समाज

दार्चुला घटना : छानबिन समितिको म्याद एक साता थपियो

इकागज |
साउन २६, २०७८ मगलवार २०:० बजे

काठमाडौँ - सरकारले दार्चुला घटनाको छानबिनका लागि गठन गरेकाे समितिको म्याद एक साता थप गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीको तुइन काटिदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा १७ साउनमा छानबिन समिति गठन गरिएको थियो ।

घटनाबारे छानबिन गर्दै १० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएकोमा उक्त समयभित्र घटनाबारे सत्यतथ्य आइ नसकेपछि सात दिनको समय थप गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।


छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको उनले जनाए । बेपत्ता भएका धामी खोज्न मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबारदेखि ड्रोन क्यामेरासमेत परिचालन गरेको बताएको छ । 


Author

थप समाचार
x