समाज

कागजमा पूर्ण खोपयुक्त घोषणा !

जो खोप लगाउन जाँदा कर्णालीमा हेलिए !

विनोद देवकोटा |
साउन २०, २०७८ बुधबार १८:८ बजे

तस्बिर सौजन्यः पदम भुल

काठमाडौँ - आइतबार बिहान कैलालीको मोहन्याल गाउँपालिका-३ राँगामलेखाका ८ जना महिलाले खोप लगाउन जाने साइत गरे । बिहान साढे ८ बजेतिर घरबाट निस्केका उनीहरू १० बजे कर्णाली नदी छेउ पुगे । गर्भवती र नाबालक बालबच्‍चासहित हिँडेका उनीहरूको गन्‍तव्‍य थियो सुर्खेतको चौकुने गाउँपालिका-४ स्थित बिजौरा स्वास्थ्य चौकी । 

स्थानीय पदम भुलकाअनुसार आफ्नै वडामा रहेको स्वास्थ्य इकाइ पुगेर फर्किन पूरै दिन लाग्छ । वडा नम्बर ६ सोल्टामा रहेको स्वास्थ्य चौकी पुग्न पनि उनीहरूलाई चार/पाँच घण्टाको बाटो पैदल हिँड्नुपर्छ । छोटो बाटो र समयको पनि बचत । ज्यान जोखिममै राखेर भए पनि बर्खाको उर्लदो कर्णाली तर्न होमिए । तर, विडम्बना काठको डुंगा चढेको दुई मिनेट नहुँदै पल्टियो ।


१० जना सवार डुंगा पल्टिँदा छ जना किनारा लागे । एक महिलाको उद्दारपछि ज्यान गयो । तीन जना बेपत्ता छन् । ज्यान गुमाउनेमा मोहन्याल-३ की १९ वर्षीया धनसरा सलामी छिन् । २२ वर्षीया उर्मिला देवि सलामी र उनका १८ दिने नाबालक छोरा बेपत्ता छन् । २० वर्षीया पार्वती थापा पनि बेपत्ता छिन् । एक नाबालकसहित दुई महिलाको अवस्था अहिले पनि अज्ञात छ । 

‘नाबालकसहित १० जना खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा चढेका थिए । जसमा दुई पुरुष पनि थिए । चढेको दुई मिनेटमै कर्णालीमा डुंगा पल्टियो,’ इकागजसँग भुलले भने, 'एक नाबालकसहित दुई महिला बेपत्ता छन् । छ जना किनार लागे । तर, एक महिलाको मृत्यु भयो ।’

उनकाअनुसार मलेखाका स्थानीयलाई आफ्नै गाउँपालिकामा खोप लगाउन जान पैदल चार/पाँच घण्टा लाग्छ । जबकि कर्णाली तरेर बिजौरा पुगेर उनीहरू एक/दुई घण्‍टामै फर्किन्‍छन् । नजिक पर्ने भएकोले चार/पाँच महिनादेखि नियमित खोपलगाउन उनीहरू उतै जाने गरेका थिए । उसो त गत फागुनसम्म गाउँपालिकाको टोली गाउँमै पुगेर खोप दिने गरेको थियो । तर, फागुनपछि उनीहरूले जान छोडे । 

‘पहिले सुगरखाल स्वास्थ्य चौकीबाट खोप लगाउन गाउँमै आउँथे । चार/पाँच महिना भयो आउन छोडेको,’ उनले भने, ‘मलेखा वडा नम्बर ३ मा पर्ने भए पनि वडा नम्बर ६ स्थित सुगरखाल स्वास्थ्य चौकीले खोप सेवा दिँदै आएको थियो । पठाउनुपर्ने वडा नम्‍बर ३ ले हो । त्यहाँ दुई वटा स्वास्थ्य इकाइ छन् । तीनको स्वास्‍थ्‍य इकाइ टाढा छ । उसले पठाइदिएन । फागुनदेखि स्वास्थ्य चौकीबाट पनि कोही आएनन् ।’

भुलले भनेजस्तै गत फागुनपछि स्वास्थ्य चौकीबाट टोली जान छोडेको मोहन्याल स्वास्थ्य शाखा संयोजक कर्णबहादुर विश्वकर्माले स्वीकार गरे । तर, वडा-३ स्थित स्वास्थ्य इकाइलाई जिम्मा दिएर आफूहरूले जान छोडेको उनले दाबी गरे । 

‘फागुन अघिसम्म दुई/दुई महिनाको अवधिमा स्वास्थ्य चौकीबाट टोली जान्थ्यो,’ उनले भने, 'बर्खा लागेपछि यताबाट जान छोडियो । हामीले पनि त्यहाँ पुग्न दुई ठाउँमा कर्णाली तर्नुपर्छ । अर्को कुरा यताबाट प्रत्येक महिनाको २४ गते टोली पठायो । उनीहरूले १७ गते नै खोप लगाइसक्ने(सुर्खेत गएर) । बर्खामा जोखिम पनि हुने भएपछि स्वास्थ्य चौकीबाट टोली जान छोडेको हो । तर, वडा नम्बर तीनलाई जिम्मा दिएर छोडिएको हो ।’ 

खोप लाउनकै लागि कर्णाली तरेर अर्को जिल्ला जाँदा नागरिकले ज्यान गुमाउनु दुखद भएको उनले प्रतिक्रिया दिए । यसमा स्वास्थ्य शाखाको पनि समन्वय अभाव रहेको उनले स्वीकार गरे । ‘खोप लगाउनै जाँदा ज्यान जाने अवस्था आयो । यो एकदम दुखद कुरा हो,’ उनले भने, ‘कहीँ न कहीँ 'म्यासेज डेलिभरी'मा समस्या देखियो । हामीले त जिम्मा लाएको कुरा हो । उहाँहरूले समयमै म्यासेज डेलिभर गर्न सक्नु भएन भन्ने अहिले लागेको छ । हामीले सेवा दिनुपर्ने हो । खोपकै लागि पारि जानुपर्दैन भनेको भए जानुहुन्थेन कि ? कहीँ न कहीँ त हाम्रो पनि समस्या देखियो ।’

स्वास्थ्य इकाइ भन्छ : हामीलाई जिम्मा दिएको छैन

यता वडा नम्बर तीनस्थित सुगरखाल स्वास्थ्य इकाइ हेर्ने जिम्मा पाएका धर्मराज बोहराले मलेखा क्षेत्र आफूहरूकै कार्य क्षेत्रमा पर्ने भए पनि वडा नम्बर ६ ले नै हेरिरहेको दाबी गरे । उनले फागुनपछि आफूहरूलाई हेर्नू भनेर कसैले नभनेको समेत जिकिर गरे । ‘मलेखा क्षेत्र वडा नम्बर ३ मै पर्छ । हेनुपर्ने खास हामीले नै हो,’ उनले भने, ‘भौगोलिक विकटताले गर्दा ६ नम्बरले हेरिरहेको हो । हामीले पनि वडा नम्बर ६ को केही क्षेत्रमा सेवा दिन्छौँ । त्यही भएर हामीले हेरेका छैनौँ । फागुनपछि हेर्नुस् भनेर हामीलाई कसैले भनेको छैन । मलाई आधिकारिक जानकारी कसैले दिएको छैन ।’ 

यसबारे वडा नम्बर ३ का अध्यक्ष नन्दराम गिरीले पनि अनविज्ञता प्रकट गरे । वडा नम्बर ६ बाट अलिक नजिक पर्ने भएकोले उनीहरूले नै लगाइरहेको उनले बताए । पछिल्लो समय छोडेकोबारे जानकारी नभएको उनको भनाइ छ । पारी बिजौरा जान कर्णाली नदीमा पुल नहुँदा दुखद घटना भएको उनले तर्क गरे । घटनास्थल पुगेर फर्किएका गिरीले बेपत्ताहरूको खोजी कार्य भइरहेको बताए।

बैशाखमै भएको थियो पूर्ण खोपयुक्त गाउँपालिका घोषणा !

मोहन्याल गाउँपालिकालाई गत बैशाखमै पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको थियो । स्वास्थ्य शाखा संयोजक कर्ण विश्वकर्माले पालिकाभित्रका सबै बालबालिकाले पूर्ण खोप पाएपछि गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको बताए । तर, अधिकांश मोहन्यालबासीलाई पूर्ण खोपयुक्त घोषणा भएकोसमेत जानकारी छैन । 

आम नागरिक मात्रै होइन कतिपय स्वास्थ्यका कर्मचारी र स्वयं कार्यपालिका सदस्यसमेत यस विषयमा अनविज्ञ देखिए । कतिपयले सुनेको प्रतिक्रिया दिए भने कतिपयले थाहै नपाएको बताए । स्वास्थ्य शाखा प्रमुख कर्णलाई समेत पूर्ण खोपयुक्त घोषणा गरिएको मिति यकिन रहेनछ । सुरुमा २०७८ बैशाख २४ गते घोषणा गरिएको बताएका उनले स्वास्थ्य शाखाकाकै अर्का कर्मचारीले १५ गते घोषणा भएको सुनाएपछि अलमलमा परे । 

‘पूर्ण खोपयुक्त घोषणा भएको हो । कार्यपालिका बैठकमै गाउँपालिकाको कार्यालय खिमडीमा घोषणा कार्यक्रम भएको हो,’ उनले भने, ‘मितिबारे भने कागजात हेरेपछि मात्रै भन्न सकिन्छ ।’ तर, दुई दिनसम्म पनि उनले यकिन मिति बताउन सकेनन् । कार्यालय टाढा रहेको र सन्चार सेवासमेत नभएकोले आफूले बुझ्‍न नपाएको तर्क गरेर तर्किए । 

पूर्ण खोपयुक्त घोषणाबारे वडा नम्बर दुईका अध्यक्ष देविदत्त उपाध्याय पनि यकिन छैनन् । सुरुमा त गत वर्ष नै घोषणा भएको बताएका उनले स्वास्थ्य शाखा संयोजकले यही वर्ष भएको बताएको सुनाएपछि उतै बुझ्‍न आग्रह गरे । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष नन्दराम गिरीलाई पनि घोषणा गरिएको थाहा रहेछ । तर, मिति भने यकिन छैन । 

पूर्ण खोपयुक्त गाउँपालिका घोषणाको मिति यकिन गर्न इकागजले स्वास्थ्य शाखाका चार कर्मचारीसहित गाउँपालिकाकै ८ जना प्रतिनिधिसँग सम्पर्क गर्दा पनि कसैले यकिन मिति बताउन सकेनन् । यसबाट पूर्ण खोपयुक्त घोषणा कुनै कोठामा बसेर कागजमै गरियो कि भन्‍ने आशंका स्वाभाविक रूपमा उब्जिन्छ । 

स्वास्थ्य संरचना कस्तो छ ? 

मोहन्याल कैलालीको विकट गाउँपालिका हो । ठूलो भूगोलमा छरिएर रहेको बस्तीका कारण स्वास्थ्य र शिक्षाबाट धेरै गाउँवासी वञ्‍चित छन् । सेवा लिन टाढाटाढा हिँड्नुपर्ने बाध्यता छ । स्वास्थ्य शाखा प्रमुख विश्वकर्माकाअनुसार मोहन्यालमा तीन स्वास्थ्य चौकी छन् ।

वडा नम्बर ४, ५ र ६ मा । चार वटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा सामुदायिक इकाइ सन्चालनमा छन् । थप दुई स्वास्थ्य इकाइ सन्चालनको तयारी छ । गाउँपालिकाभरी २२ वटा खोप केन्द्र र १९ वटा गाउँघर क्लिनिक छन् । गाउँघर क्लिनिकमा खोप भने लगाइँदैन । प्राथिमिक उपचार मात्रै हुन्छ ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x