समाज

फुच्ची स्वयंसेवी प्रेन्सा जो छन् उमेरमा सानी तर धेरै ज्ञानी

पूजा बस्‍नेत |
साउन २३, २०७८ १५:३४ बजे

‘नेताज्यू, हजुरले सडकमा आएर आन्दोलन गर्नुभन्दा पहिले म किन कसका लागि गर्दैछु भनेर सोच्‍नु भएको छ ? जनताको लागि कहिल्यै सडक ओर्लिनु भएको छ ? मन्त्रीज्यु, अब आर्दशका कुरा गरेर हैन, काम गरेर आदर्श देखाउनुस् । भाषण गर्न त जल्ले पनि सक्छ, अब देशको विकास गरेर देखाउनु अनि जनताले भोट दिन्छन् । खान लाउन नपाएर जनतालाई मरिहत्ते छ । तर यही बेला तपाईंहरुलाई कुर्सीको लोभ, भष्ट्राचार गर्नुपर्ने ? जनताले तपाई्रंको लागि कुर्सी दिएको हैन, जनताको सेवाका लागि दिएको हो ।’

चोरी औँला ठडाउँदै बाल अभियन्ता प्रेन्सा रेग्मीले भनेका यी कुराले केही महिनाअघि सामाजिक सञ्जाल र मिडियामा तहल्कै मच्चिएको थियो । ९ वर्षीय बालिकाले यति आत्मविश्वासका साथ राखेका कुरालाई ‘ओहो’ भन्‍ने मानिसको ओइरो थियो । उही प्रेन्सा भाषणले मात्र होइन कामले पनि अहिले उत्तिकै चर्चामा छिन् ।  
  
अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कल्ले गर्ने ?  मेरो एउटै मात्र उद्देश्य छ, ‘विश्‍वसामु नेपाललाई चिनाउने ।’ कान्छी बाल अभियन्ता प्रेन्सा आफू सरहका बालबालिकालाई यस्तै भनेर हौसला दिन्छिन् ।
 
पोखरा विरौटाकी प्रेन्सा उमेरले भर्खरै ९ लागिन् । पोखराको गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने उनको लक्ष्य छ -दुइटा नेपाललार्ई एउटा बनाउने । पे्रन्सा उदाहरण दिदैँ भन्छिन्, ‘एउटा नेपालमा बालकहरू होटलमा भाडा माझिरहेका हुन्छन् । अर्कोमा बालबालिका सुटबुटसहित बोर्डिङ गइरहेका हुन्छन् ।‘एउटा नेपालमा राष्ट्रपति पदमा ‘महिला’ आसिन छन् । फेरि अर्को नेपाल जहाँ महिला, बालिका बलात्कृत छन् । न्याय पाएका छैनन् । यहाँ यसरी दुइटा नेपाल छन् जुन एक बनाउनु पर्छ । ’
 
हामी कहाँ भएका यी दुई नेपाललाई समान  नेपाल बनाउने उनको सपना हो ।  तर, नेपालमा पे्रन्साका यी सपना पूरा होलान् ? प्रेन्साको उपाय छ, ‘हामीले सकारात्मक सोचका साथ गर्न खोज्यो भने सकिन्छ ।’  उनलाई थाहा छ, उनले देखेका सपनाहरू चुट्कीमा रातारात सफल हुँदैनन् । समय लाग्छ । 


ADVERTISEMENT

सानै भए पनि फरक विचार राख्यो भने चाहेको सबैथोक गर्न सकिन्छ भनेर उनले आफूजस्तै साना नानीबाबुहरूलाई यस्ता कुरा सिकाउन थालेकी छिन् । आफ्ना कुरा लिएर उनले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेटिन् । योभन्दा अघि उनले प्रहरीका उच्च अधिकारीदेखि पोखराका मेयरसम्मलाई पनि आफ्ना कुरा राख्‍ने भ्याइसकेकी छिन् ।

गृहमन्त्रीलाई महिला तथा बालबालिकाका लागि ‘सेल्फ डिफेन्स’को कार्यक्रम लागू गर्न सल्लाह दिने ९ वर्षकी प्रिन्साको स्वयंसेवाको लोभलाग्दो कथा  

उनको यो दौडधुपलाई धेरैले बाल अभियन्ता, समाजसेवी भनेर नामाकरण गर्ने गरेका छन् । तर उनी आफूलाई स्वयंसेवी भनेर  चिनाउन चाहान्छिन् । ‘ म समाजसेवी होइन स्वयंसेविका हुँ । अरुले मलाई जे भने पनि म पछिसम्म पनि आफूलाई लागेका कुरा गरिरहन्छु र सकेको गर्छु पनि,’ उनको अठोट छ ।  

प्रेन्साको अभियानमा होमिएको भने धेरै भएको छैन । भर्खर यही लकडाउनको समयदेखि हो । म्याग्दीका रामकृष्ण रेग्मीले श्रीमति र छोराछोरीसहित पोखरामा बसेर स्टेस्नरी चलाउने गरेका छन् ।  यत्तिकैमा देशमा पहिलो लकडाउन भयो, २०७७ साल चैतमा । त्यतिबेला कोभिडले सडकदेखि सदनसम्म अत्याएको थियो । 

लकडाउन सबैको टाउको दुखाइको विषय बनेका बेला प्रेन्साले भने यो समयलाई समाज र देश बुझ्‍ने समयको रुपमा प्रयोग गरिन् । अरु बेला पढाइ र होमवर्क फुर्सद हुँदैनथ्यो । लकडाउन पछि भने प्रेन्सालाई फुर्सदै फुर्सद भयो । ‘अरुबेला विद्यालयका किताबबाहेक अन्य किताब पढ्न पाउँदिनथेँ । लकडाउनले मलाई अध्ययनशील बनायो । प्रेरणादायी भनाइहरू सुन्न थालेँ  । महाभारत, गीताआदि किताब पढेँ’ उनले पहिलो लकडाउनको दैनिकी सुनाइन् । 

चनौटे बजारमा भएको उनीहरूको स्टेस्नरी बन्द भइसकेको थियो । केही महिनापछि लकडाउन अलि खुकुलो भयो । तर विद्यालय त बन्दको बन्दै ।  प्रेन्साको समय बिताउने ठाउँ थियोे,  स्टेस्नरी पसल । अनि पे्रन्सालाई सामाजिक काम गर्ने प्रेरणा दिने टर्निङ पोइन्ट पनि त्यही स्टेस्नरी पसल बन्यो । 

लकडाउनकै समयको कुरा हो, पे्रन्सा पसलमा भएकै बेला एउटी सानी बच्ची कपी किन्न आइन् । प्रेन्साले मंहगो कपी देखाइन् । तर, बच्चीले अलिक सस्तो खोजिन् । खाँट्टी कुरा बुझ्न उनले सोधिन्, ‘तिम्रा बाबाआमा के गर्नुहुन्छ ? उत्तरमा उनले आफू ‘अनाथ’ भएको बताइन् । 

यही घटना प्रेन्साका लागि उत्प्रेरक बन्यो । उनले गरिबका लागि केही गर्ने अठोट गरिन् । यसको सुरुवात गरिन्, आफ्नै ‘पिगी ब्यांक’फुटाएर । दक्षिणा पाएको र बेलाबेलामा पाउने पैसा उनले खुत्रुकेमा राख्ने गरेकी थिइन् । उनले माथिको घटनापछि यो खुत्रुके फुटाइन् । खुत्रुकेमा १५ हजार रुपैँया जम्मा भएको रहेछ । उनले बुबा आमासँग थप १५ हजार मागिन्् । उनले यो पैसा जम्मा गर्न खोजेकी थिइन्, मास्कका लागि ।

सुरुमा त आमाबाबाले छोरीको कुरा अलि पत्याएनन्, तर ढिपी नै गरेपछि पैसा दिए । यसरी ३० हजार रुपैंया भेला गरेर   ‘काठमाडौँबाट ४० हजार ‘सर्जिकल’  र ‘एन ९५’ मास्क मगाएर प्रेन्सा आफैँले बाँड्न सुरु गरिन् । 

कोभिडका बेला मास्क नलगाउने मान्छेलाई कारबाही गर्दा नकारात्मक सन्देश जाने देखेर आफूले मास्क बाँड्ने सोचेको पे्रन्सा बताउँछिन् । ‘उनीहरुलाई कारबाही गर्नुको साटो बरु एउटा मास्क दिएर पठाऔँ भनेर हामीले मास्क अभियान चलायौँ ’ उनले इकागजसँगको कुराकानीमा भनिन् ।  

मास्क अभियानका लागि उनले चनौटेको एउटा चौतारीमा थपक्क बोरा ओछ्याइन् । बजारमा १ सय ५० पर्ने ‘एन ९५’ लाई ५० मै र १० रुपैँया पर्ने सर्जिकल मास्कलाई ५ रुपैँयामै बेच्‍न थालिन् । मास्क किन्न नसक्नेलाई सित्तैमा बाँडिन् । 

त्यही मास्क बेचेर आएको मुनाफाबाट उनले आमाबुबा नभएका बालबालिकालाई सित्तैमा कापीकलम र शैक्षिक सामाग्री दिइन् । आफैँले गरे पो समाजसेवा । ९ वर्षीय प्रिन्सा भन्छिन्, ‘अरुसँग पैसा मागेर समाजको सेवा गरे जस्तो गर्‍यो भने भोलिका दिनमा अरुले पैसा नदिए समाजसेवा रोकिन्छ । म आफ्नै बलबुतोमा अरुका लागि केही गर्न चाहान्छु ।’

त्यसपछि, उनले लकडाउनमा खान नपाएकाहरूलाई खान दिनका लागि ‘फुड बैँक’ नाम दिएर खाद्यान्‍न वितरण गरिन् ।  प्रेन्सा एउटा अभियान सफल भएपछि अर्को अभियान थाल्छिन् । त्यसैको निरन्तरतामा उनले साना बालबालिकाहरुले पसलमा चुरोट, खैनी, गुट्खा, रक्सी किन्‍न जाने गरेको थाहा पाइन् । ‘सानो हुँदा हामीले जे काम गर्‍यौँ त्यसको पछि गएर लत बस्छ,’ उनी भन्छिन्,  त्यसैले यसलाई रोक्न हामीले ‘१६ वर्ष मुनिका बालबालिकालाई मदिरा नबेचौँ हैँ’ भन्ने अभियान पनि सञ्‍चालन गर्यौँ ।’’ 

 यो अभियान उनले आफ्नै टोलको पसलबाट सुरु गरेकी थिइन् ।  सरकारी विद्यालयमा अंग्रेजी तथा अन्य किताब पनि किन्नुपर्ने हुन्छ । उनले पहिल्यै कापी कलम त वितरण गरिसकेको थिइन्, तर यदि किताब नै छैन भने त्यो कपी कलमको के अर्थ ?  प्रेन्साको यस्तै सोचले ‘किताब बैँक’ को पनि जन्म भयो । 

चार कक्षामा पढ्ने उनले आफ्ना दाजुका तथा साथीभाइका पुराना किताबहरुको स्टल बनाइन् । ‘किताब पुरानो होला तर त्यसले दिने ज्ञान कहिल्यै पनि पुरानो हुँदैन,’ प्रेन्सा भन्छिन्, पुराना किताब कबाडी लिन आउनेलाई दिनुभन्दा ती गरिब किन्न नसक्ने मान्छेलाई दिऊँ न ।’

यसैअन्तर्गत प्रेन्साले जेलमा थुनिएकाका छोराछोरीलाई कपी कलम तथा पुस्तक वितरण गर्न पनि भ्याइसकेकी छिन् । समाजमा बढ्दै गएका महिला हिंसा, बलात्कार जस्ता कुराका बारेमा पनि प्रेन्सा चिन्तित छन् । त्यही कारणले उनले गृहमन्त्रालयमै पुगेर गृहमन्त्री बालकृष्ण खाण तथा उच्च पदमा रहेका प्रहरी अधिकारीलाई भेटेरै देशलाई अपराधबाट जोगाउन सुझाव दिइन् । 

‘मैले मन्त्रीज्यूलाई बालबालिका र महिला ढुक्कले बाहिर निस्कने वातावरण बनाइदिनुस् भनेर अनुरोध गर्न गएकी हुँ । गृहमन्त्रीले पनि नागरिकको रक्षाका लागि विशेष ध्यान दिने बताउनुभएको छ,’  प्रेन्साले गृहमन्त्री भेट्नुको रहस्य बताइन् ।  

यी अभियानहरू प्रेन्साका सुरुवाती पाइला मात्रै हुन् । पछि गएर उनले यस्ता धेरै अभियान सञ्‍चालन गर्ने योजना बनाएकी छिन् । यी अभियान पूरा गर्नका लागि उनले समूह बनाएकी छिन् । परिआए वडाअध्यक्ष तथा सम्बन्धित निकायसँग अनुमति पनि लिन्छिन् । किताबका लागि सामाजिक सञ्जालमार्फत विद्यार्थीसँग पुराना किताब माग्छिन् । यसैगरी प्रेन्साले आफ्ना कुरा राख्‍न ‘प्रेन्सी अफिसियल’ नामक युट्युब च्यानल पनि खोलेकी छिन् । 

‘अभियन्ता’ को  नाम नेपालमा बदनाम भएको हरकोहीलाई थाहा छ । प्रेन्साका पिता रामकृष्ण पनि यो अवस्थाबोर जानकार छन् । उनलाई पनि छोरीलाई अभियन्ता भनाउन मन छैन । भन्छन्, ‘छोरी अहिले अभियन्ता नभएर समाजका लागि केही गरौँ भन्ने आवाजको सानो हिस्सा मात्रै हुन् ।’

छोरी भाइरल हैन महावीर पुन, अनुराधा कोइराला जस्तो होस् भन्ने परिवारको चाहना रहेको पनि रामकृष्ण बताउँछन् ।  परिवारको चाहना उनीहरूको मात्रै होइन प्रेन्साको पनि हो । ‘मैले मिडियामा भाइरल हुन् सामाजिक काम गरेजस्तो गरेको होइन, यो देशको जिम्मेवार नागरिक बन्ने प्रयासस्वरुप गरेको हो’, प्रेन्सा भन्छिन् । 

सामाजिक कामसँगै भविष्यमा गएर वैज्ञानिक बन्‍ने लक्ष्य छ, उनको । जसका लागि कहिले उनी महावीर पुनको आविष्कार केन्द्र धाँउछिन् त कहिले विभिन्न बौद्धिक वर्गसँग इन्टरनेटका माध्यमबाट जोडिन्छिन् । 

‘वैज्ञानिक बन्नु पछाडिको मेरो लक्ष्य हो एउटा भ्याक्सिन बनाउने जु्न जन्मिने बित्तिकै लगायो भने २५ वर्षे नपुगुन्जेलसम्म उसलाई कुनै  भित्री रोगले समाउन्न ’ प्रेन्साको लक्ष्य छ ।  


 



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार