समाज

बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्‍याउन पहल

इकागज |
साउन २०, २०७८ बुधवार १८:५९ बजे

फाइल तस्बिर

काठमाडौँ - सरकारले बाढी पहिरोका कारण विद्युत् बिहीन भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्‍याउन पहल थालेको छ । पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो ।

गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो । गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो । मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिएका हुन् । 


उनले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा बोलाएका हुन् ।

मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । उनका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४०/५० वटा पोल बगाएको छ । हाल मेलम्ची नगर र इन्द्रावती गापमा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा बिजुली पुर्‍याउन सकिएको छैन ।

उनीहरूले साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुन्द्रटार मेलम्ची जोड्ने उपाय सुझाएका थिए । त्यसमा समुन्द्रटारबाट लैजानका केही समस्या देखिएको बताएका थिए ।

उनले केही दिनमा वैकल्पिक बाटो प्रयोग गरेर विद्युत् जोड्न सकिने भए पनि क्यूलमा भने पोल पुर्‍याउन समस्या हुने मन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि मन्त्री भुसालले ऊर्जा सचिव देवेन्द्र कार्कीमार्फत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रलाई सोलार जोड्न निर्देशन दिएका छन् । रासस 


Author

थप समाचार
x