समाज

राना थारुले मनाए तीज

इकागज |
साउन २७, २०७८ बुधबार १६:३० बजे

कैलाली –कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले बुधबार तीज पर्व मनाएका छन् । दिदी बिहीनीहरूले दाजु भाइको दीर्घायूको लागि व्रत बसेर हर्षोल्लासपूर्वक तीज पर्व मनाएका हुन् । तीज यो समुदायका महिलाहरूको लागि विशेष र महान पर्व हो ।
 
 दिदीबहिनीले आफ्ना दाजु भाइ र भतिजाहरूको दीर्घायूको कामना गर्दै परम्परागत पोषाकमा सजिएर तीज पर्व मनाउने गरेको स्थानीय राम प्रसाद रानाले बताए । राना थारु समुदायले साउन महिनाभर मनाउने सावनकी डोला पर्वको क्रममा तीज मनाउँछन् । तीज दिदी बिहीनीले मनाउने पर्व रहेको रानाले बताए । ‘तीज खासगरी हाम्रा दिदीबहिनी तथा फुपुहरूले मनाउने पर्व हो’ उनले भने ।  

राना थारु समुदायको अगुवाहरूका अनुसार तीजमा महिलाहरू दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्दछन् । विवाहित महिलाहरू समेत यतिबेला माइत आउने गर्दछन् । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्ने गर्दछन् । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ ।
  
तीजको पूजाको सामग्री र कुस सेलाइ सकेपछि रमाइलो गर्दै मिठा–मिठा परिकार खाने चलन छ। घर–घरमा सेवई, खुजुरिया, गुलगुला, पुरी बनाइएको हुन्छ । यी परिकारहरू खाने, दाजु भाईलाई खुवाउने र सावनकी डोलामा दिदी बहिनी तथा साथी भाईसँग रमाइलो गर्ने तीजको रमाइलो पक्ष रहेको धनढी उपमहानगरपालिका ८ कि अनिता रानाले बताइन् । 


राना थारु समुदायको महिलाको लागि यो सबैभन्दा महान पर्व रहेको बताउँदै रानाले आ–आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायूको कामना गर्दै महिला दिदी बहिनीहरूले व्रत बस्ने गरेकाले यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको बताईन् ।

व्रतालुहरू नदीमा पूजाको सामग्री सेलाएर फर्किने क्रममा उनीहरूलाई दाजुभाइले बाटोमा छेक्ने चलन रही आएको छ । यसरी दाजु भाईले बाटोमा छेक्दा महिला दिदी बहिनीहरूले मिठो, मिष्ठान खान दिएपछि बाटो छोड्ने गरिन्छ । यसै गरी, घर फर्केपछि व्रतालुहरूले इष्टमित्र, आफन्तलाई खानाका परिकार बाँड्ने चलन रहेको छ । 

 


Author

थप समाचार
x