समाज

मोबाइलमा ढुक्कै समय बिताउँदै केटाकेटीदेखि वृद्धवृद्धासम्म

पूजा बस्‍नेत |
साउन २७, २०७८ ७:० बजे

सुमन बस्‍नेत विनायक सिद्ध कलेजमा कक्षा ११ मा पढ्छन् । उनले भौतिक रुपमा विद्यालय नै गएर नपढेको २ वर्ष भइसक्यो । तर उनको अनलाइन कक्षा भने भइरहेको छ । अनलाइन कक्षा पढ्न थालेदेखि आफ्नो फुर्सदको समय मोबाइलमै बित्ने गरेको सुमन बताउँछन् । ‘मैले १ वर्षदेखि बिहान ६ देखि ११ बजेसम्म लगातार अनलाइन कक्षा पढ्दै आएको छु । प्रि-बोर्ड परीक्षा पनि अनलाइन माध्यमबाटै भयो । पढेपछिको फुर्सदको ४-५ घण्टा मोबाइलमा गेम खेलेर बिताउँछु ।’   

साथीभाइसँग गएर खेल्ने र रमाइलो गर्ने वातावरण कोरोनाले खोसिदिएकाले आफूमा ‘फ्रि फायर’, ‘पब्जी’ लगायतका गेमको लत लागेको सुमन बताउँछन् ।  तर, यसरी घन्टौं मोबाइल चलाउँदा यसका साइड इफेक्ट देखिन थालेका छन् । दुई-तीन महिनादेखि उनलाई आँखा पोल्ने, टिभी हेर्दा तरतर आँशु बग्‍ने समस्याहरू देखापर्न थालेका छन् । उनी सुनाउँछन्, ‘एकै ठाउँमा बसेर धेरै बेर मोवाइलमा हेरेर उठ्दा रनन्‍न टाउको पनि घुमाउन थालेको छ ।’


उनकी आमा इन्दिरा बस्‍नेत पनि छोराले धेरै मोबाइल मात्रै खेलेकोमा निकै चिन्तित छिन् । मोबाइल नदिउँ भने पनि पढ्नलाई चाहियो । दिउँ भने दिनरात त्यसैमा घोप्टिएर बस्छ’ इन्दिराले आफ्ना व्यथा सुनाइन् ‘मोबाइलले छोराछोरीको खाने, बस्‍ने, उठ्ने समय नै परिवर्तन गर्दियो । आँखा, कान नै बिग्रला जस्तो छ ।’  

सुमनमा देखिएको यो समस्या सुमनको मात्र होइन, इन्टरनेटमा पहुँच भएका हरकोही विद्यार्थीको हो । कोरोना महामारीले मोबाइल वा ल्यापटप चलाउनै पर्ने बाध्यता आइलागे पछि सुमन जस्ता युवाहरू यसको व्यसनमा फसेका छन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन । मानिसलाई सामाजिक प्राणी बनाइराख्‍न अन्तर्र्राष्ट्रिय श्रम संगठनले तोकेको मापदण्ड हो यो । तर, इन्टरनेटले यो मान्यता तोड्दै नयाँ परिभाषा निर्माण गरिदिएको छ । अर्थात् काम पनि इन्टरनेटमै, आराम पनि इन्टरनेटमै र मनोरञ्जन पनि इन्टरनेटमै । तर यसरी जतिबेला पनि ग्याजेटमा झुन्डिँदा मानिसमा अनेक मानसिक समस्यादेखि आँखा, कानमा असर पर्न थालेको डाक्टरहरू बताउँछन् । 

मैजुबहाल, काठमाडौँका शेखर कार्की पनि प्रविधिले विपत्ति ल्याउन लागेका आशंकाले चिन्तित छन् । साना त भइहाले ६९ वर्षीय पिता पनि मोबाइलमा झुण्डेको देखेर शेखर हैरान छन् । कार्की भन्छन्, ‘यो कोरोनापछि ठूलो छोरीको ‘वर्क फ्रम होम’ ले गर्दा अनलाइन बस्नैपर्‍यो । ४ वर्षीय नातिको अनलाइन कक्षा छ । बाँकी रहेका छोरीहरू टिकटक, फेसबुक, इन्स्टाग्राम भनेर चौबिसै घन्टा मोबाइलमा व्यस्त हुन्छन् ।’ 

बालबालिका मात्र कहाँ हो र, हावा खान पशुपतितिर निस्कने, बेलाबेला साथी भेला गरेर गफ लडाउने उनका ६९ वर्षीय पिता पनि लकडाउनपछि घरमै मोबाइलमा रमाउने भएका छन् । ‘बिहानदेखि बेलुकासम्म त्यही मोवाइल मात्रै हेर्ने भएपछि आँखामुनि कालो घेरा बस्‍, आँशु आउने हुन थाल्यो । अनि तिलगंगा अस्पताल लगेर चस्मा ल्याइदिएको छु,’ उनी सुनाउँछन् ‘सदा शारीरिक व्यायाम, योग आदि गर्ने बुवा इन्टरनेट अनेक थरी हेरेको देख्छु । अब बूढो मान्छेलाई कसरी यो लतबाट बाहिर निकाल्ने, उपाय देखिरहेको छैन ।’ 

चाबहिल गणेशस्थानकी तृष्णा रिजालले भने इन्टरनेटमा झुण्डिँदा आँखा दुख्‍ने रोगलाई निम्तो दिइसकेकी छिन् । पशुपति क्याम्पसमा प्रथम वर्षमा पढ्ने तृष्णाले आँखासँगै ढाडले पनि दुःख दिन थालेको अनुभव सुनाइन् । ‘इन्टरनेटप्रतिको परनिर्भरता यस्तो छ कि बहिनी र म एउटै कोठामा हुन्छौँ त्यही पनि हामी मुखले हैन म्यासेजमा कुरा गर्छौँ । लास्टै बानी बिग्रिसक्यो,’ उनले भनिन् । लकडाउनपछि उनीहरूको दैनिकी फेरिएको छ । कामदेखि पढाइ र मनोरञ्जन सबै इन्टरनेटबाटै हुन्छ ।

दिनको १२ घण्टा बढी मोबाइल र कम्प्युटरको स्क्रिन नै हेर्दा आँखा दुख्‍ने भएको छ । उनी भन्छिन्, ‘आँखा त पहिलै दुखेर चश्मा लगाएकी थिएँ । अब मोवाइलमा एकनास घोप्टिँदा घाँटी र डाढ पनि दुख्‍न थालेको छ ।’ दिनभर अफिसको काम कम्प्युटरबाट गर्दा औँलाका जोर्नीहरू गल्ने, बस्दा-बस्दा शरीर भारी हुने समस्या पनि आफूले भोग्‍नुपरेको तृष्णा सुनाउँछिन् । 

मूलपानीकी संगीता लामिछानेका १२ कक्षामा पढ्ने छोरा र ४ कक्षामा पढ्ने छोरी छन् । लकडाउनपछि दुवै छोराछोरीको अनलाइन कक्षा सुरु हुने भएपछि जसोतसो इन्टरनेट जोडिदिइन् । ‘तर चार पाँच घण्टा अनलाइन कक्षा पढिसकेपछि पनि गेम खेलेको खैल्यै गरेर हैरान भइसकेँ म,’ संगीता भन्छिन्, ‘सुत्दा, उठ्दा, ट्वाइट जाँदादेखि भात खान पनि मोबाइल नै समाउँछन् ।' यसरी जुनबेला पनि मोबाइल खेलाउँदा छोराछोरीको स्वास्थ्यमै असर पो पर्ने हो कि भन्‍ने चिन्ता लाग्‍न थालेको उनले दुखेसो गरिन् ।  

के भन्छन् आँखाका डाक्टर ?
कीर्तिपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा. बिनिता शर्माका अनुसार, धेरै कम्प्युटर, ल्यापटप, मोबाइललगायतका स्क्रिन हेरेर हुने समस्यालाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भनेर बुझ्‍ने गरिएको छ । जसमा आँखाको मात्र समस्या नभइकन स्क्रिन हेरेर टाउको दुख्‍ने, इयरफोन लगाउँदा कानको समस्या आउने, गर्धन दुख्‍ने, ढाड दुख्‍ने समस्याहरू पनि समावेश हुन्छन् । 

‘डेढ वर्षदेखि बालबालिकाले अनलाइन कक्षा पढ्न थालेको र गेमहरू पनि बढी खेल्न थालेको हुँदा उनीहरूले पनि दृष्टि प्रभावित भएको छ ’, डा.शर्मा भन्छिन्, ‘कोभिडपछि चश्मा चाहिने बालबालिकाको संख्या निसन्देह बढेको छ ।’ शर्माले विशेषगरी टाढा नदेखिने समस्यामा उल्लेख्य वृद्धि भएको बताइन् । 

बालबालिका होस् वा वृद्धा नजिकबाट मोबाइल हेर्दा माइनस पावर भएको चश्मा तथा ब्लु रे कर्ड (निलो प्रकाश रोक्ने ग्लास) प्रयोग गर्नुपर्ने सुझाव दिन्छिन्, डा.शर्मा । ब्लु रे कर्ड ग्लास भएको चस्मा लगाउँदा कम्प्युटर तथा अन्य ग्याजेटबाट आउने निलो प्रकाशलाई ८० देखि ९० प्रतिशतसम्म छेक्न सक्छ । दिनको दुई घण्टाभन्दा बढी स्क्रिन हेर्नुपर्ने व्यक्तिहरूले यो ग्लास भएको चश्मा लगाउँदा फाइदा हुने डा. शर्माको सुझाव छ । । 

शरीर जस्तै आँखा पनि धेरै लोड पर्दा थाक्ने तर पनि इन्टरनबाटै काम गर्नैपर्ने भएकाले हामीले २०:२०:२० नियम बनाएका छौँ । शर्मा सुनाउँछिन्, ‘हामीले २० मिनेट ग्याजेट हेरिसकेपछि २० सेकेन्डको ब्रेक लिनुपर्छ । आँखालाई आराम दिन हरेक २० मिनेटमा स्क्रिनभन्दा टाढा जानु राम्रो । दुई घण्टाभन्दा बढी स्क्रिन हेरेपछि चाहिँ ६/७ मिनेट नै आराम गर्नुपर्छ ।’

कीर्तिपुर अस्पतालमा कोभिडअघि वृद्धाहरू बढी आँखाको समस्या लिएर आउने तर लकडाउनपछि स्कुल, कलेज पढ्ने ६ वर्षदेखि १७ वर्षका बालबालिका तथा किशोर आउने गरेको उनले बताइन् । शर्मा भन्छिन्, ‘युवाहरूमा पछिल्लो १ वर्षदेखि आँखा सुख्खा हुने समस्यादेखि, चश्मा लाउनुपर्ने समस्याहरू ह्वात्तै बढेका छन् ।’

पहिले स्कुल जाने जम्मा ४ प्रतिशत विद्यार्थीलाई मात्रै चस्मा लगाउनुपर्थ्यो । त्यो बढेर अहिले ८ प्रतिशत पुगेको डा. शर्माले बताइन् । त्यसैले, बालबालिकालाई अनलाइन कक्षा नपढाइ नहुने भए पनि बाँकी समय मोबाइल वा ल्यापटपबाट टाढा राख्‍न विद्यालयका शिक्षकदेखि परिवारसमेत काउन्सिलिङमा लाग्‍न उनको सुझाव छ ।



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
ad
x