समाज

हिंसाको विकृत रुप

मदन भण्डारी प्रतिष्ठानका महिला चिकित्सकमाथि यौन दुर्व्यवहार

आरोपितलाई उपकूलपति र मुख्यमन्त्रीले संरक्षण गरेको आरोप

विष्णु विश्‍वकर्मा |
साउन २२, २०७८ शुक्रबार १४:५३ बजे

काठमाडौँ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका महिला चिकित्सकमाथि यौन दुर्व्यवहार भएको छ । साउन १६ गते वनभोज गएका बेला दुई जना चिकित्सकमाथि प्रतिष्ठानकै अस्पताल सञ्चालक समिति सदस्यले मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेका हुन् । 

यौन दुव्र्यवहार गर्ने प्रतिष्ठान अन्तर्गतकै अस्पताल सञ्चालक समिति सदस्य हिरा वाइबा हुन् । वनभोज गएका बेला वाइबाले मदिरा खाएर अपशब्द बोलेको र जथाभावी गाली गरेको पीडित महिला चिकित्सकले बताएका छन् । 


उनीहरुले आफूहरुमाथि यौन दुव्र्यवहार भएको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय, उपकूलपतिको कार्यालय, सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा समेत उजुरी दिएका छन् ।

‘वनभोज गएका बेला हामीमाथि अपशब्द बोल्ने, सुन्नै नसकिने शब्दहरु बोलेर यौन दुव्र्यवहार भएको हो,’ पीडित महिला चिकित्सकले इकागजसँग भनिन्, ‘हामीलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्नेलाई कारबाहीको माग गरेका छौँ । कानुनी रूपमै अगाडि बढेका छौँ ।’

तर अहिलेसम्म पनि उजुरीमाथि छलफल गरेर पीडकलाई कारबाही गर्नुको साटो उल्टै माथिल्लो तहबाट संरक्षण भएको पीडित पक्षको आरोप छ । प्रहरी, प्रशासन, उपकूलपति र मुख्यमन्त्री कार्यालयले यौन दुव्र्यवहारमा परेका चिकित्सकलाई न्याय दिनुको साटो झन् पीडा दिने काम गरेपछि अस्पतालका अरु चिकित्सक पनि आन्दोलित छन् ।

उनीहरुले यस विषयमा उपकूलपति विश्वराज जोशी, मुख्यमन्त्री डोरमणि पौडेल, डीन लगायतसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा भेटेर समस्याको समाधान गर्न र पीडित चिकित्सकलाई न्याय दिन माग गरेका छन् । तर अहिलेसम्म पनि यसको सुनुवाइ नभएपछि उनीहरु निराश बनेका छन् ।

घटना के हो ?

झण्डै एक हप्ता अगाडि शनिबार थियो । प्रतिष्ठानको अस्तपाल सञ्चालक समिति सदस्य, केही पदाधिकारी, कर्मचारी र प्रोफेसरहरु वनभोज जाने सल्लाह गरे । जुन नितान्त व्यक्तिगत, आपसी सल्लाह र खाली ‘फ्रेश’ हुनका लागि आयोजना गरिएको वनभोजमा सहभागी एक प्रोफेसरले बताए । 

तर त्यही अभिभावकीय भूमिकामा रहनुपर्ने अस्पताल सञ्चाल समितिकै सदस्यहरु मदिरा पिएर छाडा बोल्न थाले । जहाँ महिला चिकित्सक तथा फ्रोफेसरको सहभागिता थियो । त्यसमध्ये अस्पताल सञ्चालक समितिका सदस्यसमेत रहेका हिरा वाइबाले मदिरा खाएर केही चिकित्सकमाथि खुलेआम धारे हात लगाउँदै दुव्र्यवहार गरे । जहाँ उनीहरुमाथि अपमानजनक शब्द प्रयोग गर्नुका साथै अति छाडा शब्द बोलेर यौन दुव्र्यवहार गरिएको प्रत्यक्षदर्शी एक सहभागिले बताए ।

‘कतिपय शब्दहरु म तपाईलाई भन्न सक्दिन, त्यसरी महिला चिकित्सकमाथि यौन दुव्र्यवहार गरिएको थियो’, प्रत्यक्षदर्शी एक जनाले भने । 

आफूमाथि यौन दुर्व्यवहार गरेपछि दुईदेखि तीन जना चिकित्सक वनभोजस्थल छाडेर अस्पताल फर्किए । त्यसपछि उनीहरुले आफूमाथि भएको दुव्र्यवहारबारे माफी माग्न आग्रह समेत गरेका थिए । तर राजनीतिक पहुँचमा रहेका वाइबाले माफी माग्नुको साटो सुन्न समेत चाहेनन् । 

अस्पताल सञ्चालक समिति सदस्य रहेका उनले आफ्नो पदको दुरुपयोग गर्दै महिला चिकित्सकमाथि गिद्देनजर लगाउन गरेको पनि अस्पतालकै केही कर्मचारीले बताए ।

‘सार्वजनिक ठाउँमै महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेपछि अहिले हल्लाखल्ला भयो’ अस्पतालमा कार्यरत एक जनाले वाइबाको हर्कतबारे भने, ‘यसअघि पनि अरु महिला कर्मचारी र चिकित्सकमाथि गिद्धे नजर लगाउने गर्थे । तर बोल्न सकेनन् ।’

महिलामाथि नै गिद्धे नजर लगाएर यौन दुर्व्यवहार गरेपछि पनि माफी माग्नुको साटो पदको दुरुपयोग गर्दै राजनीतिक संरक्षणमा बस्न थालेपछि पीडितले कानूनी उपचार खोज्ने निर्णय गरेका हुन् । 

त्यसका लागि उनीहरुले उपकूलपति कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास मन्त्रालय, मुख्यमन्त्री कार्यालयमा उजुरी समेत दिएका छन् । तर अहिलेसम्म पनि उजुरीमाथि अनुसन्धान भएर कारबाही अगाडि बढेको छैन । 

को हुन् वाइबा ?

बाइबा प्रतिष्ठानले सञ्चालन गरेको अस्पतालको व्यवस्थापन समिति सदस्य हुन् । प्रतिष्ठानको कूलपति मुख्यमन्त्री रहने प्रावधान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, ऐनमा छ । प्रतिष्ठानको सहकूलपतिमा प्रदेशको सामाजिक विकासमन्त्री हुने उल्लेख छ । प्रतिष्ठानको उपकूलपति भने डा. विश्वराज जोशी छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जोशीलाई उपकूलपति नियुक्त गर्दा वाइबालाई सदस्यमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीले नियुक्त गर्न पाउने दुई जनामध्ये अस्पताल सञ्चालक समिति सदस्यमा मेडिकल व्यापारी वाइबालाई नियुक्त गरेका थिए । विगतदेखि नै महिला, चिकित्सक महिला र स्वास्थ्यकर्मीलाई समेत उनले दुव्र्यवहार गर्दै आएको प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् ।

तर मुख्यमन्त्री र उपकूलपतिले नै संरक्षण गरेका कारण उनी आफ्ना हर्कतबाट पछि नहटेको घटनाका भुक्तभोगी बताउँछन् । यो क्रम महिला चिकित्सकमाथि दोहोरिएपछि उजुरी गर्न बाध्य भएको पनि उनीहरुको भनाइ छ । 

के भन्छन्, एसपी र सीडीओ ?

महिला चिकित्सकमाथि भएको यौन दुर्व्यवहारको विषयमा बुझ्दा जिल्ला प्रशासन कार्यालयमा जानकारी आएको बताएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसबारे उजुरी आएको र आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको इकागजलाई बताए ।

‘यसबारे उजुरी आएको थियो । उहाँहरुले उजुरी दिएपछि मैले वास्तविकता बुझेर कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई भनेको छु,’ उनले भने, ‘तर कोभिड–१९ महामारीले निषेधाज्ञा भएका बेला स्वास्थ्यकर्मी नै वनभोज जाने र यौन दुव्र्यवहारको घटना निम्तिने विषय शंकाको घेरामा राखिएको छ ।’ 

अब लकडाउनको बेलामा वनभोज जाने कुरामाथि नै आफंैमा प्रश्न उठ्छ, उनले भने । ‘त्यसमाथि यौन दुदुर्व्यवहारको विषय आउनु भनेको गम्भीर हो । प्रहरीले बुझ्दै छ होला । यदि यौन दुव्र्यवहार भएको हो भने कारबाही हुन्छ । यसमा शंका छैन,’ पाण्डेले भने । 

तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने ठाडो उजुरी आएकाले बुझ्ने काम भए पनि जाहेरी नआएको बताएको छ । उजुरी आएपछि बुझ्ने काम मात्रै हुने भएकाले जाहेरी आउनुपर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले बताए ।

‘हामीकँहा उजुरी आएको छ । उजुरीले सोधपुछ मात्रै गर्ने हो’ एसपी राठोरले इकागजसँग भने, ‘तर यौन दुर्व्यवहार भएको हो भने पीडितले जाहेरी दिनुपर्छ । जाहेरी आउनेबित्तिकै हामी पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउछौँ ।’

उपकूलपति र मुख्यमन्त्रीले संरक्षण गरेको आरोप 

वाइबा एमाले पृष्ठभूमिका हुन् । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली निकट वाइबालाई ओलीकै रोजाईमा मुख्यमन्त्री बनेका पौडेलले प्रतिष्ठान अस्पताल सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका हुन् । 

राजनीतिक संरक्षण भएका कारण वाइबाले यौन दुर्व्यवहारका हर्कत गरे पनि कारबाही भएको छैन । कारबाही नहुँदा नै उनी मनलाग्दी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरिरहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

‘हामीले यसबारेमा उपकूलपति, कूलपतिसमेत रहेका मुख्यमन्त्री, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सबैतिर न्यायका लागि उजुरी दिएका छौँ’ पीडित पक्षमध्ये एक जनाले भने, ‘तर अहिलेसम्म पनि छानबिन भएन । न्याय त धेरै परको कुरा उल्टै पीडकलाई संरक्षण भएको छ । घटनाबारे सुन्न पनि चाहँदैनन् ।’

तर यसबारे मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव अनुप पौडेलसँग बुझ्दा उनले आधारहीन आरोप लगाइएको बताए । महिला हिंसा, यौन हिंसा र यौन दुर्व्यवहारविरुद्ध शून्य सहनशिल नीति लिएकाले आरोप निराधार रहेको उनको दाबी छ ।

‘हामीले बाहिर हल्ला सुनेका छौँ । तर वास्तविकता बुझ्न पाएका छैनौँ’ पौडेलले इकागजसँग भने, ‘मुख्यमन्त्रीज्यूँ रामेछापबाट काठमाडौँ आएकाले बुझ्न पाएका छैनौँ । तर यस्तो विषयमा संरक्षण, काखा पाखा गर्ने हुँदैन । हेटौंडा जानेबित्तिकै वास्तविकता बुझेर थप बोल्छौँ ।’

उनले यस्ता विषयमा सुन्ने र सहनेभन्दा सोझै कारबाहीतर्फ अगाडि बढ्ने पनि संकेत गरे । यसअघि महिला हिंसा र यौन दुव्र्यवहारबारे बोल्दा मात्रै पनि तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरेको नजीर रहेकाले वास्तविकता बुझेर अगाडि बढ्ने उनले बताए ।

‘यो विषय सुन्ने र सहने भन्ने हुँदैन’ उनले भने, ‘तर वास्तविकता बुझ्छौँ । यदि यौन दुव्र्यवहार भएको रहेछ भने कारबाही अगाडि बढ्न सक्छ । तर एकचोटी सत्य बुझ्न जरुरी छ ।’

प्रदेशभर रहेका सबै कर्मचारी मुख्यमन्त्रीका लागि बराबर भएको भन्दै उनले यस्ता विषयमा आरोप लगाउनुभन्दा सत्यतथ्य बुझेर मात्रै अगाडि बढ्नुपर्ने बताए । यस विषयमा उपकूलपति जोशीसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

पीडित चिकित्सकले उपकूलपतिसँग आफूले भोगेको यौन दुव्र्यवहारको विषयमा लिखित जानकारी गराएका थिए । तर उपकूलपति जोशीले यसबारेमा कुनै प्रतिक्रिया नदिएको उनीहरुको भनाइ छ ।

दुर्व्यवहार गरेको छैन, गलत रुपम बुझियो - वाइबा

चिकित्सक महिलामाथि दुर्व्यवहार गरेको आरोपका विषयमा प्रतिष्ठानका पदेन सदस्य वाइबाले यसलाई गलत रुपमा बुझिएको प्रतिक्रिया दिए । उनले आफूले मदिरा पिएर यौन दुर्व्यवहार नगरेको र गलत रुपमा हल्ला फैलाइएको पनि दाबी गरे ।

‘प्रतिष्ठानले नै आयोजना गरेको वनभोजमा सामान्य कुरा मात्रै भएको हो’ उनले इकागजसँग भने, ‘आन्तरिक मूल्यांकनको फारमबारे सोधपुछको बेला ३० सेकेन्डजति सामान्य बोलाबोल भएको हो । तर उहाँहरुले गलत बुझ्नुभयो ।’

 

उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । यसअघि पनि अरु कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्ने प्रश्नमा उनले भने, ‘खासमा त्यस्तो दुव्र्यवहार मैले गरेको छैन । विगतमा पनि गरेको छैन । यो सबै मित्थ्या आरोप हो ।’
 


Author

थप समाचार
x