा सहज भएको उनले बताए ।  


गत असारको पहिलो साता आएको वर्षासँगै नदीमा आएको बाढीपहिराले चामेको उक्त पुल अवरुद्ध भएको थियो । पुल थुनिएसँगै नदीको बहावले चामेस्थित लोकप्रिय मावि र विद्यालय नजिकै रहेको झोलुङ्गे पुलमा नदीले कटान गरी क्षति पुर्‍याएको थियो । झण्डै डेढमहिना अवरुद्ध रहेको पुल खोल्नका निम्ती सशस्त्र प्रहरीको पर्वतीय उद्दार शिक्षालयको टोलीसमेत खटिएको थियो ।

अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरो र मस्र्याङ्दी नदीमा आएको बाढीका कारण लमजुङ-मनाङ सडकखण्डमध्ये सदरमुकाम चामेदेखि तिमाङसम्म मात्रै यातायात सञ्चालन भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।  

अवरुद्ध सडकमध्ये जिल्लाको कोतोमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएको उनले बताए । त्यसअघि क्षतिग्रस्त सडक खण्डको स्यार्कु खोलामा अस्थायी काठे पुल राखिएको र थानचोक खोलामा ग्याबिन पर्खाल लगाएर सवारीसाधन सञ्चालन गराइएको प्रजिअ लामिछानेले जानकारी दिए । सडक पुनःनिर्माणसँगै गाउँपालिकाअन्तर्गत तिमाङ गाउँदेखि सदरमुकाम चामेसम्म पुग्न सहज भएको छ ।

बेँसीशहर-चामे सडक ट्याक खोलेको नेपाली सेनाका तत्कालीन कमाण्डर इञ्जिनीयर इन्दिवर गुरुङसहितको टोलीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेको थियो । (रासस)
 


Author

थप समाचार
x